स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भयो भरतपुर अस्पतालको गुरुयोजना
स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रूपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ ।
गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन् । देशकै मध्यभागमा रहेकाले तराई र पहाडका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउन यो अस्पताल प्रभावकारी हुने विश्वास लिइएको छ ।
अस्पताल परिसरमा हाल दुईवटा ठूला भवन निर्माण भएको र तेस्रो भवन निर्माणका लागि सम्झौता हुने क्रममा छ । रु २४ करोडको लागतमा सो भवन निर्माण गर्न लागिएको हो । अस्पताल क्षेत्रभित्र टिनका छाना भएका पुराना भवनमा पनि बिरामी राखिएका छन्। तेस्रो भवन बनेसँगै अस्पतालमा दिइने सेवा भूकम्प प्रतिरोधी नयाँ भवनबाट दिइनेछ ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गुरुयोजनाअन्तर्गत १४ बिगाहा १० कट्ठा जग्गामा छुट्टाछुट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास, बिरामी कुरुवा स्थल, पार्किङ, फूलबारीलगायतका संरचना निर्माण गरिनेछ । शुद्ध खानेपानीसँगै अस्पताल आफँैले अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्नेछ । फोहर व्यवस्थापनका लागि इन्सिनेटर नामक उपकरण जडान गरिनेछ । रु छ अर्ब ५४ करोडको लागतमा गुरुयोजनाअनुरूपको काम सम्पन्न गर्न सकिने प्रारम्भिक प्रस्ताव पेस गरिएको थियो ।
भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घसंस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहामात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले उपयोग गर्दै आएको तीन बिगाहा १० कट्ठा जग्गासमेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिनुभयो ।
गुरुयोजना पारित भएसँगै आर्थिक र जनशक्तिका लागि प्रस्ताव तयार गरेर स्वास्थ्य विभागमा बजेटका लागि पेस गरिने र सो प्रस्ताव दाताहरू समक्ष पनि पेस गरिने डा मरासिनीले बताउनुभयो ।
सरकारले बजेट उपलब्ध गराए पाँच वर्षभित्रमा गुरुयोजनाअनुरूपको काम हुने अनुमान गरिएको छ । गुरुयोजनमा अस्पताललाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने उल्लेख छ । शैक्षिक प्रतिष्ठान बनेसँगै अस्पतालमा एमडिएमएस, डिएमएमसिएच, नर्सिङलगायतको पढाइ गरिनेछ । हाल अस्पतालमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहमा नर्सिङ विषयको पढाइ हुँदै आएको छ ।
भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन् । गत आवमा एक लाख ५३ हजार बिरामीले बहिरङ्ग सेवा लिएका, ३३ हजार बिरामीले आकस्मिक सेवा लिएका थिए भने ३८ हजार बिरामी भर्ना भएर उपचार गराएका थिए । सो क्रममा ११ हजार महिलाले प्रसूति सेवा लिएका थिए । राजधानी बाहिर ठूलो सङ्ख्यामा बिरामीलाई सेवा दिने अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिइन्छ ।
अस्पतालमा हाल ३०० शै्यया सरकारी र ३०० शै्यया अस्पताल विकास समितिको स्रोतमा सञ्चालनमा रहेको छ । यद्यपि बिरामीको चाप उच्च भएकाले भुइँमा सुतेर पनि उपचार लिन बाध्य छन् । शैक्षिक प्रतिष्ठानसँगै अस्पताल एक हजार शै्ययाको अस्पताल बन्दै गर्दा यो अस्पताल केन्द्रीय अस्पतालका रूपमा विकास हुनेछ ।
विसं २०१३मा महेन्द्र आदर्श चिकित्सालयका नाममा स्थापना भएको यो अस्पताललाई हाल प्रादेशिक रिफरल अस्पतालका रूपमा राखिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो – “तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापा राजधानी बाहिरको भरतपुर अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्न चाहानुहुन्थ्यो ।” उहाँकै सहयोगले अस्पतालको गुरुयोजना पारित भएको अध्यक्ष राजभण्डारीेले जानकारी दिनुभयो । रासस