Logo
|
Thursday 25th April 2024
Logo

epaper

अस्ट्रेलियामा गाँजाबाट क्यान्सरको औषधि बनाइँदै



अन्य मुलुकमा झैं अस्ट्रेलियामा पनि गाँजा लागूपदार्थको रूपमा प्रतिबन्धित छ । तर, अहिले त्यही गाँजाबाट अस्ट्रेलियाले क्यान्सरको उपचारका लागि औषधि निर्माण गर्ने तयारी अघि बढाएको छ । त्यसका लागि विभिन्न राज्यहरूमा १२ कृषकलाई कानुनी रूपमा गाँजाखेतीको अनुमतिसमेत सरकारले दिएको छ । गाँजालाई क्यान्सरलगायत रोगको उपचारका लागि प्रयोग गर्न पाउनुपर्ने माग पहिल्यैदेखि हुँदै आएको थियो ।

गाँजाखेती गर्ने कृषकहरूले भने कडा सुरक्षालगायतका प्रविधि अपनाउनुपर्ने उल्लेख छ । यो खेती गर्ने कृषकहरूले फिंगरप्रिन्ट स्क्यानर, मोसन सेन्सर, लेजर अलार्मलगायत सुरक्षाका प्रविधि अपनाउनुपर्नेछ । खेतीस्थलमा सुरक्षाकर्मी र उत्पादनस्थल गोप्य स्थानमा हुनुपर्ने प्रावधान राखिएको छ ।

यसका साथै उत्पादन गर्ने कृषकहरूले उत्पादित गाँजा गलत प्रयोगमा नआउने र कालोबजारी नहुने विश्वास दिलाउनुपर्नेछ । यति मात्र नभए गाँजा ओसारपसार गर्ने सवारीसाधनसमेत अपहरणकारीहरूबाट सुरक्षित हुनुपर्नेछ । यस औषधिको सही प्रयोगका लागि अस्ट्रेलियाले देशभरिबाट ५० चिकित्सकहरूलाई हालै तालिमसमेत दिएको छ । यो औषधि अलग किसिमको भएको र यसलाई कसरी बिरामीहरूलाई सिफारिस गर्ने भन्ने विषयमा चिकित्सकहरूलाई तालिम दिइएको बताइएको छ । तालिम लिएकी चिकित्सकमध्येकी एक डा। जुडिथ ल्यासले तत्काल क्यान्सर रोगको उपचारका लागि गाँजाबाट बनेको औषधिले रोग निको बनाउने वा नबनाउने बारेमा प्रमाणित जानकारी नभएको बताएकी छन् ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफूहरू यो औषधि उपलब्ध गराउन तयार रहेको तर पूर्णतस् कानुनी हुनुपर्ने बताएका छन् । उनले यो औषधि चिकित्सकको सिफारिस र आवश्यकता भएकाहरूलाई मात्र उपलब्ध हुनेमा समेत जोड दिएका छन् ।-कान्तिपुरबाट

 

प्रतिक्रिया दिनुहोस्