Logo
|
Saturday 20th April 2024
Logo

epaper

जब मरेको मान्छे केयर गर्नुपर्यो…



सबिना धमाला, इन्चार्ज, स्त्री तथा प्रशुति विभाग, नेपाल मेडिकल कलेज

नर्सिङ शिक्षालाई नै किन छान्नुभयो ?

नर्सहरु सेतो पहिरनमा सजिएर हिँडेको देख्दा नर्सिङ सफा र स्वच्छ पेशा हुने जस्तो लाग्यो । यो एउटा विशुद्ध सामाजिक कार्य पनि हो । बिरामीको सेवा गर्न पाउँदा आत्मसन्तुष्टी मिल्छ जस्तो लागेर नर्सिङ शिक्षालाई छानेँ । नर्सिङ सेवा अस्पतालमा मात्र नभई आफ्नो घरमा पनि काम लाग्ने देखेर यसप्रति आकर्षित भएको हुँ ।

नर्सिङ अध्ययन गर्ने प्रेरणा कसरी पाउनुभयो ?
नर्सिङ अध्ययन गर्ने मेरो मनको भित्री इच्छा थियो ।
यो पेशाप्रति कतिको सन्तुष्टि हुनुहुन्छ ?
बिरामीको सेवा गर्न पाएको छु । धेरै बिरामीको मन जित्न सफल छु । यो नै मेरो सन्तुष्टी हो ।

नर्सिङ पेशाको भविष्य कतिको देख्नुहुन्छ ?
अहिले नर्सिङ शिक्षा गुणस्तरियतामा भन्दा पनि संख्यात्मक वृद्धितिर गएको देखिन्छ । ईन्स्टीच्यूटहरुले यसलाई पैसा कमाउने भाँडोको रुपमा लिएकाले यसको स्तर खस्किएको अवस्था छ । तर सेवाको भावना राखेर स्वच्छ मनले काम गर्ने हो भने यो पेशा धेरै राम्रो छ ।

नर्सिङ सेवामा पेशागत कठिनाई होला नि ?
एक दशक अघिसम्म काम गर्ने वातावरण धेरै राम्रो हुन्थ्यो । सामाजिक परिवेशमा पेशागत रुपमा सम्मान हुने गर्दथ्यो । अहिले नर्सहरुलाई सुरक्षा छैन । नर्सप्रति यौन दुव्र्यवहार प्रायः धेरै हुने गर्छ । नर्सहरु भर्खरका युवती हुने भएकाले रात बिहान काम गर्दा आन्तरिक र वाह्य दुव्र्यवहारको खतरा सामना गर्नुपर्छ । रातको समयमा नराम्रो नियत बोकेर आउनेहरु पनि धेरै हुन्छन् । हाम्रो समाजमा एक अर्काप्रति सम्मान गर्ने प्रवृत्ति छैन । बिरामी र उसका आफन्तहरुले मिजासिलो व्यवहार नगर्ने, धम्क्याउने प्रवृत्ति पनि हावी छ । कहिलेकाँही उपचार गर्दागर्दै बिरामीको अवस्था कमजोर भएमा बिरामीका आफन्तको धम्कीपूर्ण व्यवहारले काम गर्न झन् गाह«ो पर्छ ।

तपाईंले दिने सेवाको मापदण्ड छ ?
नर्सिङ सेवाको मापदण्ड हुन्छ । एउटा बिरामी उपचारका लागि अस्पताल छिरेपछि उसको सेवा गर्ने सर्वस्व भनेको हामी नर्स नै हुन्छौं । बिरामीको बुबा आमा, घरको सदस्य, कुरुवा सबै सम्झेर हामीले अस्पतालमा काम गर्नुपर्छ । अस्पतालमा नर्सको भूमिका महत्वपूर्ण हुन्छ । डाक्टरले भित्री आत्मादेखि राम्रो उपचार गरेपनि नर्स र डाक्टरको राम्रो व्यवहारले बिरामीको ५० प्रतिशत रोग निको हुने मान्यता छ । बिरामीको ख्याल राखेर हेरचाह गर्ने नर्स अस्पतालमा आमा हो ।

तपाईंहरुले गरेको सेवाको मुल्यांकन पनि होला नि ?
हरेक संस्था एवं अस्पतालहरुको आ–आफ्नै नीति नियम हुन्छन् । कतिपय संस्थामा हामीले गरेको सेवाको मूल्याङ्कन हुने गर्छ भने कति ठाउँमा हुँदैन । मैले काम गरेको संस्थामा पनि केही मात्रामा मूल्याङ्कन हुने गर्छ । तर यो नियमित र सबैको चित्तबुझ्दो नहुन पनि सक्छ । आखिर जे भएपनि हामीले दिएको सेवाप्रति सन्तुष्टी भएर अस्पतालबाट बिरामी निको भएर घर फर्किन सक्यो भने हाम्रो लागि ठूलो सन्तुष्टी र सम्मान नै यही हो ।

कतिपय बिरामीले त नर्स साह«ै कठोर हुन्छन् भन्ने गर्छन् । वास्तविकता के हो ?
कहिलेकाँही कठोर बन्नुपर्ने वातावरण पनि आउँछ । काम गर्ने शिलशिलामा गलत नियत बोकेका मान्छेहरुसँग झगडा गर्नुपर्ने, धेरै समय काम गर्दाको तनाव, अनिदो, थोरै पारिश्रामीक आदि कारणले कहिलेकाँही रिस उठ्नसक्छ । बिरामीका धेरै आफन्तहरु आएर पटक बिरामीको रोगबारे एउटै कुरा दोहो¥याइरहनु पर्दा पनि नर्सलाई दिक्क लाग्ने गर्छ । अहिले नर्सिङको संख्यात्मक वृद्धिले कतिपय नर्समा आवश्यक ज्ञान र अभ्यासको कमीका कारण जिम्मेवारीबाट पन्छीएर कठोर मन बनाएको हुनसक्छ । कहिलेकाँही बिरामीका कुरुवाले नर्सलाई जिस्क्याउने उद्देश्यले जानेका कुरा पनि पटक पटक सोधिरहने गर्दा पनि नर्सहरु कठोर बन्नुपर्ने स्थिति आउँछ । विशेष रातको ड्युटीमा कतिपय बिरामीका कुरुवाहरु मादक पदार्थ सेवन गरेर नर्सहरुलाई भर्वल भ्वायोलेन्स (अश्लील कुरा बोलेर गर्ने दुव्र्यवहार) गर्न खोज्छन् । यस्तो अवस्थामा अलि कडा भएर प्रस्तुत हुनुपर्छ । अन्यथा बिना कारण कुनै पनि नर्स कठोर बन्न सक्दैनन् ।

अस्पतालबाट नर्सको सुरक्षाको व्यवस्था हुँदैन र ?
आ–आफ्नो संस्थामा सुरक्षा व्यवस्था फरक हुन्छ । कतिपय संवेदनशील विभागमा सुरक्षा गार्डको व्यवस्था हुन्छ । आवश्यक नपरेको खुल्ला विभागमा सुरक्षा गार्ड नराख्न पनि सक्छ । नेपालका प्रायः धेरै अस्पतालमा नर्सको सुरक्षाको पूर्ण व्यवस्था छैन । त्यसैले हामी पूर्ण रुपमा सुरक्षित छौं भन्न सक्ने अवस्था छैन ।

नयाँ पुस्तामा नर्सिङ शिक्षाप्रतिको मोह निकै बढेकोे देखिन्छ ? के यो पेशामा सबै रमाउन सक्लान् ?
नर्सिङ शिक्षामा आकर्षण बढ्नुको मुख्य कारण विदेश तिरको आकर्षण धेरै भएर हो । विदेश गएका युवा पुस्ताहरुले विवाहका लागि नर्सिङ अध्ययन गरेका केटी धेरै खोज्ने र विदेशमा थप नर्सिङ पढ्न तथा काम गरेर धेरै कमाउन सकिने भएकाले नर्सिङ अध्ययनतिरको मोह धेरै बढेको देखिन्छ । नेपालको परिवेशमा नर्सिङ अध्ययन गरेकामध्ये थोरैले मात्र नर्सिङ सेवालाई आफ्नो करियर बनाउने गरेका छन् ।

नर्सिङ पेशामा नयाँ पुस्ताको आगमनले नयाँ शैलीको विकास पनि त भएको होला नि ?
नयाँ पुस्ताको आगमनले नयाँ शैलीको विकास भएको खासै देखिंदैन । अहिलेका नर्सहरुमा बिरामीको केयर भन्दा पनि विदेश मोह धेरै छ । नर्सिङ कलेज पैसामुखी हुँदै गएका छन् । आफ्नो अस्पताल भएका नर्सिङ कलेज धेरै कम छन् । यसले नर्सिङ प्राक्टीकल कम हुन्छ । पाठ्यक्रम चाँडै सकाइदिने र प्राक्टीकलका लािग सम्बन्धित ठाउँमा थोरै समयका लागि पठाउने कारण नर्सिङ सेवाप्रतिको व्यवहारिक ज्ञान थोरै हुन्छ ।

अस्पतालमा जागिर शुरु गर्दा ६—७ महिना स्वयंसेवक भएर काम गर्नुपर्ने गुनासो छ ? यसबारे के भन्नुहुन्छ ?
यसबारे नेपाल नर्सिङ एसोसियसन र नर्सिङ काउन्सीलमा बहस भएको छ । अब अस्पतालहरुले स्वयंसेवक नर्स राख्न नपाइने नीति बन्दैछ । विभिन्न नर्सिङ कलेजहरुबाट बर्षेनी धेरै नर्सहरुको उत्पादन भइरहेको छ । भन्नेबित्तिकै रोजगारी पाउन सकिदैन । पेशागत अनुभवका लागि नर्सहरुले पनि स्वयंसेवक भएर काम गर्न चाहन्छन् ।

तपाईको पेशासँग सम्बन्धित अत्यास लाग्दा घटना छन् ?
अहिले पनि नर्सिङ पढ्दै गरेको बेलाको एउटा घटनाको याद आउँछ । म ललितपुर नर्सिङ कलेजमा पिसिएल गर्दै थिएँ । प्राक्टिकलका लागि मलाई पाटन अस्पतालको मेडिकल वार्डमा लगिएको थिएँ । त्यहाँ एक जना बिरामीको बोनम्यारोको प्रोसिडर भइरहेको थियो । त्यो बिरामीको नाजुक अवस्था देखेर म डराउँदै थिएँ । तर केयरका लागि मलाई सिफारिस गरेको अर्को बिरामी अचानक मृत्यू हुने अवस्था (ग्यास्मिन) मा पुग्यो । यो देखेर मलाई डर लाग्यो । नीति नियममा बस्नुपर्ने भएकाले मैले मरेको मान्छेको केयर गर्नुपरेको नर्सिङ सेवामा प्रवेश गर्नुपूर्वको पहिलो घटना थियो । तर हिम्मत नहारी आफ्नो जिम्मेवारी पूरा गरेको थिएँ । यो घटना म कहिल्यै भूल्न सक्दिन ।
अन्त्यमा नर्सिङ पेशा व्यवस्थित र मर्यादित बनाउन के गर्नुपर्ला ?
नर्सिङ सेवा सम्मानित पेशा हो । भित्री आत्मादेखि सेवा भावले काम गर्दा आत्मसन्तुष्टी मिल्छ । गुणस्तरीय सेवामा विचार पु¥याउनुपर्छ । नर्सिङ पढेर जागिर नपाएपनि निरास हुनुपर्दैन किनभने हामीले बिरामीको केयर गर्ने धेरै व्यवहारीक र सैद्धान्तिक ज्ञान सिकेका हुन्छौं । यो ज्ञान परिवारमा पनि उपयोगमा ल्याउन सकिन्छ । सर्टिफिकेटका लागि मात्र अध्ययन गर्नुहुँदैन । नर्सिङ अभ्यासमा त्यत्तिकै निपुणता हुनुपर्छ । त्यसैले अध्ययन गर्नुपूर्व मापदण्ड पूरा भएको र पर्याप्त प्राक्टिकल गर्न पाउने नर्सिङ कलेजको छनौट गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्