Logo
|
Thursday 28th March 2024
Logo

epaper

सेनाको सर्पदंश केन्द्र बिरामीको ज्यान जोगाउन सफल



 पछिल्ला केही वर्षयता यहाँ विषालु सर्पको बिगबिगी बढ्दै गएको छ ।

निकै लामो समयसम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछि वन छेउ नजिकैका गाउँघर तथा निकुञ्ज र सामुदायिक वन आसपास स्थानीय भाषामा फेटारा, डुम, महेर, गरैच र धमला ९गोमन, राजगोमन, करेत, साखड० सर्प फेला परेका छन् ।

गुलरिया, राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिकाका नेउलापुर, शिवपुर, बगनाह, सूर्यपटुवा, ठाकुरद्वारा, सानोश्री, ढोढरीलगायत गाउँमा घरगोठभित्र विषालु सर्प फेला परेको पाइएको छ । घरभित्र फेला परेका ५० भन्दा बढी सर्प यही साउनमा स्थानीयवासीले मारेका छन् । असार, साउन र भदौ महिनामा विषालु सर्प जमिन बाहिर निस्कने भएकाले यो समय निकै जोखिमपूर्ण हुने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कीटजन्य रोग नियन्त्रण अधिकृत बालकृष्ण शर्माले बताउनुभयो ।

बर्दिया सर्पको बिगबिगी हुने जिल्ला हो । घरगोठ र आँगन सफा राख्न, अँध्यारोमा घर बाहिर निस्कँदा उज्यालो बालेर हिँड्न, झ्यालमा जाली लगाउन र झुल हालेर मात्र सुत्न उहाँको सुझाव छ । जुनसुकै सर्पले डसेमा झारफुकमा नलाग्न र घाउ नबिगारी जिल्ला अस्पताल वा सेनाको सर्पदंश केन्द्रमा लैजान जिल्ला अस्पतालले अनुरोध गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले पूर्वपश्चिम राजमार्गअन्तर्गत ठाकुरबाबा नगरपालिकाको सैनवारमा रहेको सर्पदंश उपचार केन्द्रले तीन महिनामा सर्पदंशका १६८ बिरामीको ज्यान जोगाएको छ । यसैगरी बिच्छीले टोकेका ८१ र माहुरीले टोकेका ११ जनाको उपचार गरिएको निकुञ्ज सुरक्षार्थ शिव दल गणको सर्पदंश केन्द्रले जनाएको छ । केन्द्र स्थापना भएदेखि हालसम्म सामान्य बिरामीले पनि उपचार गराएर लाभ लिएका छन् । तीन वर्षका अवधिमा दुई हजार ३५४ महिला र दुई हजार ५९ पुरुषको पनि स्वाथ्योपचार गरिएको केन्द्रले जनाएको छ ।

शिव दल गणको मातहतमा रहेको सेनाको ब्यारेकभित्रको सर्पदंश उपचार केन्द्र सैनवारमा यस वर्ष वैशाखदेखि साउन २० गतेसम्म मात्रै गोमन, राजगोमन, करेट, साखडजस्ता विषालु सर्पले डसेका बर्दियाका ३० बिरामीको उपचारपछि ज्यान जोगिएको गणपति कर्णेल टेकबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै विषालु बिच्छीले टोकेका छ जनाले उपचार पाएका छन् । साधारण बिरामी २९९ जनाले स्वास्थ्योपचार गराएका छन् । सर्पले डसेपछि घाउलाई नबिगारीकन दुईदेखि तीन घण्टाभित्रै केन्द्रमा ल्याउन सके ज्यान जोगाउन सकिने सेनाका स्वास्थ्यकर्मीले जनाएका छन् ।
ब्यारेकमा सर्पदंशका बिरामीको उपचार हुन थालेपछि स्थानीयवासी पनि खुशी भएका छन् । गाउँघरमा वर्षात्मा एम्बुलेन्स समयमै पुग्न नसक्ने भएकाले मोबाइल सेवाका रुपमा मोटरसाइकलमा भए पनि सर्पदंशका बिरामीलाई समयमै केन्द्रमा ल्याउन सर्पदंश केन्द्र शिव दल गणका सैनिकले आग्रह गरेका छन् ।

सर्पदंश केन्द्रमा सर्पले डसेका बिरामीका लागि चाहिने औषधि एन्टीस्नेक भेनम अभाव भएको केन्द्रले जनाएको छ । यसअघि मौज्दात रहेको एन्टीस्नेक भेनमको म्याद सकिएको र अहिले अभाव भइरहेको छ । नेपाली सेना र बबई उपभोक्ता समितिको पहलमा जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी पर्याप्त मात्रामा एन्टीस्नेक भेनम ल्याउन पहल गरिएको छ ।

यस क्षेत्रमा विषालु सर्पको बिगबिगी बढेपछि सर्पदंशका बिरामीले समयमै उपचार नपाएर ज्यान जान थालेपछि तीन वर्षअघि २०७१ साल वैशाखमा बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको नरसिंह दल गणले बबई उपभोक्ता समिति, स्थानीय समाजसेवीलगायतको सहयोगमा सर्पदंश केन्द्र स्थापना गरेको हो ।

अस्पतालमा दुई सय बाँचे
सदरमुकाम गुलरियामा रहेको जिल्ला अस्पतालमा पनि तीन वर्षयता सर्पदंशका १८७ जना बिरामीको उपचारपछि ज्यान जोगिएको छ । यस वर्ष मात्रै सर्पदंशका ४४ बिरामीको उपचारपछि ज्यान जोगिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कीटजन्य रोग नियन्त्रण अधिकृतले जानकारी दिनुभयो ।

तीन वर्षयता सर्पदंशका बिरामी उपचारमा ढिला आएका कारण नौ जनाको ज्यान गएको थियो । अधिकांश झारफुकमा लाग्ने गरेका कारण र समयमै उपचार गर्न नआएका कारण पनि विगतका वर्षमा धेरैको ज्यान गएको थियो । अत्याधिक गर्मीसँगै वर्षा शुरु हुने समयमा सर्पदंशका बिरामी बढ्ने भएकाले एन्टी स्नेक भेनम अभाव हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

सदरमुकामस्थित जिल्ला अस्पताल गुलरियामा अहिले ८० वटा मात्र एन्टीस्नेक भेनम छ, बर्दियामा यस वर्ष भेनन अपुग हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कीटजन्य रोग नियन्त्रण अधिकृतले बताउनुभयो ।

सर्पले डसेका बिरामीलाई झारफुक गर्नाले र समयमै उपचार गर्न स्वास्थ्य संस्था नजाँदा बर्दियामा वर्षेनी पाँचदेखि १५ जनाले ज्यान गुमाउनुपरेको छ । जुनसुकै सर्पले डसेमा झारफुकमा नलाग्न र घाउ नबिगारी जिल्ला अस्पताल वा सेनाको सर्पदंश केन्द्रमा लैजान जिल्ला अस्पतालले अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्