Logo
|
Wednesday 28th July 2021
E-paper Magazine

अन्तर्राष्ट्रिय पोलियो दिवसका अवसरमा धनगढीमा प्रभातफेरी निकालियो



अन्तर्राष्ट्रिय पोलियो दिवसमा अवसरमा मंगलवार धनगढीमा प्रभातफेरी निकालिएको छ ।
रोटरी क्लव अफ धनगढीको आयोजनामा बिहान ८ बजे धनगढीको चौराहाबाट निकालिएको प्रभातफेरी नगरपरिक्रमा पछि सेती अञ्चल अस्पतालको परिसरमा पुगेर समापन भएको थियो ।
प्रभातफेरीको समापनका क्रममा बोल्दै रोटरी क्लव अफ धनगढीका पूर्व अध्यक्ष सेती अञ्चल अस्पतालका पूर्व अध्यक्ष तथा मेडिकल सुपरीटेण्डेट बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. गणेश बहादुर सिंहले रोग लागीसके उपचार गर्नुको खासै अर्थ नहुने भएकोले पोलियो रोग लाग्नु अघि रोकथामका लागि सावधानी अपनाउनु आवश्यक भएको बताउनुभयो ।
डा. सिंहले नियमित खोप अभियानमा दुई थोपा पोलियो खुवाउदा पोलियोबाट हरेक बच्चा सुरक्षित हुने र पोलियो उन्मुलनको अभियान सार्थक हुने बताउनुभयो ।
उहाँले पोलियो उन्मुलनका लागि रोटरीले थालेको अभियान सफल र सार्थक बनाउन स्वास्थ्यकर्मीसंगै महिला स्वास्थ्य स्वयमसेविकाको सहयोग निकै महत्वपूर्ण भएको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख तथा तथ्यांक अधिकृत मोहनदेव भट्टले नेपालबाट पोलियो उन्मुलन भईसकेको भएपनि अन्यत्रबाट यो रोग भित्रिन सक्ने भएकोले सावधानी अपनाउन आवश्यक भएको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) आईपीडीका डा. रुपेश तिमिल्सेनाले विश्वका तीन वटा मुलुकमा मात्र उन्मुलन हुन बाँकी रहेको पोलियो सन २०१९ सम्म विश्वबाटै उन्मुलन गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले विश्वबाट पोलियो उन्मुलनका नियमित खोप अभियानका क्रममा हरेक बच्चालाई दुई थोपा पोलियो खुवाउन महिला स्वास्थ्य स्वयमसेविकालाई आग्रह गर्नुभयो ।
प्रभातफेरीको समापन गर्दै रोटरी क्लव अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले १९७९ मा फिलिपिन्समा पोलियो उन्मुलनका काम गरेको रोटरी ईन्टरनेशनलले विश्वबाटै पोलियो उन्मुलनका लागि सन १९८५ मा थालेको पोलियो प्लस अभियान सफलताको नजिक रहेको बताउनुभयो ।
उहाँले विश्वबाटै पोलियो उन्मुलनका लागि विश्व स्वास्थ्य संगठन, वल्र्ड हेल्थ अलाईन्स, युनिसेफ लगायतका अन्तर्राष्ट्रिय संघसंस्थासंग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
उनले प्रभातफेरीमा सहभागिता जनाएकोमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिए ।
कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ धनगढीका सचिव पुष्कर ओझाले गर्नुभएको थियो ।
प्रभातफेरीमा रोटरी क्लव अफ धनगढीका पदाधिकारी तथा सदस्यहरु, रोट्र्याक्ट अफ धनगढी, जिल्ला जन स्वास्थ्य कार्यालय, महिला स्वास्थ्य स्वयमसेविका, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रोटरी ईन्टरनेशनलको अगुवाईमा विश्वबाटै उन्मुलनका क्रममा रहेको पोलियो नेपालबाट भने सन २०१० मा उन्मुलन भईसकेको घोषणा गरिएको थियो । भारतसंग जोडिएको खुला सीमाना र निर्बाध आवागमनका कारण अन्यत्रबाट पोलियो रोग पुनः भित्रिन सक्ने खतरा रहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल—भुटान अन्तर्गत रहेको पोलियो प्लस कमिटिले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंगको साझेदारीमा पोलियो उन्मुलनका लागि काम गर्दै आएको छ ।
विश्वभरी २४ अक्टोबरमा अन्तर्राष्ट्रिय पोलियो दिवस मनाईन्छ । यसवर्ष नियमित खोप अभियानमा दुई थोपा पोलियो खुवाई पोलियो रोगलाई फर्किन नदिउ भन्ने मूल नारा सहित नेपालमा बिभिन्न कार्यक्रम गरी पोलियो दिवस मनाईदैछ ।
प्रतिक्रिया दिनुहोस्