Logo
|
Saturday 20th April 2024
Logo

epaper

यमनमा हैजा नियन्त्रण विशेष अभियान



 यमनमा करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण विशेष अभियान सुरु गरेको छ ।

गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै जनाएको थियो । यहाँको अवस्था यत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्राय सबैजसो प्रान्तमा हैजाको किटाणू पाइएको बताइएको थियो । हैजाबाट आठ लाख भन्दा बढी नागरिक प्रभावित भएका थिए । विश्व स्वास्थ्य संगठनको विशेष पहलमा यहाँ यो कार्यक्रम सञ्चालन गरिएको हो ।

हैजाको प्रकोप फैलिएका प्राय स्थानहरु यहाँका हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले ती स्थानमा औषधि वितरण, स्वस्थ पानीको बारेमा जनचेतना अभिबृद्धि कार्यक्रम, सरसफाई र अस्पतालमा शैयाबृद्धि तथा स्वास्थ्य कार्यकर्ताहरुको उपलब्धताजस्ता कार्यक्रमहरु सुरु गरिएको बताइएको छ ।

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् । त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् ।

लामो समयदेखिको यहाँको द्वन्द्वका कारण स्वास्थ्यका संरचनाहरुमा क्षति पुगेको र नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पनि उपलब्धता हुन नसकेका कारण यस्तो अवस्था आएको अधिकारीहरुको भनाई छ ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले पनि सहायता उपलब्ध गराउन सकेका छैनन् । यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोगहरु बालबालिकामा बढी देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्