एपोनमा दिपक दाहालको अध्यक्षतामा ११ औं नयाँ कार्यसमिति निर्वाचित
नेपाल औषधि उत्पादक संघ (एपोन) मा दिपक प्रसाद दाहालको अध्यक्षतामा ११ औं नयाँ कार्यसमिति चयन भएको छ । संघको २३ औं बार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो । दाहाल मेडिभेट फर्मास्युटिकल्स ल्याब प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ ।
संघको वरिष्ठ उपाध्यक्षमा टाइम्स फर्मास्युटिकल्स प्रा.लि.का जि.नारायणबहादुर क्षेत्री, उपाध्यक्षमा सेरिन फर्मास्युटिकल्स प्रा.लि.का दिपक प्रधान, महासचिवमा लोमस फर्मास्युटिकल्स प्रा.लि.का प्रज्वल जंग पाण्डे, कोषाध्यक्षमा मारुति फर्मास्युटिकल्स प्रा.लि.का प्रभात रुंगटा निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा इनोभेटिभ फर्मास्युटिकल्स कम्पनिका विप्लब अधिकारी, आदि फर्मास्युटिकल्स प्रा.लि.का सन्तोष बराल, ओम्निका फर्मास्युटिकल्स प्रा.लि.का महेश प्रधान, एलाइभ फर्मास्युटिकल्स प्रा.लि.का सुवर्णभक्त जोशी र क्वेष्ट फर्मास्युटिकल्सका पृथ्वी राज भण्डारी निर्वाचित हुनुभएको छ । स्थायी आमन्त्रित सदस्यमा म्याग्नस फर्मास्युटिकल्स प्रा.लि.का प्रेमकुमार जटिया निर्वाचित हुनुभएको छ । यसअघि दुईवर्षसम्म एसियन फर्मास्युटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक शंंकर घिमिरेको अध्यक्षतामा कार्यसमिति थियो ।
काठमाडौंमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुक जटिबुटीको धनि देश भएकाले यसको प्रशोधन र उत्पादनमा जोड दिनुभयो ।
सो अवसरमा क्वेष्ट फर्मास्युटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठले औषधि ऐनलाई समय सापेक्ष संसोधन गर्नुपर्ने बताउनुभयो ।
औषधिको क्षेत्रमा राज्य संयन्त्रले गर्ने छुद्र व्यवहारले आजित भएको भन्दै देउराली जनता फर्मास्युटिकल्स ल्याबोरेटोरीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले यसलाई कानुनी रुपमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष दिपक दाहालले आयातित औषधिलाई न्युनिकरण गर्न स्वदेशी कम्पनिका औषधिलाई प्राथमिकता दिनुपर्ने खाँचो औंल्याउनुभयो ।
सो अवसरमा औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले औषधि कम्पनिहरुले अस्पतालमा सप्लाई गर्ने औषधिमा एमआरपी हटाएर औषधिको मुल्यमा एकरुपमा कायम गर्न स्वदेशी औषधि कम्पनिहरुलाई आग्रह गर्नुभयो ।
हाल मुलुकमा आयातित र स्वदेशमा उत्पादन भएका औषधि गरी बर्षेनी लगभग ४० अर्ब रुपियाँ भन्दा धेरैको कारोबार हुने गरेको छ । त्यसमध्ये आयातित २० अर्ब र स्वदेशी कम्पनिका उत्पादनले १८ अर्ब रुपियाँ भन्दा धेरैको औषधि धानेका छन् ।