Logo
|
Wednesday 24th April 2024
Logo

epaper

जनशक्ति अभाव झेल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान



 

प्रदेश ४ को सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति अभावको मार बिरामीले भोग्नुपरेको छ । बिरामीको चाप धेरै भएको सो अस्पतालमा एकातर्फ दरबन्दी कम छ भने अर्कोतर्फ भएका विशेषज्ञ चिकित्सक काजमा बसेकाले उपचारमा समस्या भएको हो ।

प्रतिष्ठानमा बाल शल्यक्रियामा एकजना विशेषज्ञ डाक्टरको दरबन्दी छ । भएका एकजना डाक्टर पनि काजमा राजधानीमा छन् । जनरल सर्जरी डाक्टरले बालरोग विशेषज्ञ सर्जरीको काम चलाउनुपरेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ‘एकजनाको दरबन्दी त्यही पनि राजधानी गैदिँदा समस्या भएको छ,’ निर्देशक आचार्यले भने, ‘जनरल सर्जनबाट काम चलाउनुपरेको छ ।’

बिरामीको चाप भए पनि बाल विशेषज्ञ डाक्टरको दरबन्दी कम छ । बाल वार्डकै अर्का एक कन्सल्टेन्ट डाक्टर पनि काजमा राजधानीमै छन् । डा. आचार्यले बिरामीको चाप धेरै भए पनि दरबन्दी कम र कतिपय विभागमा दरबन्दी नै नहुँदा समस्या रहेको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना पनि न्युरोलोजिस्ट छैनन् । त्यसैगरी मुटुरोग विशेषज्ञको पनि दरबन्दी छैन । भएका दरबन्दी पनि अपुग रहेकाले सेवामा समस्या रहेको डा. आचार्यले गुनासो गरे ।

नर्स पनि अभाव
बिरामीको आवश्यक रेखदेखमा खटिने नर्सको पनि अस्पतालले अभाव खेपेको छ । सो अस्पतालमा सयजना नर्सको दरबन्दी छ । अस्पताल समितिले ७० जनाको व्यवस्था गरेको छ । नियमअनुसार एक आइसियूमा एक नर्स हुनुपर्छ । पोस्ट अपरेटिभ वार्डमा दुई बेडबराबर एक नर्स चाहिन्छ ।

सामान्य बेडमा भने एक नर्सले ६ बेड हेर्न सक्ने व्यवस्था छ । अस्पतालमा चार सिफ्ट चल्छ । एक सय ७० नर्समध्ये कम्तीमा पनि १० प्रतिशत नर्स बिदामा हुन्छन् । यस हिसाबले ३० प्रतिशत नर्स अपुग देखिएको प्रतिष्ठानका पदाधिकारीको भनाइ छ ।

एमआरआई र म्यामोग्राम सेवा दिने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही आर्थिक वर्षभित्र एमआरआई मेसिन राख्ने तयारी गरेको छ । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले १० करोड रुपैयाँमा टेन्डर आह्वान भइसकेको छ । अहिले राख्ने ठाउँमा संरचना निर्माणलगायत काम भइरहेका छन् । सो मेसिन राखेपछि निजी संस्थामा भन्दा ५० प्रतिशत कम शुल्कमा बिरामीले सेवा–सुविधा पाउनेछन् ।

अस्पतालले म्यामोग्राम (स्तन एक्सरे मेसिन) ल्याइसकेको छ । ४५ लाख लागतमा ल्याइएको मेसिन यही आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने भएको छ । यसैगरी अस्पतालले विनाअप्रेसन मिर्गौलाको पत्थरी (ढुंगा) फुटाल्ने मेसिनसमेत ल्याएर सञ्चालन गरेको छ । गत पुसदेखि सञ्चालनमा ल्याएको सो मेसिनबाट हालसम्म ६० जनाले सेवा लिइसकेका छन् ।

अस्पतालले थप उपचारका लागि बिरामी बाहिर रिफर गर्नु नपर्ने गरी सेवा दिन खोजिरहेको निर्देशक आचार्यले बताए । यसमा मन्त्रालय र विभागको साथ चाहिने उनको भनाइ छ । आवश्यक उपकरण र दरबन्दी दिए समस्या नहुने उनले बताए ।

डाक्टर दरबन्दी सय, आधा रिक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक ११ सय बिरामी आउँछन् । विभिन्न खालको प्रकोपको समयमा बिरामीको चाप बढ्छ । शुल्कलगायत हिसाबले सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा चिकित्सक अभाव छ ।

चिकित्सकको दरबन्दी सयजना रहे पनि अहिले झन्डै ५० प्रतिशत डाक्टर अनुपस्थित छन् । सबै वार्डमा विशेषज्ञ र मेडिकल डाक्टर अभाव रहेको निर्देशक आचार्यले बताए । अस्पताल विकास समितिले २८ डाक्टर राखेको छ । त्यसले पनि समस्या समाधान नभएको उनले जानकारी दिए । पाँच सय बेडको स्वीकृत अस्पतालमा अहिले तीन सय ६६ बेड सञ्चालनमाछन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्