Logo
|
Sunday 3rd December 2023
Logo

epaper

उपचार बहानामा यौन उत्पीडन



 उपचार गराइदिने बहानामा भारतको दिल्ली पुर्‍याई दुई वर्षसम्म जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा पक्राउ परेका रमेश खत्रीमाथि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान बढाएको छ ।

अर्घाखाँची सीतागंगा नगरपालिकाका २६ वर्षीय खत्रीले फेसबुकबाट चिनजान गरी मित्र बनाई युवतीलाई टाउकामा रगत जमेको समस्याको उपचार गराइदिने र रोजगारीको प्रलोभन देखाई दिल्ली पुर्‍याएका थिए । एउटै अपार्टमेन्टमा बसेका उनले ती युवतीसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाई त्यसको तस्बिर तथा भिडियो खिची युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए ।खत्रीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरिएको हो ।

ती अश्लील सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर खत्रीले बारम्बार यौन शोषण गरेको र अपार्टमेन्टमा आउने अन्यसँग पनि शारीरिक सम्बन्ध बनाउन लगाउने गरेको युवतीले बयान दिएकी छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भने, ‘दिनहुँ ५/७ जनासँग यौनसम्बन्ध गर्न लगाउने र त्यसबापत केही रकम उनलाई पनि दिने गरेको युवतीको भनाइ छ । यसबारे दुई वर्ष दिल्ली बसेर उनी नेपाल फर्केपछि मात्र परिवारलाई थाहा भएको हो ।’

खत्रीलाई ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो । उनले विगत १३ वर्षदेखि दिल्लीमा यौन धन्दा चलाउँदै आएको खुलेको छ । यसबाट अन्य महिला पनि पीडित हुन सक्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गुरुङले बताए ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्