गर्भवतीमा मधुमेह, रक्तचापको समस्या ‘बढ्दो’

गर्भवती महिलामा रक्तचाप बढ्ने र मधुमेह देखिने समस्या पछिल्लो समय केही बढेको स्त्रीरोगसम्बन्धी चिकित्सकहरूले बताएका छन्।
वंशाणुगत कारण बाहेक बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएका परिवर्तनले पनि यस्तो देखिएको उनीहरू बताउँछन्।
समयमै उपचार नगराए आमा र बच्चा दुवैका लागि घातक हुन सक्ने चिकित्सकहरूको चेतावनी छ।
गर्भधारण गर्नुअघि र गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गराएको खण्डमा यस्ता स्वास्थ्य समस्या समाधान हुने उनीहरू बताउँछन्।
समस्या
गर्भ रहनुअघि सामान्य रहेको रक्तचाप गर्भवती भएपछि करिब १५ प्रतिशत महिलाहरूमा बढ्ने गरेको पाइएको चिकित्सकहरू बताउँछन्।
गर्भ रहेको २० हप्ता जति अवधिपछि उच्च रक्तचापको समस्या देखिने बताइन्छ।
यसमध्ये धेरैजसो समस्या सामान्य हुने भएपनि केहीमा भने आमा र बच्चा दुवैका लागि घातक हुने गरी रक्तचाप बढेको पाइएको वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. जागेश्वर गौतमको अनुभव छ।
उनी भन्छन्, “उच्च रक्तचापका कारण कहिलेकाहीँ गर्भवती महिला काँप्न सक्छन्। यसलाई हामी इक्लाम्सिया भन्छौँ। यो संसाभर हुने मातृ मृत्युदरको मुख्य कारण हो। यसले आमा र बच्चा दुवैको ज्यानै जान सक्छ। बच्चा सानो हुनसक्छ वा आमा काँपेको कारण समय नै नपुगी बच्चा निकाल्नपर्ने हुनसक्छ।”

संकेत
गर्भवती भएपछि केही महिलाहरूमा मधुमेहको समस्या पनि देखिन्छ।
गर्भमा बच्चा आएपछि आमाको रक्तसञ्चारमा आउने व्यापक परिवर्तनका कारण यस्ता स्वास्थ्य समास्या देखा पर्ने डा. उमा श्रीवास्तव बताउँछिन्।
उनका अनुसार खुट्टा धेरै सुन्निने, गर्भवती महिलाको अस्वाभाविक रूपमा तौल बढ्नु र अत्यधिक भोक लाग्नु यस्ता समस्याको संकेत हुन सक्छन्।
गर्भवती महिलाले गराउने नियमित परीक्षण बाहेक गर्भ रहेको २४ देखि २८ हप्ताभित्र मधुमेहको निदान गर्न छुट्टै परीक्षण गर्नुपर्ने वरिष्ठ चिकित्सक गौतम बताउँछन्।
वंशाणुगत
उनका अनुसार गर्भवती महिलाको आमा र बाबु दुवै मधुमेहको बिरामी रहेको खण्डमा यस्तो समस्या हुने सम्भावना बढी हुन्छ।
भक्तपुरकी मनिका कर्माचार्यलाई गर्भवती अवस्थामा मधुमेहको समस्या देखिएको थियो।
उनी आफ्नो अनुभव सुनाउँदै भन्छिन्, “मलाई मधुमेह देखिएकोले अस्पतालमा भर्ना हुनुपर्छ भनियो र अनि एक महिनाभन्दा बढी त्यहाँ बसेँ र सुत्केरी भएपछि मात्र घर आएँ। त्यहाँ मलाई नियमित सुई लगाइन्थ्यो। मेरो बुवालाई मधुमेह छ र ममा वंशाणुगत समस्या देखिएको चिकित्सकहरूले बताएका थिए।”
नियमित स्वास्थ्य परीक्षणद्वारा यस्ता स्वास्थ्य समस्या समाधान हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउँछिन्।
परीक्षण
तर प्रायः समस्या गम्भीर भएपछि मात्र गर्भवती महिलाहरू चिकित्सक कहाँ पुग्ने गरेको उनले बताइन्।
“नियन्त्रणमा राख्न सक्यो भने सामान्य गर्भावस्था र यस्तो समस्यामा खासै फरक पर्दैन। तर सबै महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउँदैनन् र समस्या विकराल भएपछि मात्र अस्पताल पुग्छन्। यो बच्चा र आमा दुवैका लागि घातक हुन्छ। ”
गर्भवती भएपछि बढेको रक्तचाप र मधुमेह दुवै सामान्यतयाः सुत्केरी भएको ६ हप्ताभित्र पहिलेकै सामान्य अवस्थामा पुग्ने चिकित्सकहरूको भनाइ छ।
तर केहीको भने यो नघटेको पनि देखिएको चिकित्सकहरू बताउँछन्।
यस्ता महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने उनीहरूको सुझाव छ।बिबिसि नेपाली