Logo
|
Friday 29th March 2024
Logo

epaper

महँगा उपकरण सदुपयोग गर्न चिकित्सक र प्राविधिक माग



 बराहक्षेत्र नगरपालिकाको महेन्द्रनगरस्थित चक्रघट्टीमा आधुनिक मेडिकल उपकरणहरू भए पनि स्वास्थ्य प्राविधिक र चिकित्सक नहुँदा २० महिनादेखि उपयोगविहीन भएको छ ।

बराहक्षेत्रको महेन्द्रनगरमा रहेको २० महिनादेखि उपयोगविहीन रहेको आधुनिक एक्सरे मेसिन । तस्बिर : प्रदीपउपयोगविहीन अवस्थामा रहेको मेडिकल उपकरण सञ्चालनका लागि स्थानीय बासिन्दाहरूले प्राविधिक र चिकित्सकको माग गरेका छन् ।

‘मेहन्द्रनगर स्वास्थ्य केन्द्र अपग्रेड लायन हस्पिटल’ नाम राखिएको उक्त स्वास्थ्य केन्द्रमा मेडिकल उपकरण सञ्चालन गर्ने प्राविधिक र प्राविधिकले दिएको रिपोर्टअनुसार थप उपचार गर्ने चिकित्सक अभावले त्यहाँका बिरामीहरूले सोचे जतिको सेवा लिन पाएका छैनन् ।

अस्पतालमा साविक गाविसहहरू प्रकासपुर, बराहक्षेत्र, महेन्द्रनगर, मधुवनलगायतबाट दैनिक ३० देखि ५० जना विरामीहरू उपचारका लागि आउने गरेका छन् तर सेवा दिने प्राविधिक र चिकित्सक नभएपछि उनीहरू निराश हुँदै अन्यत्र जाने गरेका छन् ।

दुई वर्षअघि लायन्स क्लवले एलेन्जर कम्पनीको २६ लाख रुपैयाँ पर्ने एक्सरे मेसिन, ४२ लाख पर्ने भिडियो एक्सरेलगायत १७ किसिमका अन्य उपकरण गरी करोड रुपैयाँका मेडिकल उपकरण उपलव्ध गराएको थियो ।

लायन्स क्लबका उपाध्यक्ष दयाराम रेग्मीले भने, ‘हामीले दाता खोजेर यति धेरै महँगा मेडिकल उपकरण उपलव्ध त गरायौं तर उपयोगविहीन भएका छन् । चिकित्सक र प्राविधिक नभएपछि स्थानीय बासिन्दाका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मातजस्तै भएको छ ।’ उनले लायन्स क्लवले उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट मुक्त हुन चाहे पनि उपयोगविहीन भएपछि फेरि दायित्वबाट मुक्त हुन नसकेको बताए ।

नगरपालिकाले अस्पताल सञ्चालन गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । प्राविधिक र चिकित्सक नियमित बस्न सक्ने वातावरण भएमा जटिल उपचार र शल्यक्रिया बाहेक अन्य उपचार र शल्यक्रिया गर्न सकिने उपकरण रहेको व्यवस्थापन समेत हेर्दै आएका लोकबहादुर माझीले बताए । उनले भने, ‘उपकरणहरू उपयोगविहीन भएकाले ‘माइनर ओटी’ गर्नका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्नुपर्छ । अस्पताललाई दैनिक सञ्चालन गर्न नसके पनि सातामा एक दिन बुधबारका लागि भनेर प्राविधिकका रूपमा जितेन्द्र ठाकुर र चिकित्सकका रूपमा विराटनगरबाट डा. सुधाकर झा आउने गरेका छन् ।

उक्त दिन नगरपालिका कार्यालयसँगै जोडिएको उक्त अस्पतालमा स्थानीय बिरामीको भीड लाग्ने गरेको छ । तर एक्सरे मेसिन र अन्य उपयोगी मेसिन भने नचलाउने भएकाले बिरामीले शतप्रतिशत सेवा लिन पाएका छैनन् ।

प्राविधिक ठाकुर भरौलकै स्थानीय बासिन्दा भएकाले एक दिन समय दिएका हुन् । डा. झालाई लायन्स क्लबले केही महिनाअघि आएको दिनको ४५ सय दिँदै आएको थियो तर ५० रुपैयाँ पर्ने पुर्जी काटदा ४५ सय नपुगेपछि हाल पुर्जीको मूल्यमा वृद्धि गर्न बाध्य भएको रेग्मीले बताए ।

उनले चिकित्सकलाई दिने रकम नपुग्ने भएपछि ओपीडी सेवाका लागि लाग्ने शुल्क प्रतिबिरामी ३ सय सबै चिकित्सकलाई दिनु परेको पनि रेग्मीले बताए ।

अस्पतालले स्थानीय बिरामीलाई जसरी पनि सेवा दिनका लागि आन्तरिक नितिका रूपमा अल्ट्रासाउन्ड गर्दा बिरामीले दिने ६ सय शुल्कमा ३ सय ५० रुपैयाँ प्राविधिकले लैजाने, प्रसूतिको भिडियो एक्सरे गर्दा लाग्ने ५ सय रुपैयाँमा ३ सय ५० रुपैयाँ पनि प्राविधिकलाई नै दिने गरेको बताए ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले प्रदेश १ को सवैभन्दा ठूलो क्षेत्र फल र धेरै जनसंख्या भएको नगरपालिकामा रहेको अस्पतालमा बिरामीको उपचार गर्न आधुनिक मेडिकल उपकरण भए पनि प्राविधिक र चिकित्सक अभाव भएकाले दरबन्दीसहित प्राविधिक, नर्स र चिकित्सकको व्यवस्था गर्न माग गरेको बताए ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्