Logo
|
Thursday 25th April 2024
Logo

epaper

बदल्दै वीर अस्पताल



उज्यालो वातावरण , रगिंन भित्ता, सफा टिलिक्क करिडोर अनि नाकमुख नथुनी छिर्न पाइने शौचालय । मुलुककै जेठो अस्पताल वीरको यस्तो स्वरूप यसरी फेरिएला भनेर बिरामीपक्षले सायदै सोचेका थिए ।

आजभोलि वीर अस्पतालको स्वरूप साँच्चिकै बदलिएको छ । केही दिनअघि उपचार गरी फलोअप उपचारमा आएका बिरामी अस्पतालको नयाँ संरचना देखेर चकितै पर्छन् ।

पहिले अस्पतालको शौचालय कहाँ छ भनेर परैबाट गन्हाउने गन्धबाटै थाहा हुन्थ्यो । आजभोलि कता छ भनेर खोज्नुपर्ने हुन्छ । १० दिनअघि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पुरुष शौचालय सफा गरेर वीर अस्पताल सरसफाइ अभियान सुरु गरिन् । यसलाई निरन्तरता दिँदै छन्, हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) ।

टुटेफुटेका धारा, दिसापिसाब भरिएर गन्हाउने शौचालय, पहेँलो करिडोर अनि पुरानो मक्केको भित्ता । यस्तै बेहाल थियो अस्पतलाको अवस्था । अब भने बदलरहेको छ । बत्ती र टेलिफोनका यत्रतत्र छरिएका, लत्रिएका तारहरू पनि व्यवस्थित भइसकेका छन् । बिजुलीका चिम नभएका ठाउँमा बत्ती जडान गरिएको छ । त्यस्तै, अस्पताल प्रशासन वरपरका भित्तामा चित्रसहित भित्ता सजाइएको छ । महिला शौचालय, नेफ्रो विभाग पस्ने भित्तातिर पनि चित्र बनेका छन् ।

अभियन्ता कट्टेल भन्छन्, ‘एक दिन सफा गर्ने भनेर छिरेका थियौं, अस्पताल अलि व्यवस्थित देखेर रङरोगन र मर्मतसम्हार गर्न लागेको हो ।’ अस्पताल सरसफाइ र मर्मतसम्हारका लागि कट्टेललाई करिब एक सय सहयोगीले साथ दिइरहेका छन् । जसमा पशुपति मन्दिर र विमानस्थल सरसफाइ अभियन्ता खेम शर्मा,भद्रगोल टेलिसिरियल टिम, दारी ग्याङ, बाग्मती सरसफाइ अभियान, अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालय पनि ।

अहिलेसम्मको सरसफाइमा १७ लाख रुपैयाँ खर्च भइसकेको र पूरै काम सक्ने ५० लाख लाग्ने कट्टेलले बताए । सरसफाइमा १५ र रङरोगनमा ४७ कर्मचारी खटिएका छन् । एक समूह अस्पताल परिसरमा अलमल परेका बिरामी र कुरुवालाई सहज पार्न लागिपरेको छ । यो समूहले बिरामीलाई टिकट लिने, दिसापिसाबलगायतका परीक्षण ल्याब देखाउने र डाक्टर भेटाउने काममा सघाउँछन् ।

कट्टेल भन्छन्, ‘बिरामीले निजी अस्पतालमा जस्तै सजिलो गरी उपचार सेवा पाऊन्, अलमलमा नपरुन् ।’ कर्मचारी सबैलाई कट्टेल आफैंले धुर्मुससुन्तली फाउन्डेसनमार्फत ज्याला, खाजा र सुत्ने व्यवस्था मिलाइएका छन् । उनी आफैं बिहान ६ बजेदेखि राति १२ बजेसम्म खटिएर काम गर्छन्, अस्पतालमै खान्छन्, सुत्छन् । कामको चापले होला नमिल्दो जीवनशैलीका कारण उनी आफैं बिरामी छन् ।

उपचार गराउँदै, औषधि खाँदै काम गरिरहेका छन् । बिरामी अवस्थामा पनि उनी हँसाउन भने छाडैनन् । भन्छन्,‘ ग्यास्ट्रिकमा त मैले पीएचडी नै गरिसकेँ, खानपिन नमिले कि समातिहाल्छ ।’ तयारी नगरी यो अभियानमा प्रवेश गरेकाले उनलाई काम गर्न अलि गाह्रो छ । अस्पतालमा सेवा लिन पनि पहिलेभन्दा सहज हुँदै गएको छ । कुन विभागमा कस्तो सेवा छ भनेर अस्पताल छिर्नेबित्तिकै थाहा पाउन बिरामीलाई निकै बेर चहार्नुपर्ने पनि समस्या पनि सल्टिदै छ ।

तल्लो तलामै डिजिटल माध्यमबाट विस्तृत जानकारी लिन मिल्छ । परिसरका अनावश्यक फ्लेक्स र होडिङ बोर्ड पनि हटाइएका छन् । प्रत्येक विभागका भित्तामा लेखिएका नाम मेटिएको छ । यसलाई पनि डिजिटल बनाउने तयारी रहेको कट्टेल बताउँछन् । अस्पतालको बदलिँदो स्वरूपले स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई समेत काम गर्ने नयाँ जाँगर थपिदिएको वीरका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । उनले भने, ‘यो अभियानमार्फत सधैं क्रियाशील भएर काम गर्ने सिस्टम बसोस् ।’ कान्तिपुर

प्रतिक्रिया दिनुहोस्