Logo
|
Friday 19th April 2024
Logo

epaper

महिलाको दुष्मन थायराइड



डा. ज्योती भट्टराइ (कुँवर), वरिष्ठ हर्मोन विशेषज्ञ, मेट्रो काठमाडौं हस्पिटल

थायराइड ग्रन्थी घाँटीमा उत्पादन भएर शरीरका विभिन्न अंगमा रहेका कोषिकामा पुगेर काम गर्ने भएकाले यसको महत्वपूर्ण भूमिका छ । हाम्रो शरीरका हरेक अंगका एक एक कोषमा अक्सिजन र ग्लुकोज आदिको रसायनिक क्रियाहरु भइरहेको हुन्छ । त्यसलाई मेटाबोलिक (शक्ति) दिने काम थायराइड हर्मोनले गर्छ । यसले शरीरका हरेक कोषहरुलाई उर्जावान गराइराख्छ र चाहिने शक्ति प्रदान गरी सम्बन्धित अंगलाई सक्रिय गराउने र यसको कार्य सुचारु राख्छ । पुरुष भन्दा महिलामा मोटोमोटी रुपमा १९ गुणा बढी देखापर्छ ।

 

हाइपोथायराइडिजमको लक्षण
थायराइड हर्मोन घटेको अवस्थालाई हाइपोथायराडिज्म भनिन्छ । यसरी थायराइडको उत्पादन कम (हाइपोथाइराडिज्म) भएमा शरीरका कोषहरुमा थायरोइड हर्मोन टी थ्री र टी फोर को मात्रा कम हुन्छ । कोषहरुलाई आवश्यक मात्रामा मेटाबोलिज्म (क्रियाशिलता) को मात्रा पुग्दैन ।
-निद्रा लाग्ने
– अल्छी लाग्ने
– उठ्न मन नलाग्ने
– वजन बढ्ने
– मुटुको धड्कन कम हुने
– थाक्ने, गल्ने
-कब्जियत
– महिनावारी गडबडी हुने आदि ।

हाइपरथायराइड
थायराइड हर्मोन बढेको अवस्थालाई हाइपर थायराइडिज्म भनिन्छ । थायराइड हर्मोन बढेमा शरीरका कोषहरुको मेटाबोलिक (क्रियाशिलता) दर बढाउँछ । मेटाबोलिजम दर उच्च भएपछि भोक लाग्छ, धेरै खाना रुच्छ तर मान्छे मोटाउँदैन, दुब्लाउँछ । थायराइडको ठूलो काम शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेडमा कायम राख्नु हो । कोषमा टी थ्री र टी फोर धेरै भएपछि त्यहाँ शक्ति भण्डारण हुन पाउँदैन । धेरै तापक्रम हुने भएकाले शरीररको बोसो पग्लिन्छ र दुब्लाइन्छ ।
– भोक लाग्ने
-कपाल झर्न थाल्ने
– चिडचिडापन हुने
-रिस उठ्ने
-हात खुट्टाहरुबाट पसिना आउने
– बढी तातो महसुस हुने
-मुटुको धडकन बढ्ने
– हात काप्ने
-दिशा लाग्ने
-दुब्लाउने

ल्याव जाँचका आधारमा कुन थायराइड हो भन्ने पत्ता लगाउनुपर्छ । यसलाई सम्बन्धित डाक्टरले नै पहिचान गर्नुपर्छ ।

कति लेवललाई नर्मल मानिन्छ ?
थायराइडमा टि फोर वन, टी थ्री वन र टिएसएच हर्मोनहरु नर्मल लेवलभित्र भएको राम्रो हुन्छ । त्यसभन्दा बढी गडबड भएमा डाक्टरले नै परीक्षण गरेको राम्रो हुन्छ । मोटामोटी रुपमा टिएसएच १–५ को बीचलाई सामान्य मानिन्छ । तर यसलाई मात्र हेरेर हुँदैन, टी फोर र टी थ्री हर्मोन पनि हेर्नुपर्छ ।

औषधि घटाउने र बढाउने अवस्था
यो बिरामीमा भएको थायराइडको अवस्थामा भर पर्छ । यसको स्टैन्डर्ड प्रोटोकल हुन्छ । त्यहि आधारमा औषधि बढाउने र घटाउने गरिन्छ । कति हप्तामा फलो गर्ने ? औषधि कति मिलाउने ? गर्भवती अवस्थामा कसरी गर्ने ? बृद्धबृद्धालाई कसरी गर्ने भन्ने अवस्था अनुसार निक्र्योल गरिन्छ । यो डाक्टरले निक्र्योल गर्छन् ।

औषधिको मात्रा घटाउँदा र बढाउँदा कुनै शारीरिक असर पर्छ ?
औषधिको मात्रा घटाउँदैमा र बढाउँदैमा कुनै पनि शारीरिक असर पर्दैन । यो सम्बन्धित चिकित्सकको रेखदेखमा गर्नुपर्छ । रिपोर्टको आधारमा कस्तो अवस्थाको विरामीलाई सम्बन्धित औषधिको मात्रा कति चाहिन्छ भन्ने निर्धारण गर्नुपर्छ ।

चाँडोचाँडो जाँच गर्न आउनसक्ने अवस्थामा के गर्ने ?
गर्भवती हुन खोज्ने महिलाहरुलाई चाँडो जाँच्नुपर्ने अवस्था भएमा नजिकैको शहरमा बोलाएर फोनबाट पनि रिपोर्ट एडजस्ट गरिदिनुपर्छ । अन्यथा छिटो छिटो उछिटिने थेचारिने भन्ने हुँदैन । दुरदराजमा बसेकाहरुले छिनको छिनमा आउनुपर्छ भन्ने हुँदैन । सामान्यतया औषधिको लेवलमा बसेको हाइपोथायराइडका बिरामीले वर्षमा एक पटक जाँच गर्न सकिन्छ ।
थायराइडका बिरामी नआत्तिन सल्लाह
यसका लागि सम्बन्धित डाक्टरहरुलाई पनि यो सम्बन्धी तालिम कक्षा लिन आवश्यक छ । डाक्टर र नर्सले यसलाई रिल्याक्स तरिकाले लिनुपर्छ । यो खतरामुलक होइन । आत्तिहाल्नुपर्दैन ।
थायराइडको समस्या दिनानुदिन बढिरहेको छ । यसको पहिचान पनि भइरहेको छ । सन् २००७ देखि निरन्तर नेपालमा गरेको अभ्यासले हरेक रोगमा चेतना बढेको छ । तर लिटल नलेज इज डेन्जरस भने जस्तो बुझेर पनि केही व्यक्ति अत्तालिने प्रवृत्ति हावी छ । तर आत्तिनु पर्दैन ।

महिला र पुरुष मध्ये कसलाई बढी हुन्छ ?
बढी महिलामा पाइन्छ । तर पुरुषमा पनि पाइन्छ ।

थायराइड दिवशको जरुरत भएको हो ? राज्यले कुन रुपमा लिनुपर्छ ?
राज्यको धेरै जिम्मेवारी छ । यो लग्जरियस रोग हो । राज्यले यसमा पनि ध्यान पु¥याउनु पर्छ । विकटमा बस्ने जनताले आधारभूत स्वास्थ्य सेवा पनि प्राप्त गर्नुपर्छ र थाइरायड जस्ता नसर्ने रोग उपचारको पहुँच पनि बढाउनुपर्छ । मुख्य कुरा महिलाको स्वास्थ्यमा पहुँच बढोस् भन्ने चाहना हो । हरेक बच्चाको थायराइड जाँच गर्ने परिपाटीको विकास हुनुपर्छ । थायराइडको कमीले बच्चाको शारीरिक विकास विथोलिदिन्छ । थायराइड टेस्ट भएमा बढ्दो सुस्त मनस्थितिको समस्या घटाउन सकिन्छ ।
विवहा भएका र नभएका मध्ये कसलाई बढी हुन्छ ?
यसको मतलव हुँदैन ।

थायराइड भएका ब्यक्तिले बच्चा जन्माउन हुन्छ की हुदैन ?
थायराइड भएका महिलाले डाक्टरको रेखदेखमा बच्चा जन्माउनु पर्छ । ताकी बच्चालाई चाहिने अत्यावश्यक तत्व भ्रूणमा हुँदानै पाउनुपर्छ । अन्यथा राम्रो मानिदैन । यो हाइपर र हाइपो दुवैमा लागू हुन्छ ।

जिन्दगीभर औषधि खानु पर्छ ?
गर्भवती हुने महिलाहरुले बच्चा नहुन्जेल त खानै पर्छ । तर अन्य कतिपयलाई रिकभरी भएर औषधि छुटाउन पनि सकिन्छ । धेरै व्यक्तिलाई सँधै औषधि खानुपर्छ । यो व्यक्तिको अवस्था अनुसार हुने गर्छ । हल्का खालको थायराइडमा औषधिले निको भएपछि औषधि छाड्न पनि सकिन्छ ।
उच्च रक्तचाप र थाइराइडको सम्बन्ध
यसको सम्बन्ध कहिलेकाही हुन्छ । राम्रो उपचार नभएको थाइराइड सँगै उच्च रक्तचाप पनि देखिनसक्छ । यो समस्या हाइपर र हाइपोथायराइड दुवैमा देखिन सक्छ । उपचार गरेपछि सुधार हुन्छ । त्यसैले सरकारले अञ्चल अस्पतालमा पनि थायराइड टेस्टको सुविधा उपलब्ध गराउन सके भने सहज तरिकाले उपचार गर्न सकिन्छ । यो सेवा हरेक जिल्ला अस्पतालमा हुनुपर्छ । मोटोपन थायराइडका बिरामीले मात्र नभएर सबैले घटाउनुपर्छ । स्वस्थ रहन पेटको गोलाइ घटाउनुपर्छ ।
(डा. भट्टराई महाराजगञ्ज चोकस्थित मेट्रो काठमाडौं हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्