दाङमा थपिदै झाडापखाला बिरामी
दाङको शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार विहानदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाका बिरामी आजपनि अस्पताल आउन थालेको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरी पुनले बताउनुभयो । विहानदेखि अहिलेसम्म ४४ जना नयाँ बिरामी थपिएको उहाँले जानकारी दिनुभयो । गएरातीसम्म १ हजार बढी बिरामीको उपचार भएको थियो । अहिले तीनवटा एम्बुलेन्सले नियमित बिरामी ओसारिरहेका छन् । बिरामी हुने क्रम बढेपछि स्थानीय विपि कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल हिजोदेखि बन्द गरिएको छ ।
अधिकांश बिरामीहरु महिला र बालबालिका छन् । माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदुषण भएपछि ३ र ४ नं. वडामा झाडापखाला फैलिएको हो । झाडापखालाबाट वडानं. ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरु बढी प्रभावित भएको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताउनुभयो । अन्य खानेपानीको बिकल्प नभएकाले प्रदुषित मुहानकै पानी पिउँदा झाडापखाला नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो ।
प्रत्येक घरमा कम्तिमा दुईजना बिरामी भएको डाँगीले बताउनुभयो । अहिले राप्ती उपक्षेत्रीय अस्पताल घोराही, नेपाली सेनाको फिल्ड अस्पताल नेपालगञ्ज र १९ नं. बाहिनी तुलसीपुरको स्वास्थ्य टोलीले बिरामीको उपचार गरिरहेको छ । उपचारका क्रममा औषधी अभाव हुन नदिन पर्याप्त तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताउनुभयो ।कान्तिपुर