Logo
|
Friday 19th April 2024
Logo

epaper

अस्पताल प्रशासन र पीडितबीच छलफल



मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि नोबेल शिक्षण अस्पतालका प्रशासक र पीडितबीच आइतबार रातिसम्म जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ ।

स्थानीय प्रशासनले अस्पतालका प्रशासकलाई ल्याएर पीडित पक्षसँग दिउँसोदेखि छलफल सुरु गराएको हो । पीडित पक्षले आइतबार अस्पताल परिसरमा नाराजुलुस गरी ज्ञापनपत्र बुझाउन गएका थिए ।उपचारका लागि आएकी बिर्तामोड १० की सबिता राईको चिकित्सकको लापरबाहीले मृत्यु भएको र अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै मुख्यमन्त्रीलाई मृतककी जेठानी गायत्रीलगायत आफन्तले ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

गायत्रीले देउरानी सबिताको टाउको दुखेको र ज्वरो आएपछि उपचारका लागि बिहीबार बिहान आकस्मिक कक्षमा भर्ना गरेको बताएकी थिइन् । ‘अस्पतालमा भर्ना गराएपछि चिकित्सकले तत्काल दुइटा सुई लगाउनुभयो जसमध्ये एउटा भाँचिएको थियो,’ उनले भनिन्, ‘सुई लगाएदेखि उनी छटपटाउन थालिन् । त्यो देखेर आफूले पटक–पटक चिकित्सकलाई बोलाउन आग्रह गरें तर कसैले सुनेन, एक स्वास्थ्यकर्मी दिदीले एउटा ट्याबलेट खुवाउन भन्नुभयो र त्यो खुवाएको एकछिनमै मृत्यु भयो तर डाक्टरलाई खबर गरिएन ।’ बिरामीको मृत्यु भइसकेपछि पनि अस्पताल प्रशासनले वास्ता नगरेपछि प्रहरी बोलाएको उनले बताइन् । उनले यहाँ अध्ययनरत एमबीएसका विद्यार्थीहरूकै भरमा अस्पताल चलिरहेको र चिकित्सक भेट्न पनि घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको बताइन् । मृतकका पति वसन्त वैदेशिक रोजगारीमा ४ महिनाअघि कतार गएको र ४ वर्षीया छोरी निप्सुन रहेको उनले बताइन् ।

सुनबर्षी ८ का ३५ वर्षीय चैता मण्डलको शुक्रबार बिहान ५ बजे र राईको बिहीबार साँझ ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । राईका परिवारजन न्यायका लागि आन्दोलनमा छन् भने गाउँका सोझा मण्डल परिवार शव बुझेर दाहसंस्कार गरी किरियमै छन् ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्