Logo
|
Friday 19th April 2024
Logo

epaper

खानेपानीमा लेदोले उपभोक्ता मारमा



ताप्लेजुङ — सातायता लगातार धारामा लेदो सहितको धमिलो पानी आएपछि फुङलिङ नगरपालिकाका उपभोक्ता मारमा परेका छन ।

 

उनीहरूले खानेपानीका लागी मुलका धारामा धाउनुपर्ने बाध्यता छ । मूल नभएको क्षेत्रका उपभोक्ता धमिलो पानी रूमालले छानेर खान बाध्य छन् ।

सबैभन्दा ठुलो समस्यामा होटल सञ्चालक परेका छन् । थोरै पानीले नपुग्ने भएकाले पाहुनालाई दिने पानीको समस्या भएको हो । लगातार वर्षा भएको र सदरमुकाम ल्याइएको पानी धमिलो भएका कारण यस्तो समस्या आएको उपभोक्ता समिति अध्यक्ष कमल गुरगाईं बताउँछन् । गुरागाईंका अनुसार सदरमुकाम ल्याइएका पानीका स्रोत खोला भएकाले सङलो पानी वितरण गर्न नसकिएको हो । ‘हामीले देवी र खोक्से खोलाबाट पानी ल्याएका छौं, गुरागाईंले भने, ‘पानी परेपछि धमिलो आउन थाल्छ त्यसलाई रोक्न सक्ने हाम्रो पहुँच छैन ।’

पानीका मूल नफुटेसम्म यस्तै अवस्था रहने उनले बताए । ‘अहिलेकै मूलबाट नाला लगाएर ल्याउने हो भने तीन दिनमा एक दिन मात्रै वितरण गर्न पनि पुग्दैन,’ गुरागाईंले थपे । पानीको मूल बढ्नासाथ पाइप लगाएर सफा पानी वितरण गर्ने उनको दाबी छ । उपभोक्ता समितिले बाँकी मूल खोजिरहेको र ती मूलको पानी ल्याउन नसकेसम्म वर्षामा यस्तै अवस्था रहने गुरागाईंले बताए ।

ताप्लेजुङ गेस्ट हाउसका सञ्चालक नन्दु बानिया बिहान उज्यालो नहुँदै मूलका धारामा गएर गाग्रामा, ड्रममा बोकेर होटल सञ्चालन गरिरहेको बताउँछन् । उनले भने, ‘यति लामो समयसम्म यसरी धान्नुपर्दा कठिन हुने रहेछ तर अरू विकल्प नभएकाले उपभोक्ता समितिको मुख ताकेर बसेका छौं ।’ समितिका पदाधिकारी भने विकल्प खोज्न सोमबार देवीखोलामा पुगेका छन् ।

सदरमुकामबाट ७ किलोमिटर दूरीमा रहेको देवीखोला र ६ किलोमिटरमा रहेको खोक्सेखोलामा भुइँमा गिटी छरेर पानी ट्यांकीमा लगाइएको छ । गिटी पानीको फिल्टरका लागि छरिएको हो । यसका उपभोक्ता सदरमुकाममा १७ सयको संख्यामा रहेको उपभोक्ता समितिले जनाएको छ । सदरमुकाम क्षेत्रमा पानीका मुहान कम भएकाले नगरवासीले उपभोग गर्ने यो मात्रै पानी हो । उपभोक्ताले यसलाई व्यवस्थित बनाउनुपर्ने आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्