Logo
|
Thursday 28th March 2024
Logo

epaper

झाडापखाला नियन्त्रणमा संघीय र प्रदेश सरकारको वेवास्ता



शान्तिनगर (दाङ) — शान्तिनगर गाउँपालिकाका दुई वडामा फैलिएको झाडापखाला नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले कुनै चासो दिएको छैन । चार दिनदेखि झाडापखाला फैलँदा पनि संघीय र प्रदेश सरकारको कुनै गम्भिर ध्यानाकर्षण नभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

दाङको शान्तिनगर स्वास्थ्य चौकीको बरण्डामा उपचार गराइरहेका झाडापखालाका बिरामीहरु । तस्बिर : दुर्गालाल केसी

अहिलेसम्म संघीय र प्रदेश सरकारका कुनै पनि निकायले सम्पर्क नगरेको उनले गुनाशो गरे । वडा नं. २ र ३ का हरेक घरमा बिरामी हुँदा पनि सरकारले गम्भिरता नदेखाएको उनले बताए ।

‘नेपालगञ्जमा झाडापखाला नियन्त्रणबारे गोष्ठी भैरहेको छ रे तर यहाँ केन्द्र र प्रदेशबाट कसैले चासो देखाएको छैन,’ उनले भने, ‘दिनभर केही चिकित्सकहरु आएपनि रातमा सबै गइहाल्छन् । चिकित्सक अभाव हुँदा रातमा उपचार गर्न समस्या भैरहेको छ ।’ निरन्तर स्वास्थ्य चौकीको टोली मात्रै उपचारमा खट्नुपरेको पुनले बताए । चार दिनदेखि स्वास्थ्यकर्मीको टोलीले पालो फेर्न समेत नपाएको उनले गुनासो गरे ।

झाडापखाला बिस्तारै कम हुँदै गए पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मंगलबार पनि बिहानैदेखि बिरामी आउने क्रम जारी नै रहेको पुनले जानकारी दिए । बेड अभाव हुँदा बिरामीलाई भुईं, बरण्डा र खुला ठाउँमा राखेर उपचार गर्नुपरेको उनले बताए ।

हालसम्म १ हजार ४ सय ७६ जना बिरामी भएका छन् । जसमा महिलाको संख्या अत्यधिक छ । अधिकांश पुरुषहरु रोजगारको सिलसिलामा घरबाहिर भएका कारण पनि महिलाहरु बढी प्रभावित भएका छन् । महिला बिरामी १ हजार १५ र पुरुष ४ सय ६१ छन् । २० देखि ५९ वर्ष उमेर समूहका महिला सबैभन्दा बढी प्रभावित भएका छन् । यस उमेर समूहका महिला ६ सय १६ र पुरुष २ सय ३० जना बिरामी भएका छन् ।

१५ गर्भवती महिला पनि बिरामी भएका छन् । पाँच वर्षमुनिका बालक १७ र बालिका १७ तथा पाँचदेखि नौ बर्षसम्मका बालक ६६ र बालिका ९६ बिरामी छन् । ५९ पुरुष र ८४ महिला बृद्धबृद्धा पनि झाडापखालाबाट प्रभावित भएका छन् ।

हालसम्म ५५ जनालाई गाउँपालिका बाहिर रिफर गरिएको छ भने अन्य सबैको स्वास्थ्य चौकीमै उपचार भएको छ । ४२ जना उपचारपछि पनि फेरी बिरामी परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिए ।

प्रदुषित पानीका कारण झाडापखाला फैलिएको पुष्टि भएको छ । पानी परिक्षणका क्रममा कोलिफर्म भेटिएको छ । शुन्य हुनुपर्ने कोलिफर्म १५ भन्दा बढी भेटिएकाले हानिकारक भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले बताए ।

अहिले धाराको पानी सबै बन्द गरी ट्यांकरबाट वितरण गरिरहेको उनले जानकारी दिए । खोलाको पानी सिधै रिजर्भ ट्यांकीमा जोडेर वितरण गरेपछि झाडापखाला फैलिएको उनले बताए । मुहानदेखि धारासम्म प्रदुषण भएकाले अहिले मुहान, ट्यांकी र पाइपलाइन शुद्धिकरण गर्ने काम भैरहेको उनले जानकारी दिए ।

स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनका आधारमा उपचार गरिरहेको र पानी लगाएत झाडापखालाको बिस्तृत अध्ययन र परिक्षण गर्न स्वास्थ्य विभाग माहामारी तथा रोग नियन्त्रण महाशाखाबाट एक बिज्ञ टोली पठाउन अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्