Logo
|
Thursday 28th March 2024
Logo

epaper

खडेरी बढेसँगै रोल्पामा खानेपानीको हाहाकार



 लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् ।

अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य छौँ, रोल्पाको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले भन्नुभयो ।

लामो खडेरीसँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीमा सकश परेको छ, क्षेत्रीले भन्नुभयो । सोही गाउँपालिका कालावाङवासी बिहान उठ्ने बित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन् । “एक गाग्रो पानी लिन जाँदा आउँदा तीनघण्टा लाग्छ,” स्थानीय लोकेन्द्र केसीले भन्नुभयो । एकघर एक धारा अन्तरगत तीन महिना अघि जडान गरिएका धारामा पानी आउन छाडेको केसीले जानकारी दिनुभयो ।

मान्छेले खानको लागि त टाढैको मुहानबाट भएपनि जसोतसो काम चलिरहेको छ गाईभैँसीलाई खुवाउन र मान्छेलाई सरसफाइ गर्न निकै समस्या भएको छ, केसीले भन्नुभयो ।

जिल्ला सदरमुकाममा समेत पानीको हाहाकार देखिएको छ । धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् । “पानीको सही व्यवस्थापनसहित वितरण गर्नसके केही राहत हुनसक्छ,” यसतर्फ समितिले ध्यान दिएको छैन, स्थानीय खिमबहादुर केसीले भन्नुभयो ।

धारामा पानी नआएपछि नुवाइधुवाइका लागि एकघण्टा टाढाको लहरी खोला जाने गरेको स्थानीय सोनी केसीले दुखेसो पोखिन् । गर्मीमा दैनिक सरसफाइ गर्न जरुरी रहेपनि पानीका कारण सरसफाइ गर्न नपाएको केसीको भनाइ छ ।

लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले बताउनुभयो । बिसाँै वर्ष पुरानो संरचनाका कारण बढ्दो जनघनत्वलाई सेवा दिन समस्या देखिएको छ, आचार्यले भन्नुभयो । निकट भविष्यमै साना शहरी खानेपानी तथा सरसफाइ आयोजना लागू गरिने भएकाले खानेपानीको समस्या हल हुने आचार्यले आशा व्यक्त गर्नुभयो ।

पूर्वी रोल्पाको तेवाङमा स्थानीय खानेपानी उपभोक्ता समितिले हप्ताको दुई दिन पानी वितरण गर्ने नियम बनाएको भए पनि केही महिनायता पानी आउन छाडेको स्थानीय रविलाल रोकाले जानकारी दिनुभयो । सोमबार र शुक्रबार गाउँमा रहेका सार्वजनिक धारामा पानी आउने भएकाले रातिदेखि धारामा गाग्रीको लाइन लाग्ने गरेको रोकाले बताउनुभयो । धारामा पानी आउन छोडेसँगै सो गाउँका ३०० भन्दाबढी घरधुरी दुई घण्टा टाढाको मूलबाट पानी खान बाध्य छन्, रोकाले भन्नुभयो ।

अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पामा रहेका कारण रोल्पाका गाउँबस्तीमा खानेपानीको समस्या देखिने गरेको छ । पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानी आपूर्तिमा समेत समस्या देखिने गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष तीर्था आचार्यले जानकारी दिनुभयो ।

लामो समयको खडेरीले यस्ता बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ राज्यले विशेष ढंगले योजना बनाउन जरुरी रहेको आचार्यको भनाइ छ । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता लिन नसकेको सरसफाइका जानकार बताउँछन् ।

पिउनेपानी र सरसफाइका लागि प्रतिव्यक्ति कम्तीमा ४५ लिटर पानीको आवश्यकता पर्ने भएपनि पानीको अभावले सरसफाइमा असर परेको बताइएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी स्काभेटर प्रयोग गरी खनिएका सडकले समेत पानीको मुहान हराउँदै जाँदा पानीको समस्या भोग्न बाध्य भएको जिल्लावासीले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्