Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्पतालको नाम बेचेर चन्दा संकलन गरेका छैनौं : धुर्मुस



 स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पतालका बेथिति र सेवाप्रवाहका समस्यालाई व्यवस्थित गर्दै लैजाने बताएकी छन् । वीर अस्पताललाई डिजिटल अस्पतालका रूपमा विकास गर्न लागिएको उनले जानकारी दिइन् ।

अहिलेसम्म अस्पतालका नाममा पैसा नउठाएको दाबी गर्दै उनले रङ किन्ने काम आन्तरिक रूपमा गर्ने र पछि एकैचोटि हिसाब सार्वजनिक गर्ने जानकारी दिइन् । उनले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत भएको काम प्रशंसनीय रहेको बताइन् । धुर्मुस–सुन्तली फाउन्डेसनले अस्पतालका नाममा पैसा उठाएको कुरा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका विषयबारे प्रस्ट पार्न पत्रकार भेटघाट आयोजना गरिएको थियो ।‘वीरलाई सिस्टममा पनि देशकै नमुना बनाएर अर्को अस्पतालमा अभियान सुरु गर्ने सोचाइमा छौं,’ वीर अस्पतालमा जारी सरसफाइ र सुधार अभियानबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाटमा मन्त्री अर्यालले भनिन् ।

अर्यालले स्वास्थ्य मन्त्रालय, वीर अस्पताल र धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा सरसफाइ अभियान सुरुवात गरिएको बताइन् । ‘मन्त्रालयले सोच्यो, एक खालको वर्कआउट गर्‍यौं, फेरि अस्पताल र मन्त्रालय बसेर सरसफाइको कार्यक्रम तय गर्‍यौं,’ उनले भनिन्, ‘सीताराम कट्टेलको टिमसँग सीप छ, त्यही भएर त्रिपक्षीय टिम मिलेर काम गरेका हौं, काम सकिएपछि सबै खर्च सार्वजनिक गर्छौं ।’

वैशाख २३ देखि सुरु भएको काम सक्न अझै १०/१५ दिन लाग्ने उनले बताइन्  । उनले लोकप्रियताका लागि नभई नमुना अस्पताल बनाउन लागिपरेको बताइन् ।

वीर अस्पतालमा १५ दिन र ट्रमा सेन्टरमा १५ दिनभित्र सफाइ सक्ने बताइए पनि सम्भव नभएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘धेरै नै राम्रो काम भएको छ, सरसफाइ मात्र होइन, रंगरोगनका कामले पनि वीर अस्पताललाई विशेष चमक दिएको छ,’ उनले भने ।

कार्यक्रममा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले स्वास्थ्य मन्त्रालयबाट सहकार्यको प्रस्ताव आएपछि वीर अस्पताल सुधारमा जुटेको बताए । ‘हाम्रा हरेक परियोजना सरकारलाई सघाउने हिसाबले नै गरिएका हुन्,’ उनले भने, ‘सरकारले नै तोकेको सरसफाइदूत भएका हिसाबले त्यसको दायित्व बहन गर्दै यो अभियानमा होमिएका हौं ।’

अस्पतालको नाम बेचेर रकम संकलन नगरेको स्पष्ट पार्दै उनले स्वत:स्फूर्त रूपमा १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिए । ‘सकारात्मक अभियान हो, हामीले अस्पतालको नाम बेचेर चन्दा संकलन गरेका छैनौं,’ उनले भने, ‘कतिपय व्यक्तिले आफैं आएर रकम सहयोग गर्नुभएको छ । त्यसमध्ये केही रकम हामीले यही काममा खर्च गरेका छौं ।’

८२ जना पेन्टरको संयोजन गरेर आफैं काममा खटिइरहेको उनले बताए । ‘बिहान ६ बजेदेखि राति अबेरसम्म प्यासेजमा सुतेर काम गर्दा धुर्मुस सुन्तली फाउन्डेसनले वीर अस्पतालमा लुटिराखेको छ भन्दा साह्रै चित्त दु:खेको छ, आपत्ति पनि छ,’ उनले भने ।

अस्पतालका उपकुलपति डा. गणेशबहादुर गुरुङले वीर अस्पतालका लागि भनेर पैसा मागेको भए त्यसलाई गलत मान्नुपर्ने बताए । ‘उहाँहरू (धुर्मुस–सुन्तली) ले राम्रो काम गर्नुभएको छ,’ उनले भने, ‘तर राम्रो काम गर्दा कसैले सहयोग गरेको छ भने हामीले बोल्न मिल्दैन ।’ कान्तिपुर

प्रतिक्रिया दिनुहोस्