नेपाल मेडिसिटीबाट सिन्धुलीका चिकित्सकहरुलाई तालिम
ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले सिन्धुली जिल्ला अस्पतालमा चिकित्सक र नर्सहरुलाई इमर्जेन्र्सी तथा क्रिटिकल केयर मेनेजमेन्ट सम्बन्धि प्रयोगात्मक तालिम प्रदान गरेको छ । तालिममा ५० जना भन्दा चिकित्सक र नर्सको सहभागिता रहेको थियो ।
नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिनका प्रमुख डा. संजय कार्की, क्रिटिकल केयर विभागका को—अर्डिनेटर डा. दिप्तेश अर्याल र इमर्जेन्सी पारामेडिक्स रमेश न्यौपानेले प्रयोगात्मक तालीम प्रदान गर्नुभएको थियो ।
सो अवसरमा ब्यासिक लाईफ सपोर्ट, इन्ट्युबेसन, स्वासप्रश्वासको व्यवस्थापन, ईमर्जेन्सीका आवश्यक उपकरणहरुको प्रयोग लगायतका सीपमूलक तालिम दिएको थियो । यसका लागि नेपाल मेडिसिटीले उपकरण, औजार तथा डर्मीहरुको ब्यवस्था गरेको थियो ।
सो अवसरमा सिन्धुली नगरपालिकाका प्रमुख खड्ग खत्रीले सिन्धुली जिल्ला अस्पतालको विकास र विस्तारमा स्थानीय सरकारको प्रमुख प्राथमिकतामा रहेको र यसका लागि नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गरी आगामी दिनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले सिन्धुलीका जनतालाई सुलभ र गुणस्तरीय सेवाका लागि आफूहरुले एम्बुलेन्स तथा शव वाहनको व्यवस्था गरेको बताउनुभयो ।
सिन्धुली जिल्ला अस्पतालको क्षमता अभिवृद्धिका लागि आफूहरुले लामो समयदेखि प्रयास गरिरहेको र यसका लागि जिल्लाका सम्बद्ध निकायहरुबाट राम्रो सहयोग प्राप्त भइरहेको सिन्धुली जिल्ला अस्पतालका प्रमुख डा. सुमित्रा गौतमले बताउनुभयो ।
नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा सिन्धुलीलगायतका आसपासका अस्पतालहरुका चिकित्सकहरुका लागि जिल्लामै सीप तथा क्षमता अभिवृद्धि तालिमले ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले अब सम्पूर्ण उपचार देशमै सम्भव भएको र त्यही सन्देशलाई सफलतापूर्वक लागू गर्न देशका सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुको सीप तथाक्षमता अभिवृद्धि गर्दै स्वास्थ्य सबै नेपालीहरुको पहुँचमा पुर्याउने अभियानमा आफूहरु रहेको बताउनुभयो ।
नेपाल मेडिसिटी अस्पतालले उपचारका लागि अब नेपालीहरुलाई विदेश जानु नपर्ने अवस्थाको सिर्जना गर्दै पूर्वाधार, प्रविधि र जनशक्तिको उत्कृष्ट ब्यवस्थापन गरी स्वास्थ्यलाई सबै नेपालीले धान्न सक्ने बताउन स्वास्थ्य बीमाका कार्यक्रमहरु लागू गरेको पनि बताउनुभयो ।