Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्लास्टिक प्रदूषण निर्मूल पार्न कपडाको मैत्रीपूर्ण झोला वितरण



 

 विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ ।

प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरिमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की, प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रजिअ, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा स्वच्छ वातावरणका लागि प्रदेश प्रमुख तुम्बाहाङ, मन्त्री कुसियत, प्रमुख पराजुलीलेलगायतले साइकलमा चढेर प्रभातफेरि गर्नुभएको थियो । कोणसभामा प्रदेश प्रमुख तुम्बाहाङले समाजलाई स्वच्छ राख्न तथा आफ्नो गाउँ ठाउँलाई फोहरमुक्त बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रदेश उद्योगमन्त्री कुसियतले आफ्नो गाउँ, टोल र शहर स्वच्छ वातावरण राख्ने कार्य पहिले आफूबाट शुरु गर्नुपर्ने प्लाष्टिक बहिष्कार गरी कपडाको झोला प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिका प्रमुख पराजुलीले फोहरबाट मोहर बनाउने कार्यमा महानगरपालिका लागिपरेको जानकारी दिनुभयो ।

कार्यकक्रममा प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल र महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले ‘स्वस्थ्य जीवन स्वच्छ वातावरण’ कायम राख्ने कार्यमा आजैदेखि सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा प्लास्टिकको झोला बहिष्कार गर्न कपडाको मैत्रीपूर्ण झोला सर्वसाधारणलाई वितरण गरिएको थियो । प्रदेशलाई साइकलमैत्री बनाउने उद्देश्यले उद्योग मन्त्रालयले उपलब्ध गराएको २० थान साइकल आजै प्रदेशका विभिन्न मन्त्रालयलाई वितरण गरिने मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्