Logo
|
Friday 29th March 2024
Logo

epaper

खानेपानी नभएपछि बसाइँ सराइ



खानेपानीको संकट बढेपछि पाल्पाको गोठादी गाउँ रित्तिँदै गएको छ । तत्कालीन एउटा गाविस नै बसाइँसराइ गर्न बाध्य भएको हो । गोठादीमा अधिकांश मगर बस्ती छ ।

खेती उब्जनीको हिसाबले अत्यन्त उर्वर माटो भए पनि खानेपानी नभएपछि गाउँ नै खाली हुँदै गएको छ । माथागढी गाउँपालिका–५ गोठादीका बासिन्दा पानीको समस्याले बस्ती नै खाली गरी बसाइँसराइ गर्दै आएका छन् । उनीहरू पानीकै कारण सस्तोमा जग्गा बिक्री गर्ने, नबिके आफन्तलाई गरिखान दिने, आफन्तले नगरे बाँझै छाडेर भए पनि बसाइँ सराइ गर्दै आएका हुन् ।

पाँच सय घरपरिवार रहेको यस बस्तीमा अहिले तीन सय घर मात्रै छन् । गाउँलेले तीन घण्टा लगाएर पानी बोकेर खाँदै आएका थिए ।

‘गाउँका हुनेखाने कोही कता,कोही कता बसाइँ सरे । पानीको समस्या भए पनि बस्तीमा पुर्खाको थातथलो कुरेर बसेका छौं,’ स्नाथीय हुमबहादुर सारुले भने । बसाइँ सर्नेहरू रुप्सेमा झर्ने गरेका छन् । रुप्सेमा खानेपानीको सहजता छ ।

तीन वर्षअघि गोठादीबाट रुप्से सरेका मानबहादुर नेपालीले खानेपानीकै कारण थातथलो छाड्नुपरेकामा चिन्ता व्यक्त गरे । ‘आफ्नो पुर्खाको थातथलो, आफू जन्मिएको गाउँ बस्ती कसलाई माया लाग्दैन र ? माया लागेर मात्र के गर्नु खानेपानी समस्या सम्झिँदा गाउँ फर्कन मनै लाग्दैन,’ नेपालीले भने ।

स्थानीयले पानीको समस्याबारे सम्बन्धित निकायमा जानकारीसमेत गराएका थिए । तर, वर्षांैसम्म पनि कसैले सुनेनन् । ‘खानेपानी तथा सरसफाइ कार्यालयमा धाउँदा–धाउँदा हैरान परियो । अन्य गाउँमा योजना परे पनि गाठादीमा खानेपानीको योजना कहिल्यै परेन,’ उनले भने । गोठादीवासी बिहान भाले बास्नासाथ डोकोमा गाग्री बोकेर पानी भर्न निस्किन्थे । पानी भर्न पनि लामो लाइन कुर्नुपथ्र्याे । बिहानभरि पानीका लागि बिताउनुपरेपछि खेतीपातीदेखि छोराछोरीको शिक्षासमेत प्रभावित भएको स्थानीयको भनाइ छ । पानीले झन् कष्टकर बनाएपछि स्थानीय बाध्य भई पानी खोज्दै बसाइँ सरेका हुन् ।

गाउँमै बस्नेहरूले अझै त्यही कष्ट बेहोरिरहेका छन् । ‘बिहानै नगए पानी भर्ने पालो आउँदैन, एक गाग्री पानीका लागि कहिलेकाहीँ ३ घण्टासम्म पालो पर्खनुपर्छ त कहिले रित्तो गाग्री लिएर घर फर्कनुपरेको छ,’ स्थानीय पार्वती सारुले बताइन् ।

गोठादीमा खानेपानी समस्याबारे गाउँपालिकालाई समेत जानकारी छ । आगामी वर्षबाट लिफ्ट खानेपानी योजना छनोट गरी काम सुरु गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफरमर, तार जडान र दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्यांकी निर्माण, धारा जडान र वितरण गर्ने गरी योजना बनाएको अध्यक्ष थापाले बताए ।

खानेपानी समस्याले बस्ती नै छाड्ने बाध्यता भएपछि पटक–पटक सांसदलाई समेत गुनासो सुनाएका थिए । तर, सुनुवाइ भएन । दुई÷तीन वर्षभित्र गाउँमा खानेपानीको सुविधा नभए गाउँ नै रित्तिने स्थानीय हुमबहादुर सारुको भनाइ छ । अन्नपूर्ण

 

प्रतिक्रिया दिनुहोस्