Logo
|
Friday 19th April 2024
Logo

epaper

पर्यटक बिरामी पार्नेलाई कडा कारबाही



 

पर्यटक

हिमाल आरोहणमा जाने विदेशी पर्यटकलाई बिरामी बनाइ उनीहरूको उद्धारका नाममा ठगी गर्ने कामले देशकै बदनाम भएको भन्दै सरकारी छानबिन कार्यदलका अधिकारीहरूले दोषीलाई कडा कारवाही गरिने चेतावनी दिएका छन्।

अधिकारीहरू भन्छन्, पर्यटकलाई जानाजान बिरामी बनाइ झुटा प्रमाण जुटाएर विदेशमा बीमा रकम दावी हुन थालेपछि नेपालकै बदनामी हुन सक्छ।

उद्धारका नाममा हेलिकप्टरदेखि अस्पतालसम्मको खर्च जोड्दा बीमाबाट लाखौँ रूपैयाँ असुल्ने गरेको उजुरी बढेपछि सरकारले छानबिन कार्यदल गठन गरेको छ।

लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल टानका महासचिव आङ पेम्बा शेर्पाका अनुसार विदेशी पर्यटकलाई जानाजान बिरामी बनाइ उद्धारका नाममा कमाउने प्रवृत्ति बढ्न थालेको छ।

मिलेमतो

उनले भने, “विदेशीलाई उनीहरू सस्तोमा प्याकेज दिन्छन्। तर जब हिमालतिर उक्लिन थाल्छन् पर्यटकलाई पखाला लाग्ने औषधि खुवाइदिन्छन्। अनि तत्काल उद्धार गर्ने नाममा ठगी हुने गरेको छ।”

उनका अनुसार पथप्रदर्शकदेखि लिएर उद्धारका लागि प्रयोग गरिने हेलिकप्टर, पुर्‍याउने अस्पताल र उद्धार एजेन्सीसम्ममा पैसाको ‘मिलेमतो’ हुने गर्छ।

अग्लो हिमाली स्थानमा बिरामी हुँदा हेलिकप्टरबाट उद्धार गर्नुका विकल्प नभएपछि महँगो मानिने सो प्रक्रियालाई पैसा कमाउने बाटो बनाएको देखिन्छ।

एकजना पर्यटकको नाममा १० लाख रूपैयाँसम्मको रकम बीमाबाट उठाइने गरेको बताइन्छ।

एउटा ट्रेकिङ एजेन्सीका सबैजना पर्यटक नै बिरामी भइ उद्धार गरिएका घटना रहेको तथा एक दिनमा १५ जनासम्मको उद्धार गरिएको घटना पर्यटन क्षेत्रमा रहेको कतिपय व्यवसायी अनुभव सुनाउँछन्।

पर्यटकतस्वीर कपीराइटRSS

त्यस्ता गुनासा बढ्न थालेपछि मन्त्रालयले छानबिन कार्यदल गठन गरेको हो।

कार्यदलका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले भने, “हेलिकप्टरदेखि अस्पताल जस्ता जस्तोसुकै बहानामा गरिएका काम ठगी र राज्यविरुद्धको अपराध हो। यसमा गम्भीर छानबिन हुन्छ।”

कार्यदललाई आगामी असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

कडिकडाउ

पर्यटकलाई बिरामी बनाइदिँदा उनीहरूको भ्रमण लक्ष्य पूरा नहुने र अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूमा नेपालप्रति नराम्रो छाप परेपछि पछिल्ला दिनमा नेपाल आउने पर्यटकको बीमा गर्न समेत कठिनाइ हुन थालेको बताइएको छ।

तर समस्या सोचेजस्तो ठूलो नभएको बताउनेहरू पनि छन्।

हेलिकप्टर कम्पनी एयर डाइनेस्टीका निर्देशक श्याम कंडेल भन्छन्, “समस्याहरू छन्। तर भनिएको जस्तो ठूलो पनि होइन। यसमा राज्य चनाखो भए चाँडै नै समाधान हुनेछ। जस्तै उद्धारका लागि विमानस्थलमा ल्याइने बिरामीको अवस्था बुझ्ने र त्यहाँ कडिकडाउ गर्ने हो भने एजेन्सीले अनैतिक काम गर्न आँट गर्नै सक्दैनन्।”

पर्यटन नेपालको आयस्रोतको एउटा प्रमुख आधार एक हो।

यस्तो संवेदनशील क्षेत्रमा भइरहेको विकृतिको चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्ने माग पर्यटन व्यवसायीहरूको छ। विविसि

प्रतिक्रिया दिनुहोस्