Logo
|
Friday 29th March 2024
Logo

epaper

काठमाडौँमा भन्दा सात गुणा बढि मुटुरोगी बालबालिका



जाजरकोटमा मुटु रोगी बालबालीकाहरुको संख्या बढ्दै गएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठनले जाजरकोटमा एक दर्जन भन्दा विद्यालयका विद्यार्थीहरुमा गरेको मुटुरोगसम्बन्धी ‘स्क्रिनिङ’मा काठमाडौंमा भन्दा सात गुणा बढि मुटुरोगी बालबालीकाहरु भएको तथ्याङ्क खुल्न आएको हो । स्क्रिनिङ गर्दा मुटुमा समस्या भएका बालबालिकाको इको तथा ईसीजी गरेर खास समस्या पत्ता लगायइएको प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र पुरुष ढकालले बताए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा आएको चिकित्सक टोलीले गत साता भेरी नगरपालिका अन्तर्गतका विद्यालयका बालबालिकामा मुटरोगको स्क्रिनिङ गरिएको थियो । उक्त जाँचमा पाँच हजार बालबालिकाको मुटु रोगको स्क्रिनिङ गर्दा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा मुटुरोगको समस्या बढी देखिएको छ ।

उहाँले भन्नुभयो– ‘काठमाडौं, पोखरा लगायतका सहरका बालबालिकाको परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो, तर जाजरकोटमा यो तथ्याङ्क सात गुणा बढि देखियो ।’ ५ हजार बालबालिकामा गरिएको परीक्षणपछि ३६ जना बालबालिकामा बाथ मुटुरोग (मुटुको भल्भ समस्या) देखिएको उनले बताए । ३६ जनामध्ये दुई जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको उहाँले बताउनु भयो ।
‘जन्मजात मुटुमा प्वाल पर्ने बालबालिकाको संख्या एक हजारमा तीन जना रहेको थियो भने अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ साथै ती बालकका लागि निशुल्क शल्यक्रियाको व्यवस्था पनि मिलाइएको छ । बालबालिकामा टनसिल हुँदा समयमा उपचार नगरे मुटुको भल्भमा समस्या हुने र गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहारविहारको सन्तुलन नमिल्नु, जीवनशैली लगायत मुटुरोगका कारण हुन ।’ डा. रेग्मीले बताउनु भयो ।

छाती दुख्ने, हिँड्दा स्वाँस्वाँ बढ्ने, मुटु हल्लिने, खुट्टा सुन्निने, जोर्नी दुख्ने, बाथ ज्वरो, खकारमा रगत देखापर्ने लगायत मुटुरोगका लक्षण भएको डा. जिज्ञासा रेग्मीले बताउनुभयो । यस्ता लक्षण देखापरे तत्काल मुटु परीक्षण गराउनुपर्ने डा. रेग्मीको सुझाव छ । ‘नियमित व्यायाम गर्ने, मद्यपान तथा धुम्रपान नगर्ने, बढी गुलियो, नुनिलो नखाने जस्ता सावधानी अपनाउनुपर्छ,’ डा. रेग्मीले भन्नुभयो ‘त्यस्तै नियमित स्वास्थ्य परीक्षण गर्ने, हरियो सागपात, फलफूल, गेडागुडी खाने लगायत व्यवहारले मुटुरोगबाट बच्न सकिन्छ ।’

मुटुरोग विशेषज्ञ डा. रेग्मीले जिल्लाका सरोकारवाला व्यक्तिलाई तथा स्वास्थ्यकर्मीलाई मुटुरोग लाग्नका कारण, असर र यसबाट बच्ने उपायबारे प्रशिक्षित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्