Logo
|
Thursday 28th March 2024
Logo

epaper

गाउँमै स्वास्थ्य जाँच गराउनेको भीड



 चैनपुर नगरपालिका ७ की ७५ वर्षीया देउकुमारी मगर उपचारका लागि धरान जाने तयारीमा थिइन् । वृद्धा भएकाले उनलाई श्वासप्रश्वासदेखि दम, उच्च रक्त चाप र ग्यास्टिक छ ।

तर, हेल्पिङ हेन्डसले चैनपुरको जिरो प्वाइन्टमा शुक्रबारबाट नि:शुल्क स्वास्थ्य शिविर राखेपछि मगर यतै उपचारका लागि आइन् ।
उनलाई दुई जना विदेशी चिकित्सकले जाचेर औषधि दिए । ५ दिनसम्म चल्ने शिविर भएकाले औषधि खाएर हेर्ने र फेरि जचाउन आउने सल्लाह ती चिकित्सकले दिए । चैनपुरमा विशेषज्ञ सहितको सेवा पाउदा खुसी लागेको उनले बताइन् । उनले सबै सेवा नि:शुल्क पनि लिएको बताइन् । यस्ता शिविरले हामीजस्ता वृद्धवृद्धालाई सजिलो भयो, उनले भनिन्,‘सुविधा सम्पन्न अस्पतालमाजाँदा निक्कै खर्च लाग्थ्यो, सित्तैमा उपचार गरियो ।’
उनीसँगै आएकी ४९ वर्षीया अमृता मगर पनि स्वास्थ्य शिविरमा धेरै प्रकारको सेवा पाउने भएपछि उपचार गर्न आएको बताइन् । बर्षातका बेला गाडी पनि चल्दैन थियो, सुविधा सम्पन्न अस्पताल नभएकाले जान कठिन भएको थियो, उनले भनिन्, ‘शिविरले फाइदा नै पुग्यो ।’ शिविरमा आँखा, कान, दाँत, महिला, बच्चासहित जनरल सेवा उपलव्ध भएको अध्यक्ष नारायण श्रेष्ठले बताए । शिविरमा एक्सरे, भिडियो एक्सरे, ईसीजी र सुविधायुक्त ल्याबको पनि सेवा छ ।
दुई विदेशी चिकित्सकसहित ६ जना उपचारमा संलग्न छन् । बिटिसका डा. रज साइक्स र अमेरिकाबाट आएकी डा. जन जेनसन उपचारमा संलग्न रहेको उनले बताए । दुर्गम भेगका गाउँबस्तीमा सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो । सुविधा सम्पन्न अस्पताल पुग्न घण्टाैं लाग्ने भएकाले स्वास्थ्य सेवामा सबैको पहुँच पुगोस् भनेर शिविर आयोजना गरेका हाैं, उनले भने, ‘५ दिनमा २ हजार बढीलाई सेवा दिने लक्ष्य राखेका छाैं ।’ शिविरमा आउने आँखाका रोगीले सित्तैमा चस्मा पनि पाउने छन् । विदेशी चिकित्सकहरू पनि दुर्गममा आएर स्वास्थ्य सेवा दिन पाउँदा खुसी भएको उनले बताए ।
शिविरको उद्घाटनको अवसर पारेर हामीले हेल्पिङहेन्ड अस्पताल पनि शुक्रबारबाट सञ्चालनमा ल्याएका छाैं, उनले भने, ‘यो नाफामुखी हैन, सेवामुखी हो ।’ न्यूनतम शुल्कमा सेवा दिनेछौं, उनले भने, ‘गरिव र विपन्न परिवारले नि:शुल्क सेवा पाउने छन् ।’ कोही उपचार अभावमा मृत्युको मुखमा पर्नु पदैन । बिरामीको चापलाई हेरेर हरेक महिना राजधानीबाट चिकित्सक ल्याएर सुविधा दिने पनि उनले बताए । उनले शिविरमा बिरामीको भीड लागेको बताए । शिविरमा पाचखपन, धर्मदेवी, चैनपुर नगरपालिकाका साथै सभापोखरी गाउँपालिका र अन्य स्थानका बिरामी आएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्