Logo
|
Thursday 28th March 2024
Logo

epaper

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट



 चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान थालिएको हो ।

आगामी साउन, भदौबाट डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामूलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्यूपा नष्ट गर्ने अभियान शुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनको भरतपुर महानगरपालिका तथा रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइने छ । राप्ती र रत्ननगरमा अभियान शुरु भएको र कालिका नगरपालिकामा आजदेखि तथा भरतपुरमा बुधबारदेखि र खैरहनीमा आगामी बिहीबारदेखि अभियान शुरु हुँदैछ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यसपटक कार्यक्रम सञ्चालन भएको छैन ।

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा तथा प्यूपा नष्ट गर्ने अभियानअन्तर्गत सबै क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीेसहित झण्डै १५० जना खटिने छन् ।

पानी पर्ने समय र गर्मी मौसमसमेत भएकाले डेंगु रोग यही समयमा बढी फैलने खतरा हुन्छ । त्यसैले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिनुभयो ।

चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ९, १०, १२, र १३ नम्बर वडामा सोमबार ४० जना महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी उक्त अभियानमा खटाइएको छ । अभियान तीन दिनसम्म चलाइने छ । यसअघि आइतबारबाट चितवनको राप्ती नगरपालिकामा समेत तीन दिने अभियान शुरु भएको छ ।

कालिका नगरपालिकामा आजदेखि अभियान शुरु भएको केसीले जानकारी दिनुभयो । अभियानका लागि कालिका नगरपालिकामा स्वास्थ्यकर्मी र टोलविकास संस्थाका प्रतिनिधिलाई डेंगु रोग तथा यसबाट बच्ने उपाएका बारेमा अभिमुखीकरण गरिएको वडा नम्बर ६ का वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिनुभयो ।

असार १२ देखि १४ गतेसम्म कालिकामा सञ्चालन हुने लार्भा नष्ट अभियानमा १० जना महिला स्वास्थ्य स्वयंसेविका खटिँदैछन् । स्थानीय सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष अर्जुन हुमागाईले भाँडामा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे हुर्कने भएकाले यस्ता भाँडामा पानी जम्न दिन नहुने कुरा अभिमुखीकरणबाट थाहा पाएकाले अभियानमा टोलवासीलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाउनुभयो ।

उक्त अभियान भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा ३० जना स्वयंसेवक खटाएर असार १३ देखि १५ गतेसम्म तथा खैरहनी नगरपालिकामा असार १४ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।

खैरहनी नगरपालिकाको वडा नम्बर ६, ८ र ९ मा १८ जना स्वयंसेवक खटाइने छ । सो अभियानका क्रममा स्वयंसेवकले घरघरमा गएर डेंगु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा नष्ट गर्ने र पर्चा पम्प्लेट वितरण गर्ने छन् ।

चितवनमा चालू आवको अहिलेसम्म एक हजार २९१ जनाको परीक्षणमा ५८ जनामा डेंगु रोग लागेको पाईएको छ । त्यसमध्ये ३२ जना चितवनका बिरामी र अरु अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् ।

यसअघि यो वर्ष चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एकजनाको मृत्यु भएको जनाइएको छ । गएको फागुनदेखि नदेखिएको डेंगु गएको जेठमा एकजनामा फेला परेको छ । साउनदेखि कार्तिकसम्म डेंगु संक्रमण हुने जोखिम समय हो ।

मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीको भनाइ छ । डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न दिन हुँदैन ।

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो । २०१० अर्थात आव २०६७÷६८ सालमा चितवनमा महामारी फैलिँदा पाँचजनाको मृत्यु भएको थियो । नेपालका ४९ जिल्लामा यो रोग देखिइसकेको छ ।

चितवनमा डेंगु परीक्षणको आवश्यक कीटसमेत तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । मुख्यगरी डेंगु रोगको अहिलेसम्म उपचार पत्ता नलागेकाले लक्षणअनुसार चिकित्सकले उपचार गर्छन् । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरुची हुने, मांशपेशी दुख्ने, पेट गडबडी हुनेलगायतका लक्षण देखिन्छन् ।

यसबाट बच्न पहिले त लामखुट्टेको टोकाइबाट बच्ने र घर वरपर सरसफाइ गरेर कुनै पनि भाँडामा पानी जम्न नदिनु हो । त्यसपछि पूरा ढाकिएको कपडा लगाउने, झुलभित्र सुत्ने, खाली भागमा मल्हम लगाउने, झ्याल ढोकामा जाली लगाउनेजस्ता उपाय अपनाउनु पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्