Logo
|
Wednesday 24th April 2024
Logo

epaper

लाइनमा बस्दै बित्छ बिरामीका दिन



 

 पेट दुख्ने समस्या भएका १३ वर्षिय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका–९, शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन्। अस्पतालको टिकट काउन्टरमा लामो लाग्छ भन्ने थाहा पाएकी उनी बिहानै ८ बजे आएकी थिइन्। बल्ल–बल्ल बिरामी छोरो डाक्टरलाई देखाएपछि भिडियो एक्स–रे, रगत, दिसा र पिसाबको जाँच गर्नुपर्ने भनियो । फेरि आधा घण्टा लाइन बसेर उनले डाक्टरले भनेका जाँचका लागि रकम बुझाइन्। प्रयोगशालामा रगत, दिसा, पिसाबको नमुना दिन र भिडियो एक्स–रे गराउन पनि उत्तिकै कुनुप-यो।

‘भीड हुन्छ भनेर बिहानै आएर लाइनमा बसे पनि सबै रिपोर्ट देखाउन भ्याइएन,’ मायाले भनिन्, ‘एकै दिन सबै रिपोर्ट नआएकाले केही रिपोर्ट मात्र डाक्टरलाई देखाउन भ्याएँ।’

‘२ बजेपछि डाक्टर नै बस्दैनन्,’ उनले भनिन्, ‘रिपोर्ट लिएर जचाउँन कम्तिमा दुई दिन त लाग्छ।’

डाक्टरले लेखिदिएका औषधि किन्ने ठाउँमा पनि भीड देखेपछि उनी अस्पताल बाहिरको औषधि पसलमा गइन् । रगत, पिसाब, दिसा र भिडियो एक्स–रे सबैको रिपोर्ट लिन उनी हरेकपटक लाइनमा बसिन्। रिपोर्ट लिन हरेक पटक दुई घण्टाजति लाइनमा बस्नुपरेको उनले बताइन्। अस्पताल आएको दोस्रो दिन पनि सबै रिपोर्ट उनले डाक्टरलाई देखाउन पाइनन्। रिपोर्ट उनको हात पर्दा डाक्टर अस्पतालमा थिएनन्।

य्रस्तै राप्ती नगरपालिका वडा नम्बर ६ की ३१ वर्षीया शान्ति कुँवर घुँडा दुख्ने समस्याको ‘फलो अप’ गर्न अस्पताल आएकी थिइन्। स्वास्थ्य बिमा गराएर उपचार गराउन आएकी उनी बिहान ८ बजे नै अस्पताल आइपुगेकी थिइन्।

बिमा गर्ने बिरामीको टिकट काट्ने काउन्टर छुट्टै भए पनि उनले धेरै समय लाइनमा उभिएर टिकट काट्नुप-यो। बिमा गरेका बिरामीको टिकट काट्नै धेरै समय लाग्ने गरेको उनले गुनासो गरिन्। ‘डाक्टरलाई भेट्न पनि कुर्नुपर्‍यो

,’ उनले भनिन्, ‘एक्स–रे गर्न पनि धेरै समय पर्खिनुपर्‍यो।’ एक महिनाअघि स्वास्थ्य समस्या देखाउन अस्पताल आउँदा बिमा किन गरिएछ जस्तो लागेको उनी बताउँछिन्।

‘बिहान ८ बजेदेखि आएको, २ बज्दा पनि रिपोर्ट लिन पाएको छैन,’ उनले गुनासो गरिन्, ‘कुर्दा र उभिँदा नै अर्को बिमारी निस्केला जस्तो हुन्छ।’ उपचार गराउन एक्लै अस्पताल आएकी उनी प्रयोगशालामा तीन घण्टापछि रिपोर्ट आउँछ भनेको एक घण्टापछि लाइन बसेकी थिइन्। लाइन बस्दाबस्दै तीन घण्टा पूरा हुने भएकाले लाइनमा बसेको उनी बताउँछिन्। ‘२ बजेपछि डाक्टर नै बस्दैनन्,’ उनले भनिन्, ‘रिपोर्ट लिएर जचाउँन कम्तिमा दुई दिन त लाग्छ।’

माया र शान्तिजस्तै उपचारका लागि भरतपुर अस्पताल आउने अधिकतर बिरामी यसैगरी वाक्क हुने गरेका छन्। अस्पतालबाट सहज र सुलभ तरिकाले उपचार सेवा पाउन सकेका छैनन्। २०१३ सालमा स्थापना गरिएको भरतपुर अस्पतालमा ६ सय शैया छन्। अस्पतालले अहिले १४ विभागबाट सेवा दिइरहेको छ। ओपिडीमा दैनिक एक हजारदेखि १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

अस्पतालमा ओपिडी व्यवस्थापन, बिमाका बिरामीको टिकट काउन्टर थप तथा प्रयोगशाला र फार्मेसी व्यवस्थापन हुन नसक्दा बिरामीले उपचार सेवा लिन धेरै लाइन बस्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविन खड्का बताउँछन्। अस्पतालमा आउने बिरामीको चापअनुसार कर्मचारी नभएकाले यस्तो समस्या भएको उनको भनाइ छ।

दुई साताअघि अस्पताल आएका डा. खड्का यस्ता आन्तरिक समस्या व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको बताउँछन्। अस्पतालको सेवालाई स्तरीय बनाउन अहिले अस्पतालका समस्याहरू पहिचान गरेर समाधान गर्ने तयारी गरेको उनको भनाइ छ। अस्पतालको स्तर निर्धारण, आन्तरिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढल निकास लगायतका काम गरिने डा. खड्काले जानकारी दिए।

२०६३ सालमा बनाइएको अस्पतालको गुरु योजना २०७४ मा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएको छ। गुरु योजनाअनुसार अस्पताल विकास तथा व्यवस्थापनमा केन्द्रित हुने मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काको भनाइ छ।  नागरिक न्यूज

प्रतिक्रिया दिनुहोस्