Logo
|
Tuesday 4th October 2022
Logo

epaper

सहमति कार्यान्वयन हुनुपर्छः पीडित नर्स



 “किन मैले नर्सिङ पेशा रोजेँ, अहिले मलाई पक्षताप भइरहेको छ,” यो भनाई नर्स त्रजिता जतिको छ ।

धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रबाट श्रमशोषणा परी शारीरिक मानसिक अन्यायविरुद्ध एकवर्षे लामो लडाईंमा नर्सकै छाता संगठनले पनि साथ नदिएपछि पेशाबाट विश्वास हराएको उहाँको बुझाइ छ ।

नेपाल नर्सिङ संघले नर्सको पेशागत हकअधिकार भन्दा पनि केन्द्रलाई नै साथ दिएकोप्रति दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “न्यायका लागि संघको साथ माग्दा संघका उपाध्यक्षले कसैको व्यक्तिगत समस्याको ठेक्का संघले नलिएको भनेर पन्छिनुभयो, हामीलाई आफ्नै पेशागत घरबाट पनि अन्याय गरियो ।”

केन्द्रमा कार्यरत नर्स त्रजिना जति र सजना धौलाले लामो समय स्वयंसेवी रुपमा काम गरेपछि करारमा राख्न माग गर्दा केन्द्रले तलब नदिई अभद्र व्यवहार गर्दै निकालेको भन्दै एक वर्षअघि आन्दोनन शुरु गर्नुभएको थियो ।

त्यसको केही समयपछि नेपाल नर्सिङ संघले समिति गठन गरी छानबिनका लागि केन्द्रमा पठाएको थियो । समितिले अन्याय भएको ठहर गरी स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएर समस्या समाधान गर्न आग्रह गरेको थियो ।

सुनुुवाइ नभएपछि संघकै नेतृत्वमा गत पुस र माघ महिनाभर नर्सले देशव्यापी आन्दोलन गरेका थिए । आन्दोलन देशव्यापी भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समस्या समाधान गर्न पूर्वविशेषज्ञ डा विनोदमान श्रेष्ठको टोलीले संघसँग ११ बुँदे सम्झौतासमेत गरेको थियो ।

सो ११ बुँदे सम्झौताको पहिलो बुँदा केन्द्रले नर्स त्रजिता र सजनालाई ७५ प्रतिशत तलब उपलब्ध गराउने र थप तीन महिनाका लागि करारमा थप्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिने सहमति भएको थियो ।

नर्स धौलाले आफूहरुले शुरु गरेको आन्दोलनलाई टुङ्गोमै पु¥याएर छाड्ने बताउँदै भन्नुभयो, “८० हजार नर्समा हामी नै अन्तिम पीडित बनौँ, उपरान्त कोही नर्सले हामीले जस्तो दुःख नपाउन् भन्ने चाहना हो, अब ज्यान जाओस् हामी लड्छौँ ।”

सहमतिअनुसार प्रत्यारेपण केन्द्रमा नयाँ नियुक्त दिए पनि ७५ प्रतिशत तलब नपाएको उहाँहरुको गुणासो छ । नर्स जतिले भन्नुभयो, “हामीलाई एक महिनाभित्र नै ७५ प्रतिशत तलब दिने भनिएको थियो, सहमति भएको पाँच महिनासम्म पनि हामीले तलब पाएनौँ ।”

सरकारसँग सहमति भए अनुसार तलब पाएनौँ भनेर नर्सिङ संघमा पटकपटक धाउँदा पनि नर्सिङ संघले समेत बेवास्ता गरेको उहाँको गुनासो छ ।

“नर्सिङ संघ र सरकारसँग भएको सम्झौताअनुसार हामीले तलब पाएका छैनौँ, हामीलाई न्याय दिलाउन सक्दैन भनेर लिखित रुपमै भनिदिए हामी बरु चुप लागेर बस्छौँ, यत्तिकै झुलाएर राख्नु भएन,” पीडित नर्सद्वयको गुणासो छ ।

आफ्ना माग तत्काल कार्यान्वयन नभए भोक हड्ताल गर्ने नर्सद्वयको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्