Logo
|
Saturday 20th April 2024
Logo

epaper

सुत्केरी र शिशुको मृत्यु भएको आरोप



विराटनगरस्थित नोबेल अस्पतालमा प्रसूति गराउने क्रममा शुक्रबार आमा र शिशुको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका ४ छिटहाकी २६ वर्षीया चाँदनी मेहता र नवजात शिशुको प्रसूति गराउने क्रममा मृत्यु भएको हो ।

चिकित्सकको लापर्बाहीले मृत्यु भएको भन्दै अभिभावक र आफन्तले शनिबार अस्पतालमै विरोध प्रदर्शन गरे । आक्रोसित आफन्तले तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

उनका यसअघि दुई छोरी १० वर्षीया आशिका र ७ वर्षीया कृति छन् । चाँदनीका पति देवकृष्ण महतोले उनलाई नियमित गर्भवती परीक्षणका लागि सोमबार अस्पतालमा ल्याएको बताए । ‘अस्पतालको जाँचपछि चिकित्सकको सल्लाहअनुसार प्रसूति हुने समय भइसकेकाले भर्ना गराएँ,’ उनले भने, ‘१/२ दिनमा नै प्रसूति नभएपछि जटिल अवस्था भए अर्को अस्पतालमा रेफर गरिदिन वा शल्यक्रिया गरेर प्रसूति गराइदिन आग्रह गरेँ तर चिकित्सकले एक सातासम्म समय लाग्ने अवस्था सामान्य रहेको बताए ।’

महतोले चिकित्सकहरूले सामान्य प्रसूति हुने अवस्था रहेको भन्दै शल्यक्रिया गर्न मानेनन् र शुक्रबार प्रसूति गराउन औषधि प्रयोग गरेको बताए । केहीपछि चिकित्सकले शिशुको मृत्यु भइसकेको तर आमालाई बचाउन सकिने भन्दै आईसीयूमा भर्ना गराएको उनले सुनाए । ‘हाम्रै अगाडि चाँदनीको गर्भबाट निस्केको शालनाल चिकित्सकले काटेपछि रगत बग्न थालेको थियो,’ उनले भने, ‘चिकित्सकले रगत बग्न बन्द नभएकाले पाठेघर नै काटी फालेर भए पनि आमाको ज्यान जोगाउने भन्दै रगतको व्यवस्था गर्न भनेपछि ४ पिन्ट रगत ल्यायौं ।’ पछि चिकित्सकले ‘प्रसूतिमा इन्फेक्सन भएर अन्धो भएकाले बचाउन नसकेको’ जानकारी गराएको महतोले सुनाए । चिकित्सकले लापर्बाही गरेकाले पत्नी र सन्तानको मृत्यु भएको आरोप उनले लगाए ।

आक्रोसित परिवारजनले शनिबार अस्पतालमा होहल्ला गर्दै तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । अस्पताल प्रशासनले शनिबार बिहान पीडित परिवारसँग वार्ता गरेको थियो ।अस्पताल प्रशासनले चिकित्सा शिक्षा पढ्दै गरेका ‘सिकारु चिकित्सकका कारण मृत्यु भएको’ छलफलका क्रममा बताएको देवकृष्णले बताए । पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका थिए ।

स्थानीय प्रशासनका प्रतिनिधिको समेत उपस्थितिमा अस्पताल प्रशासन र पीडित परिवारबीच छलफल गराएर ५ लाख क्षतिपूर्ति दिने सहमति गराएको महतोले बताए । नाबालिका छोरीहरूको नाममा उक्त रकम आइतबार बैंकमा खाता खोलाएर राख्ने मौखिक सहमति भएको उनले सुनाए ।

घटनाबारे प्रतिक्रिया लिने प्रयास गर्दा अस्पताल प्रशासनका प्रतिनिधि सम्पर्कमा आउन चाहेनन् । यसअघि गत शनिबार सप्तरीको कञ्चनरुप नगरपालिका ८ बकालकी २८ वर्षीया अनु सोनीको पनि प्रसूति गराएपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनका परिवारजनले पनि उपचारमा लापर्बाही गरिएको भन्दै अस्पताल परिसरमा नाराजुलुस लगाएका थिए ।

यस्तै, गत जेठमा उक्त अस्पतालमा चिकित्सकको लापरबाहीले सुनबर्षी ८ का ३५ वर्षीय चैता मण्डल र झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको पनि उपचारका क्रममा मृत्यु भएको थियो । सविताका परिवारजनले ५ दिनसम्म आन्दोलन गरेपछि अस्पताल प्रशासनले क्षतिपूर्ति दिएका थिए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्