Logo
|
Friday 19th April 2024
Logo

epaper

‘वार्ता गर्न जुम्ला आऊ’



चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् । आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए ।

‘सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्छ,’ उनले भने, ‘जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन, जबसम्म माग पूरा हँुदैन, तबसम्म आमरण अनशन जारी रहन्छ ।’

सरकारले वार्ता गर्न चाहे टोलीलाई जुम्ला पठाउन डा.केसीका आफन्त किशोर केसीले आग्रह गरे । ‘टेलिफोनमा वार्ता हुँदैन,’ उनले भने, ‘माग सम्बोधन गरे वार्ता आवश्यक छैन ।’ डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनी बोल्न नसक्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार टेलिफोन वार्ता गर्ने भने पनि डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले सम्भव भएको थिएन ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीलाई मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाब नहुनेजस्ता समस्या देखिएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् ।

डा.केसीले आफ्नो उपचारमा असहयोग गरेकाले चिकित्सकलाई समस्या भएको प्रतिवेदनमा उल्लेख छ । उनले अक्सिजन र स्लाइनबाहेक अरू औषधि लिन मानेका छैनन् । केसीको समर्थनमा जुम्ली महिलाले आन्दोलन सुरु गरेका छन् । उनीहरूले मंगलबार खलंगामा प्रदर्शनसमेत गरे । उनको समर्थन तथा सरकारलाई दबाब दिन र्‍याली निकालेको स्थानीय अगुवा माया रावलले बताइन् ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा डा.केसी छट्पटाइरहेका छन्,’ स्थानीय विष्णुकन्या उपाध्यायले भनिन्, ‘तर सरकारले बेवास्ता गरेकाले हामी आन्दोलित भएका हौं ।’ उनले सरकारलाई दबाब दिन थप आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाइन् ।
१ घण्टा सेवा बन्द
काठमाडौं (कास)– नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबारदेखि देशभरका सबै स्वास्थ्य संस्थामा बिहान दिनहुँ एक घण्टा काम नगर्ने निर्णय गरेको छ ।

सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन बिहान १० देखि ११ बजेसम्म एक घण्टा काम नगर्ने निर्णय गरेको चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जनाए । विरोध कार्यक्रमको घोषणा सर्वसम्मतिमा गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्