Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्रशिक्षार्थीका भरमा अस्पताल



मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएको दुई सातासम्म स्थायी दरबन्दीको प्रमुख नहुँदा जिल्ला अस्पताल प्रशिक्षार्थीको भरमा चलिरहेको छ । अस्पतालमा कार्यरत डाक्टर बुद्धिबहादुर थापाको दुई साताअघि स्वास्थ्य सेवा विभागमा सरुवा भएको थियो ।

अस्पतालमा तत्काल मेडिकल सुपरिटेन्डेन्ट आउन सक्ने सम्भावना नरहेको महर्जनले बताइन् । आठौं तहका डाक्टर सरोज दाहाल यसअघि नै एमडी अध्ययनका लागि बिदा बसेपछि एकमात्रै डाक्टरको भरमा अस्पताल चलेको थियो । जिल्ला अस्पतालको व्यवस्थापन र स्तरवृद्धि जिम्मा कुश्मा नगरपालिकाले लिएपछि यहाँ कार्यरत अन्य कर्मचारी पदीय दायित्वभन्दा पारिवारिक काममा बढी व्यस्त हुने गरेका छन् ।अस्पतालमा अहिले कार्यरत सबै डाक्टर करार दरबन्दीका रहेकाले कुश्मा नगरपालिकाले ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सजिना महर्जनलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । स्थानीय तह कार्यान्वयनपछि जिल्ला अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी कुश्मा नगरपालिकामा आएको थियो ।
अस्पताल अहिले करारका डाक्टर र प्रयोगात्मक अभ्यासमा आएका विद्यार्थीको भरमा चलिरहेको छ । वर्षाको सिजनमा टाइफाइड, ज्वरो, रुघाखोकी, निमोनियाका बिरामी बढी आउने गरेका छन् । तर, मुख्य डाक्टर नै नभएपछि उनीहरू थप मर्कामा पर्छन् । ‘अस्पताल आएपछि सामान्य चेक पनि नगरी पोखरा पठाइन्छ,’ मुडिकुवाका लालबहादुर नेपालीले भने, ‘उपचारै नपाइने कस्तो अस्पताल हो ?’ बाजुङकी पार्वती क्षेत्रीले अस्पतालमा सामान्य औषधिसमेत नपाएको गुनासो गरिन् ।

कुश्माकै देवबहादुर नेपालीले ज्येष्ठ नागरिकले पाउनुपर्ने नि:शुल्क उपचार नपाएको गुनासो गरे । सामान्य झाडापखालाको उपचार गराउन आउँदासमेत पोखरा रिफर गरिएको बिरामीको गुनासो छ । वर्षा र गर्मी मौसम भएकाले अहिले अस्पतालमा दैनिक एक सय हाराहारी बिरामी आउँछन् ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नभएपछि अन्य कर्मचारीको मनोमानी बढेको गुनासो छ । केही स्थानीय कर्मचारीले जिल्ला बाहिरकालाई काममा लगाएर आफू हाजिर गरेर फर्कने गरेको कर्मचारी बताउँछन् । त्यस्तै अस्पतालमा सञ्चालित पोषणगृह, प्रसूतिगृह, ओपीडीलगायतमा स्थानीय कर्मचारीले बेवास्ता गर्दा सबै व्यवस्थापन अस्तव्यस्त भएको छ । ‘हामी बाहिरबाट आएकाले सबै कुरा भन्न मिलेन,’ एक कर्मचारीले भने, ‘हामी लोकल हौं भन्नेले सबै बिगारेका छन् ।’ अस्पतालको एम्बुलेन्स बिग्रिएको दुई वर्ष हुँदासमेत मर्मत गर्न चासो नदिइएको ती कर्मचारीले बताए ।

अस्पतालको अस्तव्यस्तताबारे जनप्रतिनिधि र सरोकारवालसमेत जिम्मेवार देखिंदैनन् । ‘एम्बुलेन्सलगायतका समस्याबारे धेरै छलफल भइसक्यो,’ अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधाकुमारी क्षेत्रीले भनिन्, ‘मेयरज्यू यूके जाँदा त्यहाँबाट सहयोग गर्ने कुरा भएको छ । अब केही समयमा आइपुग्छ ।’ अस्पतालमा बिरामीले भोग्नुपरेको समस्या जटिल नभएको उनले बताइन् । सबै समस्या एकैपटक हल गर्न नसकिने भएकाले सबै व्यवस्थापन हुँदै जाने क्षेत्रीको भनाइ छ । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्