Logo
|
Thursday 28th March 2024
Logo

epaper

केसी काठमाडौं जान तयार, भने- ‘रक्तपात हेर्न सक्दिनँ’



 १९ दिनदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत प्राध्यापक डा. गोविन्द केसी काठमाडौं जान तयार भएका छन्। बिहीबार बिहानैदेखि अस्पतालमा केसीका समर्थक, प्रतिष्ठानका विद्यार्थी तथा प्रहरीहरूबीचको झडप उग्र भएपछि केसीले काठमाडौं गएर अनसन बस्ने बताएका हुन्।

‘यहाँ रक्तपात हुन भन्दा बरु म काठमाडौं जान्छु’, केसीको भनाई उद्‍धृत गर्दै उनका भाइ किशोर केसीले भने, ‘म वहाँ गएर अनसन बस्छु। मेरो माग छोड्दिनँ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा. केसी काठमाडौं फर्किन तयार भएको बताए। कानुन मन्त्री नरेश भण्डारीसहित मुख्यमन्त्री शाही केसीलाई काठमाडौं पठाउन जुम्ला पुगेका छन्।

डा. केसीलाई आजै सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको मुख्यमन्त्री शाहीले बताए।

अनसन बसिरहेका केसीलाई काठमाडौं लैजान सरकारले सेनाको हेलिकोप्टर बिहानै जुम्ला पठाएको थियो। केसीलाई उठाउन पुगेको प्रहरी टोलीलाई उनका समर्थक र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले रोकेका थिए।केसीको अनसनस्थल बाहिर घेरा बनाएर विद्यार्थी र समर्थकले प्रहरीलाई अवरोध गरेका थिए। त्यसक्रममा पटकपटक प्रहरीले बल प्रयोग गर्दा प्रहरीसँग उनीहरूको झडप भएको थियो। झडपमा कयौँ विद्यार्थी र प्रहरीहरू घाइते भएपछि केसी काठमाडौं जान तयार भएका हुन्।

झडपका क्रममा प्रहरीले गोली चलाउँदा प्रहरी नै घाइते भएका छन्। छातिमा गोली लागेका प्रहरीको प्रतिष्ठानमा नै उपचार भइरहेको छ। अन्नपुर्णपोष्ट

 

प्रतिक्रिया दिनुहोस्