Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन आग्रह



 नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ ।

संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले डा गोविन्द केसीले उठाउनु भएका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता भएकाले संसद्बाट नै समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

“एकजना व्यक्तिले राखेको माग राज्यले पूरा गर्न सक्दैन”, उहाँले भन्नुभयो, “कुन ठाउँमा कुन कलेज र शिक्षा दिने अधिकार सरकारलाई छ । त्यसैले अनशनका नाममा सबै अस्पताल बन्द गरेर लाखौँ जनताले स्वास्थ्योपचार गर्न पाउने वातावरणबाट वञ्चित गर्नु हुँदैन ।”

यसैगरी संगठनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको नारालाई सार्थक बनाउन पनि सबै कर्मचारीलाई आह्वान गरेको छ ।

अध्यक्ष देवकोटाले अब स्थायी सरकारबाट नै मुलुकलाई समृद्ध बनाउने दिशातर्फ कर्मचारी लाग्नुपर्ने बताउनुभयो । सरकारले स्थानीय तहमा खटाएको ठाउँमा कर्मचारी जान तयार भएपनि सरकारले नै कर्मचारी नखटाउँदा स्थानीय तहमा कर्मचारी अझै नपुगेको उहाँले चर्चा गर्नुभयोे । यसैगरी कर्मचारी समायोजन ऐनअनुसार संघ, प्रदेश र स्थानीय तहमा तत्काल कर्मचारी समायोजन गरेर पठाउन र स्वेच्छिक अवकाश योजनासमेत कार्यान्वयन गर्न पनि सो अवसरमा जोड दिइएको थियो ।
यस्तै बजेटमा वक्तव्यमा घोषणा गरिएअनुसार उच्चस्तरीय तलब आयोगसमेत गठन र राष्ट्रसेवक कर्मचारीको लगानीमा जलविद्युत् आयोजना सञ्चालन गर्न नीतिगत व्यवस्थाअनुसार उपयुक्त आयोजना छनोट गर्न बढ्दो महँगी नियन्त्रण गर्न, कृत्रिम अभाव, कार्टेलिङ तथा सिण्डिकेट अन्त्य गर्न र सुशासनको प्रत्याभूति उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्