Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा. केसीको अनसनलाई नेपाली समाजले पचाइसकेको छ : दाहाल



 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र आफ्नो पार्टी अनसनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गरेर उनको जीवनरक्षा गर्न तयार रहेको बताएका छन् । सरकार र नेकपा पार्टीले डा‍. केसीको जीवनरक्षाका लागि कदम चालेपनि अर्को पक्षले त्यसमा राजनीति गरिरहेको आरोप उनको थियो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीकाे सभागृहमा अायाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा. केसीको अनसनलाई लिएर सरकार गम्भिर रहेको र उनको जीवनरक्षा गर्नका लागि तत्तपर रहेको बताए।

‘डा. गोविन्द केसी अनसन बस्नुहुन्छ। यो नेपाली समाजले पचाइसकेको छ। उहाँसँग वार्ता हुन्छ, सहमति पनि हुन्छ। त्यो पनि सामान्य प्रकृया हो,’ उनले भने, ‘हामी छलफल गरेर समाधान निकालेर उहाँको जीवनरक्षा गर्न चाहन्छौं। तर अर्को एउटा पक्ष उहाँको जीवनरक्षा गर्ने पक्षमा छैन।’

सरकारले डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न खोजे पनि प्रतिपक्षी कांग्रेसले उनको मागलाई आफ्नो राजनीतिक हतियार बनाउन खोजेको आरोप लगाए। ‘नेपाली कांग्रेसले के गर्न खोजेको हो,’ उनले भने, ‘कांग्रेसले डा. केसी मार्फत आफ्नो राजनीति गर्न खोजेको हो? के कांग्रेसको अब अरु कुनै एजेण्डा छैन? यदी हो भने कांग्रेस अब सकियो।’

उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा. केसीको अनसनलाई लिएर छलफल भएको बताउँदै लोकतान्त्रीक प्रणालीबाट नै समस्याको समाधन गर्नुपर्ने विषय आफूले उठाएको बताए।

‘हामीले हिजो मात्रै शेरबहादुर देउवाजीसँग छलफल गरेका थियौं,’ उनले भने, ‘देउवाजीले डा. केसीलाई मनाउनुस् हामी मान्न तयार छौं। उहाँ मान्नुभएन भने हाम्रो आन्दोलन जारी छ भन्नुभयो।’ कान्तिपुर

प्रतिक्रिया दिनुहोस्