Logo
|
Thursday 18th April 2024
Logo

epaper

सरकार र डा. केसी सहमति नजिक



दुवै पक्ष आ–आफ्नो अडानबाट लचक भएपछि सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म चलेको वार्तामा डा. केसीले उठाएका अधिकांश मागबारे सहमति नजिक पुगेको डा. केसी तर्फका वार्ता टोली संयोजक डा. अभिषेक सिंहले बताउनुभयो।

विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन बाँकी छ । बाँकी बिषयमा सहमतिको पहल स्वरुप दुई पक्षबीच अहिले केहीबेरपछि पुन: वार्ता सुरु हुदैछ । केसी पक्षीय वार्ता टोलीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा उल्लेख केही प्रावधान सम्सोधनको आशय सहित टिप्पणी सरकारी वार्ता टोलीलाई बुझाएपछि दुई पक्षबीच वार्ताको वातावरण बनेको हो । दुई पक्षबीच आज सहमति हुने सम्भावना बढी रहेको र डा. केसीले समेत आजै अहिलेसम्मकै २६ दिन लामो अनशन तोड्नु हुने सम्भावना छ ।

डा.केसीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ भन्दा बढीलाई सम्बन्धन दिन नपाउने, छात्रवृत्तिको कोटा ७५ प्रतिशत हुनुपर्ने लगायतका माग राख्नुभएको छ । यसअघि केसीले संसदमा पुगिसकेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेपनि सरकार विधेयक फिर्ता हुन नसक्ने पक्षमा कायम थियो ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने संलग्न हुनुहुन्छ । यस्तै डा केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधार लगायत विभिन्न माग राखी डा. केसी २६ दिनदेखि अनसनमा हुनुहुन्छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्