Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मनसुन बढेसँगै आँखा पाक्ने विरामीको संख्यामा बृद्धि



मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने रोगको संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन ।
काठमाडौंमा जनघनत्व बढी भएकाले समुदायमा आँखा पाक्ने रोग छिटो फैलिरहेको चिकित्सकहरु बताउछन । आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहने पनि चिकित्सकले जनाएका छन । तिलगंगा आँखा अस्पतालमा दैनिक आउने कुल बिरामीमध्ये ३० देखि ४० प्रतिशत आँखाको संक्रमण भएका बिरामी छन । उक्त अस्पतालको आकश्मिक कक्षमा दैनिक ८० जना बिरामी आउँछन । अस्पतालको बहिरंग विभागमा आउने औसत ७ सय बिरामीमध्ये ३० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै रहेका छन ।

विपी कोइराला नेत्र अध्ययन प्रतिष्ठानमा दैनिक औसत ७ सय आँखा पाकेका बिरामी पुगिरहेका अस्पतालले जनाएको छ । अस्पतालमा साउन महिनामा आँखा पाकेका बिरामी बढेका हुन । ‘कतिपय भाइरसले आँखाको समस्या जटिल बनेपछि बिरामी आउन थालेका छन,’ प्रतिष्ठानकी जलविन्दु विशेषज्ञ डा. मधु थापाले भन्नुभयो । चिकित्सकका अनुसार ‘एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपपछि आँखा पाक्छ । सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुन्छ । संक्रमित बिरामीमा यस्तो समस्या करिब दुई सातासम्म रहन्छ । ‘आँखा पाक्ने संक्रमण मौसमी भाइरसका कारणले देखिन्छ,’ नेत्रविशेषज्ञ डा. बेन लिम्बूले भन्नुभयो, ‘भाइरसले आँखा पाक्दा चिप्रा नआएको कारण बिरामीहरु झुक्किएका छन ।’

चिकित्सकका अनुसार मनसुनमा यो भाइरस सक्रिय भएकाले एउटै व्यक्तिमा संक्रमण दोहोरिने पनि गरेको छ । विशेष गरी शरीरमा प्रतिरोधात्मक शक्ति कमजोर भएकालाई संक्रमण दाहोरिने गर्छ । एडिनो भाइरसको संक्रमणले दुई सातासम्म रहन्छ । संक्रमण अवधिमा आँखाका नानीमा स–सानो घाउ पनि बनाउँछ । यो घाउ निको भए पनि दाग भने रहिरहन्छ । कतिपयलाई संक्रमणपछि आँखा निको नभएपछि घाममा आँखा हेर्न कठिन हुने समस्या भएका छन तर यसले दृष्टिमा भने असर गर्दैन । संक्रमणका बेला आँखाको राम्रोसँग हेरचाह नगरे किटाणुको पनि संक्रमण थपिन सक्ने चिकित्सक बताउँछन । ‘आँखाको संक्रमणको बेला आँखा सफा राख्नुपर्छ र आँखा मिच्नु हुँदैन,’ आँखा सर्जन डा. लिम्बुले बताउनुहुन्छ । रोगको लक्षण देखिएपछि जतिसक्दो छिटो उपचारमा जान चिकित्सकको सुझाव छ । भाइरसको कारण आँखा पाकेको हुनाले यो भाइरस मार्ने औषधि हुँदैन । दुई साता अवधि पुगेपछि आफैं मर्छ ।

तर सम्बन्धित अन्य संक्रमणबाट बच्ने औषधि भने प्रयोग गर्नुपर्छ । आँखामा घाउ बनेको छ भने चिकित्सकको सल्लाहमा औषधि हाल्नुपर्छ । लापरवबही गरेमा आँखामा जटिलता आएर ज्यानैसमेत जान सक्ने चिकित्सकहरु बताउँछन ।‘बिरामी आफैंले औषधि किनेर प्रयोग गर्नु हुँदैन,’ डा.लिम्बूले भन्नभयो । , ‘संक्रमणको असर लामो समय पनि रहन सक्ने हुनाले एक पटकको उपचारपछि पनि पुर्नजाँचका पुनः अस्पताल जानुपर्छ । संक्रमणबाट बच्नको संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, संक्रमितसँग हात नमिलाउने तथा भिन्नै सामान प्रयोग गर्नुपर्छ । साथै, संक्रमितले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने । औषधि प्रयोग गरेपछि हात धुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ ।

लक्षण
– आँखा रातो हुने

– आँखा चिलाउने
– आँखाबाट रगत मिसिएको आँसु आउने

– ज्वरो आउने
– घाँटी दुख्ने

– स्वर भासिने

कसरी बच्ने ?

– भीडभाडमा जाँदा चश्माको प्रयोग गर्ने
– संक्रमितले प्रयोग गरेका रुमाल तथा अन्य सामग्री साटासाट नगर्ने
– संक्रमित व्यक्तिको नजिक नबस्ने
– संक्रमितका बिच्छ्यौना प्रयोग नगर्ने
– संक्रमित किरामीले औषधि प्रयोग गरेपछि हात धुने
– भीड हुने ठाउँ स्कुल, चलचित्र हलमा नजाने

प्रतिक्रिया दिनुहोस्