Logo
|
Monday 3rd October 2022
Logo

epaper

उपचारै नपाएर जान्छ ज्यान



 अत्तरियास्थित बसन्तपुरका विश्वनाथ ओझा बुबा देवीलाललाई लिएर गत चैत २७ गते सेती अञ्चल अस्पताल पुगे। मुटुसम्बन्धी समस्या देखिएका देवीलालको सघन उपचार कक्षमा राखेर उपचार थालियो। अस्पतालमा मुटुरोगको उपचार नपाएपछि चार दिन आइसियु कक्षमै रहेका उनको अन्ततः चैत ३० गते मृत्यु भयो। अमरगढी–१, डडेलधुराका रामबहादुर भुलले आफ्ना बुबा भिखारी भुललाई उपचारका लागि धनगढीस्थित अञ्चल अस्पताल ल्याए। मुटुसम्बन्धी समस्या भएका उनको पनि सघन उपचार कक्षमा आवश्यक उपचार नपाएर ज्यान गयो।

यी त प्रतिनिधिमूलक घटना हुन् । प्रदेश ७ मा जटिल रोगको उपचार नपाएर अकालमै ज्यान गुमाउनेको संख्या कम छैन। हृदयघात, क्यान्सर, टाउकोमा गम्भीर चोट लागेको, सर्पले डसेका बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ। ‘यहाँका बासिन्दा रामभरोसामा बाँचिरहेका छन्, केही गम्भीर प्रकृतिको बिरामी भयो भने उपचार नपाएर मनुपर्ने अवस्था छ,’ स्थानीय युवा किशोर जोशी भन्छन्।

सेती अञ्चल अस्पतालमा हृदयघातको उपचार हुन नसक्दा मृत्यु हुनेको संख्या अत्यधिक छ। सेती अञ्चल अस्पताल पुगेपछि हृदयघातको उपचार पाउन नसकेर गत आर्थिक वर्षमा १२ जनाको मृत्यु भयो। सघन उपचार कक्षमै उपचारका क्रममा मुटुरोगको उपचार नपाएर १२ जनाको मृत्यु भएको अस्पताल स्रोतले बतायो। गत आर्थिक वर्षमा सेती अञ्चल अस्पतालमा मात्रै हृदयघातका ७७ जना बिरामी उपचारका लागि  आएको तथ्याङ्क छ। ती मध्ये १२ जनाको मृत्यु भयो भने अन्य बिरामीलाई थप उपचारका लागि बाहिर रेफर गरिएको  थियो।

‘बुबालाई बचाउन सकिन्छ कि भनेर ऋण काढेरै पनि महँगो शुल्क तिरेर सघन उपचार कक्षमै राखी उपचार गरायौँ, तर पनि सम्भव भएन,’ देवीलालका छोरा विश्वनाथले भने,‘अस्पतालमा सघन उपचार कक्ष त छ, तर मुटुरोग विशेषज्ञ डाक्टर नहुँदा मेरा बुबाजस्तै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ।’ उनले रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा मुटु रोग विशेषज्ञ ल्याउनु पर्ने बताए। ‘हृदयघात भएको थाहा हुँदाहुँदै अस्पताल पु-याए पनि विशेषज्ञ चिकित्सक नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ,’ उनले भने,‘सरकारले चाँडै यो समस्या समाधान गरोस्।’

प्रदेश नम्बर ७ मै मुटु रोग विशेषज्ञ डाक्टर नहुँदा डोटीबाटै एम्बुलेन्स रिजर्व गरेर बुबालाई नेपालगन्ज उपचारका लागि पु-याएको बताउँदै डोटी दिपायलका गणेश साउँदले भने,‘महँगो खर्च गरेर लामो बाटोमा जोखिम मोल्दै भगवान् भरोसामै हृदयघात भएका मेरा बुबालाई नेपालगन्ज लगेँ।’ धनगढीमै उपचार सम्भव नभएपछि आफैले जोखिम उठाएर बुबालाई नेपालगन्ज लगेको बताउँदै उनले भने,‘धनगढीमा सघन उपचार कक्षमा हृदयघातका बिरामीको प्राथमिक उपचारबाहेक अरु केही हुँदैन, जोखिम मोलेर बाहिर लैजान नसक्नेहरुका बिरामी अञ्चल अस्पतालमै मर्छन्।’ बुबालाई उपचारका लागि एम्बुलेन्स आउजाउकै मात्र ५० हजार बढी खर्च भएको बताउँदै उनले भने,‘धनगढीमै त्यो सुविधा भएको भए, यातायात खर्च त बच्थ्यो।’

मुटु रोग विशेषज्ञ पनि नभएका कारण हृदयघातका बिरामीको उपचारमा समस्या हुने गरेको बताउँदै सघन उपचार कक्षकी स्टाप नर्स कुसुम खड्काले भनिन्,‘जटिल प्रकृतिका बिरामीलाई यहाँ उपचार गर्न नसकिएपछि थप उपचारका लागि बाहिर रेफर गर्छौँ।’

बरिष्ठ फिजिसियन डा. शुभेसराज कायस्थ जटिल प्रकृतिको हृदयघातको जतिसक्दो चाँडो उपचार भयो त्यति नै बाँच्ने सम्भावना बढी हुने बताउँछन्। ‘१/२ घण्टाभित्र बन्द भएको मुटुको नली खोलेर उपचार गरिसक्नुपर्छ,’ उनले भने, ‘प्रदेश ७ मा जटिल हृदयघातका बिरामीलाई उपचार नहुँदा रेफर गर्नु परेको छ।’  छिटो उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेको उनी बताउँछन् । काठमाडाैं बाहिर अन्य प्रदेशमा मुटको नली बन्द भएमा रगतको नसाबाट स्पेन्ट पठाएर उपचार गर्ने विधि रहे पनि प्रदेश ७ मा यो समेत नभएको उनको भनाइ छ। ‘शल्यक्रिया नगरी स्पेन्टबाट बन्द नली खोलेर उपचार गर्ने विधि धेरै ठाउँमा आइसक्यो,’ उनले भने।

कहिल्यै आएनन् विशेषज्ञ
प्रदेश ७ को रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा कहिल्यै विशेषज्ञ डाक्टर आउन सकेका छैनन्। अहिले पनि सेती अञ्चल अस्पतालमा जनरल हेल्थ सर्भिसेज एक जना, अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी एक जना, मेडिसिन एक जना, पेडियाटिक्स दुई जना, मेडिसिन कार्डियोलोजी एक जना, जनरल डेन्टल एक जना, जनरल हेल्थ सर्भिसेज एक जनाको दरबन्दी रिक्त रहेको छ।

यसैगरी सेती अञ्चल अस्पतालपछिको दोस्रो ठूलो अस्पतालका रुपमा रहेको महाकाली अञ्चल अस्पतालमा पनि दरबन्दी अनुसारका चिकित्सक छैनन्। २८ जना चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा एक जना मेडिकल अफिसर र ३ जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन्। दरबन्दी अनुसारका चिकित्सक महाकाली अञ्चल अस्पतालले पाउन नसकेको बताउँदै अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले भने,‘चिकित्सकका २४ दरबन्दी अहिले पनि रिक्त छन्।’ चिकित्सक नहुँदा यहाँका बिरामीले उपचार पाउन नसकेको उनले बताए। ‘विशेषज्ञ डाक्टर नहुँदा हामीले पनि अस्पतालमा आएका बिरामीलाई सेती अञ्चल अस्पताल या नेपालगन्ज रेफर गर्नु परिरहेको छ,’ उनले भने,‘दरबन्दी अनुसारका चिकित्सक नहुँदा महाकाली अञ्चल अस्पतालमा उपचारका लागि आएका बिरामीलाई रेफर गर्नुबाहेक अन्य केही गर्न सकिरहेका छैनौ।’

गाउँगाउँ सरकार पुगे, उपचार पुगेन
देश संघीयतामा गएर तीन सरकार क्रियाशील छन्। संविधानमा मौलिक हकको रुपमा स्वास्थ्यलाई राखिए पनि प्रदेश ७ का बासिन्दा उपचार नपाएर अकालमै ज्यान गुमाइरहेका छन्। प्रदेश भरीमा अहिलेसम्म विशेषज्ञ चिकित्सक, उपकरण र प्रविधियुक्त रहेको एक पनि राम्रो अस्पताल छैन। पहाडी ७ जिल्लामा स्वास्थ्य उपचारको अवस्था झन दयनीय छ। कयौँ दिन बिरामी पीडा सहेरै बस्ने गरेका छन्। बिरामीले च्यापेपछि ऋण सपाटी गरेर सेती र महाकाली अञ्चल अस्पताल आउँछन्। यी अस्पतालमा पनि उपचार नहुँदा विपन्न समुदायका बिरामी र आफन्त निराश हुन्छन्। ‘टाउको दुख्न थालेको एक महिना भयो, ठूलो अस्पताल भनेर यहाँ आएँ । यहाँ पनि उपचार भएन,’डडेल्धुरा नवदुर्गाबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका वीरबहादुर साउँदले गुनासो पोखे। प्रदेश नम्बर ७ मा न्यूरो सर्जन, न्यूरो फिजिसियन चिकित्सक छैनन् भने एमआरआई, सिटिस्क्यान उपकरण छैनन्। टाउकोमा चोट लागेर ३/४ घण्टाभित्र उपचार गराइसक्नुपर्ने व्यक्ति यहाँ उपचार पाउन नसकेर लखनउ, नेपालगन्जलगायतका अस्पताल पुगन्जेल ज्यान गुमाउनु पर्ने अवस्था छ। यहाँ उपचार नपाउँदा कयौँको ज्यान जाने गरेको छ, भने भारतका विभिन्न सहर, काठमाडांैलगायतका ठाउँमा उपचार गर्न जाँदा आर्थिक अवस्था कमजोर भएकाहरुले घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्था छ,’ स्थानीय प्रमोद पाठक भन्छन्,‘गाउँगाउँमा सरकार पुग्यो, तर जनताको उपचार नपाएर मर्नुपर्ने अवस्था उस्तै छ।’ अहिलेको प्रविधिको युगमा प्रदेश स्तरमा सबै प्रकारका बिरामीको उपचार समेत नहुने अवस्था हुनु दुःखद भएको उनले बताए।

क्यान्सरको जाँच नै छैन
प्रदेश ७ भरी क्यान्सरको जाँच गर्ने उपकरण नै छैन। ‘क्यान्सर लागे न लागेको सुरुमा आफै थाहा पाइँदैन। यहाँ डाइग्नोसिस नहुँदा क्यान्सर अन्तिम अवस्था पुगेपछि मात्र बिरामी थाहा पाउने गरेका छन्,’ सेती अञ्चल अस्पताल आकस्मिक कक्ष प्रमुख कृष्ण बोहरा भन्छन्,‘त्यही भएर पनि क्यान्सरबाट कयौँले ज्यान गुमाउनु परेको छ। क्यान्सर रोगबाट ज्यान गुमाउनेको संख्या पनि प्रदेश नम्बर ७ मा धेरै रहेको उनले बताए । क्यान्सरका बिरामीलाई दिइने किमो थेरापी, रेडिओ थेरापी सेवा पनि प्रदेश स्तरमै छैन।

सर्पले टोकेका बिरामीले पनि उपचार पाउँदैनन्
वैशाख यता कैलालीमा सर्पले डसेर १० जनाको ज्यान गइसकेको छ। ‘समयमा राम्रो उपचार नपाएकै कारण सर्पको टोकाइबाट बिरामीले ज्यान गुमाउनु परेको वरिष्ठ फिजिसियन डा. शुभेसराज कायस्थ बताउँछन्। ‘अहिलेको युगमा सर्पले टोकेर यति संख्यामा मृत्यु हुनु बिडम्बना हो,’ उनले भने। सर्पले टोकेपछि प्राथमिक उपचारदेखि स्वास्थ्य संस्थामा राम्रो उपचारको अभाव रहेको छ। ‘विषालु सर्पले टोक्दा आँखा बन्द हुने, मुख प्यारालाइसिस हुने गर्छ।  छातीका मसल्स पनि फेल हुँदा स्वासप्रस्वास बन्द हुने गर्छ,’ उनले भने,‘स्वासप्रस्वास बन्द भएर नै धेरैजसोको ज्यान जाने गर्छ।’

सर्पले डसेका बिरामीको भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने उनी बताउँछन् । तर, प्रदेश नम्बर ७ मा सेती अञ्चल अस्पतालमा एक मात्रै भेन्टिलेटर छ। ‘अस्पतालमा एकमात्र भेन्टिलेटर छ, त्यो खाली नै हुँदैन,’ सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख बोहरा भन्छन्, ‘भेन्टिलेटर नहुँदा सर्पले टोकेर बेहोस भई आएका बिरामीलाई बचाउन समस्या हुने गरेको छ ।’ कृत्रिम रुपमा श्वास दिएर उपचार गर्ने गरिए पनि त्यो प्रभावकारी नहुने उनको भनाइ छ। सर्पले टोकेर मृत्यु हुनेमा अधिकांश आर्थिक अवस्था विपन्न भएका परिवारका रहेका छन्। घरभित्रै शौचालय नभएर राति आँगनको अँध्यारो बाटोहुँदै बाहिरको शौचालयमा जाँदा, झाडीमा घाँस काट्दा, खेतबारीमा काम गर्दा, जंगल वा झाडीका छेउमा झुप्रो घर भएकाले आँगन वा भुइँमा सुतेका बेला उनीहरु सर्पको टोकाइमा पर्ने गरेका छन्। नागरिकन्युजबाट

प्रतिक्रिया दिनुहोस्