Logo
|
Friday 19th April 2024
Logo

epaper

न्यूरो डाक्टरको कमालः यसरी बचाए वलीलाई



 


वैदेशिक रोजगारको सिलसिलामा मलेसिया गएका रुकुम जिल्लाको पश्चिमी क्षेत्र त्रिवेणी गाविस—१ का २७ वर्षीय कृष्ण वली दशैं मनाउन घर आएका थिए । दशैंको नवमीका दिन गाउँको कालरात्री पूजाको मेला भर्न गएका वलीलाई सामान्य भनाभनमा गाउँका केही केटाहरुले मार्ने उद्देश्यले उनको गर्दनमा धारिलो चक्कु प्रहार गरेर जीवनमरणको दोसाँधमा पुर्याएका थिए । भुँईमा लडाएर मार्नका लागि उनको गर्दनमा छूरी रोपिएको थियो । रोपिएको छूरी निकाल्न खोज्दा नसकेर अपराधीहरु भागेको अवस्था थियो । घटना २०७५ साल कात्तिक १ गते दशैंको नवमीका दिन भएको यस घटनाका घाइते २ गते विजयादशमीका दिन गर्दनमा रोपिएको छुरा जस्ताको जस्तै लिएर पुगेका थिए ।
शुरुमा घटनापछि तत्काल बाँकेको कोलहरपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लगेपनि जटिल घटना भएकाले हवाइजहाजमा नेपालगञ्जबाट दशमीका दिन भिनाजुपर्ने गोपालसिंह कार्कीको सक्रियतामा काठमाडौंको न्युरो हस्पिटल लगिएको थियो ।
यो घटनामा बिरामी र उपचारमा संलग्न हामी डाक्टर नै लक्की मान्नुपर्छ किनभने गर्दनभित्र महत्वपूर्ण नसा रहेका हुन्छन् । मस्तिष्कमा रगत सञ्चार गर्ने मुख्य नसा, खानानली, स्पाइनल कर्ड, श्वासप्रश्वास नली गर्दनमा हुन्छ ।
मस्तिष्कमा रक्तसञ्चार गर्ने मूल नसा गर्दनको अगाडिको भागबाट पास भइरहेको हुन्छ । गर्दनमा गाडिएको छूरी पछाडिको भागबाट छिरेर अगाडिको भागसम्म पुगेको थियो । अर्को जटिलता के थियो भने छूरी नै बांगिएर एकातिरको भागमा सिधा भएर बसेको थियो ।
यदि मेरुदण्ड काटिएको भए बिरामीको हात खुट्टा चल्दैनथ्यो । जीवनभर ह्विल चेयरमा रहनुपर्ने अवस्था आउनसक्थ्यो । त्यो बाहेक अरु धेरै जटिल कम्प्लिकेसनको समस्या देखिनसक्थ्यो । गर्दनको मूल नसा काटिएको अवस्थामा ‘आमा’ पनि भन्न नपाइ बिरामीले ज्यान गुमाउन सक्छ । त्यसैले यो जटिल शल्यक्रिया हो ।
आकस्मिक कक्षमा बिरामी पुग्दा बोलिरहेको अवस्था थियो । तर घोप्टो पारेर ल्याइएको थियो । बिरामीको अवस्था उठेर बस्ने खालको थिएन । हातखुट्टा राम्रोसँग चलेको थियो । सास फेर्न कठिनाइ थिएन । आकस्मिक कक्षमा बिरामी हेर्ने सामान्य प्रक्रिया हुन्छ । श्वासप्रश्वास र रक्तसञ्चारको अवस्था, नसामा कुनै कमी कमजोरी भएनभएको हेरिन्छ ।
बिरामीका आफन्तले बाहिर गरिएको एक्सरे रिपोर्ट लिएर आएका थिए । तर यसले मुल नसा भेटे नभेटेको देखिन्छ । यसका लागि तुरुन्त सिआर्म मेसिनबाट कुन पोजिसनमा कति गाडिएको छ भन्ने हेरियो । सिआमबाट हड्डीको संरचनामा क्षति पुगे नपुगेको हेरिएको थियो ।
सिटी एन्ओिग्राम वा एमआरआई एन्जिओग्राम गरेपछि मात्र मस्तिष्कमा आपूर्ति गर्ने रगतको नलीमा क्षति भएनभएको देखिन्छ । तर बिरामीको गर्दनमा चक्कु नै धसिएको र चक्कुले धेरै आर्टिफ्याक्ट निकाल्ने भएकाले सिटी एन्जिओग्रामजस्तो उच्च अनुसन्धान गर्नबाट पनि हामी बञ्चित भयौं । टोलीका अरु साथीहरुसँग छलफल गर्दा अल्ट्रासाउन्ड गरेर मस्तिष्कमा रगत आपूर्ति गर्ने मुख्य नसा क्यारोटिड आर्टरी र चक्कु धसिएको भाग हेर्यौं ।
हतियार रोपिएको घटनालाई चिकित्सकीय भाषामा इम्पेल्मेन्ट इन्जुरी भनिन्छ । ‘मेरो जीवनको करियरमा यस प्रकारको बिरामी म्यानेज गरेको दोस्रो घटना हो । रोपिएको चक्कुले ब्लिडिङ हुन दिँदैन । रगतको नसा थुनेर राखेको हुन्छ । चक्कु रोपिएको अवस्थामा बाहिरबाट निकाल्नु हुँदैन । रोपिएको चिज बाहिर निकालेपछि ब्लिडिङ भएर तत्काल व्यक्तिको मृत्यु हुनसक्छ ।’—डा. श्रेष्ठ बताउनुहुन्छ ।
‘स्याल मार्न जाँदा बाघ मार्ने तयारीमा जानुपर्छ’ भनेजस्तै हो यो सर्जिकल विधा पनि । सर्जिकल प्लानिङ इनडेप्थ हुनुपर्छ । यो घटनामा भास्कुलर सर्जनदेखि नाक कान घाँटीको डाक्टरलगायतका सबैको टिम खडा थियो । शल्यक्रिया गर्दा कम्प्लिकेसन पनि आउनसक्थ्यो ।
यस्तो घटनामा होसियार र सावधान अपनाउन नसकेको अवस्थामा चक्कु निकाल्ने क्रममा त्यसले वरिपरिका भागहरु पनि काट्दै आउँछ । यो आँखाले प्रत्यक्ष देखिँदैन । यसरी रोपिएका चिजहरु विशेषज्ञको परामर्श लिएर मात्र निकाल्नुपर्छ । अन्यथा बिरामीको मृत्युसमेत हुनसक्छ ।
‘अहिलेसम्मको अनुभव प्रयोग गरेर मस्तिष्कमा रगत आपूर्ति गर्ने मुख्य नसालाई सुरक्षित साथ छुट्यायौं र चक्कुलाई बिस्तारै निकाल्न सफल भयौं ।’—उपचारमा संलग्न न्युरो सर्जन डा. शिखर श्रेष्ठलेभन्नुभयो—‘चक्कुको टुप्पोले मुल नसालाई छोएर बसेका कारण नसा बचाउनु पनि चुनौति थियो । यसरी बिरामी बचाउन सफल भएकोमा निकै खुशी भएँ । यो मेरो लागि दशैंको उपहार जस्तै महसुस भयो ।’
यो घटनामा बिरामीले राम्रोसँग सास फेरेको छ कि छैन ? थुक निल्न गाह«ो छ कि छैन ? बिरामीको चेतनाको स्तर कस्तो छ ? बिरामी हेमोडाइनामिकल्ली स्टेबल छ कि छैन ? अर्थात बिरामीको रक्तचापदेखि मुटुको पल्स सही छ कि छैन भन्ने हो । त्यही अनुसार सर्जरीको योजना बनाउनुपर्छ ।
अस्पतालका न्युरो सर्जन डा.शिखर श्रेष्ठको सक्रियतामा डा.सन्ध्या पौडेल, डा.सुरेश सापकोटा र डा.विभूषण कालु श्रेष्ठलगायतका चिकित्सक टीममा हुनुहुन्थ्यो । यो सफलताले घाइते र घाइतेका आफन्त मात्र नभई उपचारमा संलग्न चिकित्सक र न्युरो हस्पिटल प्रशासनलाईसमेत खुशी तुल्यायो ।
पीडित वलीका अनुसार, उनी साथीभाइसँग मेला नजिकैको पसलमा बसिरहेको थिए । पसल बाहिर केटाहरु आएर बियरको बोतल फुटाउन थाले । ‘मेरो भाइले ‘यसरी बोतल नफुटाउनु, यसको टुक्राले खुट्टा काट्छ’ भन्दा उल्टै उनीहरुले भाइमाथि हातपात गर्न थाले । त्यसपछि म छुट्याउन गएँ, छुट्याउने क्रममा मेरो ज्वाँइ पर्ने रमेश खड्का लगायतका व्यक्तिले पछाडिबाट मेरो गर्दनमा चक्कु हाने र उनीहरु भागे’—वलीले घटनाको विवरण सुनाउँदै भन्नुभयो ।
‘चक्कु हानेपनि म बेहोस भइनँ । उनीहरुले फुटेको बियरको बोतल पनि प्रहार गरेकाले मेरो शरीरको अन्य भागमा पनि चोट लागेको थियो । घटना पछि मलाई मामा र ज्वाइँले बजारसम्म बाइकमा ल्याउनुभयो । त्यसपछि सार्वजनिक यातायातमा कोहलपुर सम्म दाइहरुले ल्याउनुभयो ।’— वलीले भन्नुभयो—त्यहाँ उपचार नहुने भएपछि नेपालगञ्जबाट हवाइजहाजबाट काठमाडौँ ल्याउनुभयो । अहिले म बाँचे । मेरो ज्यान बचाइदिनुभएकोमा न्युरो हस्पिटल र यहाँ काम गर्ने डाक्टर साबहरुप्रति निकै खुशी छु ।’

प्रतिक्रिया दिनुहोस्