Logo
|
Thursday 28th March 2024
Logo

epaper

ढाडको बाथबाट युवाहरु बढी पीडित



नेपालमा करिब ४० लाख जनसंख्या कुनै न कुनै बाथरोगबाट पीडित भएको अनुमान गरिएको छ । अमेरिकन कलेज अफ रिउमेटोलोजीकाका अनुसार, हरेक देशमा कुल जनसंख्याको १० प्रतिशतमा बाथ रोगको समस्या हुने भन्ने तथ्यांकलाई आधार मान्दा नेपालमा पनि ४० लाख जनसंख्या कुनै न कुनै बाथ रोगबाट पीडित हुनसक्ने अनुमान गरिएको हो । यसमध्ये करिब १ देखि २ प्रतिशतलाई ढाडको बाथ हुने गरेको छ । शुरुको अवस्थामा समस्या पहिचान गरी सही औषधोपचार हुन सकेमा ढाडको बाथबाट हुनसक्ने सम्भावित खतरा न्युनिकरण गर्न सकिने विज्ञहरुले बताएका छन् ।

ढाडको बाथलाई एन्कोलाइजिङ स्पोन्डिलाइटिस भनिन्छ । वल्र्ड एंकोलाईजिङ स्पोन्डिलाइटिस दिवसका अवसरमा नेशनल बाथ रोग सेन्टरले राजधानीमा आयोजना गरेको जनचेतनामुलक कार्यक्रममा भारतको मेदान्ता हस्पिटलबाट आउनुभएका सिनियर डाइरेक्टर एण्ड हेड अफ र्युमाटोलोजी एण्ड क्लिनिकल इम्युनोलोजी, मेदान्ता बोन एण्ड जोइन्ट इन्स्टिच्युट, मेदान्ता द मेडिसिटी गुणगाउँकी वरिष्ठ बाथरोग विशेषज्ञ डा. राजीभा गुप्ताले समयमा नै ढाडको बाथ पहिचान गरी उपचार गरेमा यसलाई नियन्त्रणमा राख्न सकिने बताउनुभयो ।

हरेक वर्ष मे ४ लाई वल्र्ड एकोलाइजिङ स्पोन्डिलाइटिस दिवसका रुपमा नेपाललगायत विश्वभर मनाउदै आएको छ । यो रोग लागेमा बिहानीपख मेरुदण्ड दुख्ने, अरठ्ठ हुने र बिस्तारै बांगिदै जाने समस्या देखिन्छ । यति मात्र नभई हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने, बिहान अरठ्ठो हुने, आँखा बारम्बार रातो भएर दुख्ने, कुर्कुच्चाको मुनि वा पछाडि दुख्ने, छाला, पेटमा समस्यालगायतका लक्षण देखिने नेशनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. बिनित बैद्यले बताउनुभयो ।

ढाडको बाथको पहिचान गरी समयमा उपचार नभएमा मेरुदण्ड र जोर्नीहरु बाङ्गीने, जोर्नीहरु दुख्ने, मुटुको भल्बमा समस्या,फोक्सोमा जाली पर्नेका साथै मिर्गौलामा समेत जटिल समस्या भएर मानिसको ज्यानसमेत जानसक्ने बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीको भनाइ छ ।

खासगरी ढाडको बाथ प्राय ४५ वर्ष मुनिका पुरुषहरुमा बढी पाइन्छ । यो उमेरका व्यक्तिहरु उत्पादनशील वर्गमा पर्दछन् । त्यसैले उनीहरुले बाथको शुरुवातीको लक्षण पहिचान गरी सम्बन्धित विशेषज्ञ चिकित्सकहरुको भरपर्दो उपचार सेवा प्राप्त गर्न जरुरी हुन्छ । जतिसक्दो चाँडो उपचार हुनसक्यो त्यति नै उनीहरुले सक्रिय जीवन जीउन र आफ्नो कार्यलाई निरन्तरता दिन सक्छन् । यसका साथै धेरै महँगो औषधि सेवन गर्नुपर्ने समस्याबाट पनि केही हदसम्म छुटकारा मिल्छ । यसप्रति हामी सबैको ध्यान पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्