Logo
|
Saturday 20th April 2024
Logo

epaper

हिन्दू महिलाहरुको संस्कार तीजको ब्रतः दर, भ्रम र खानपानको आवश्यकता

ब्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो तर आफूलाई रोग भएनभएको ख्याल गरेर मात्र ब्रत बस्ने निर्णय किन नगर्ने



मीरा शाह, आहार तथा पोषण विशेषज्ञ, कीर्तिपुर बर्न तथा क्लेफ्ट अस्पताल

खासगरी हिन्दू धर्मावलम्बी महिलाहरुमा तीजले विशेष महत्व राख्छ । तीजको ब्रत लिने प्रचलन सनातन युगदेखि चलिआएको संस्कार हो । खासगरी यो दिन हिन्दू महिलाहरू पतिको लामो आयु, सु—स्वास्थ्य एवं सौभाग्यताको कामनासहित निराहार ब्रत बस्छन् । यो एउटा पबित्र ब्रत हो । भाद्र महिनाको शुक्लपक्ष तृतीया तिथीलाई हरितालिका तीजका रुपमा मनाउने गरिन्छ ।
तीजको अघिल्लो दिन दर खाने चलन छ । तर अहिले आधुनिकताको होडबाजीमा महिना दिन अघिदेखि नै दरको पार्टी गर्ने प्रचलन मौलाएको छ । यद्यपी आधुनिकताको होडबाजीमा हामी आफ्नो संस्कृति र सभ्यतालाई बिर्सिरहेका छौं । यो राम्रो होइन ।
हिन्दू परम्पराअनुसार, छोरी, चेलीलगायत परिवारका सबै सदस्य सँगै बसेर दरका रुपमा खीर मिठाई, फलफूललगायतका मिष्ठान्न भोजन गर्ने प्रचलन छ । गुलियोलगायतका शक्तिबर्धक खानाले भोलिपल्ट दिनभर इनर्जीको काम गर्दछ । प्यास लाग्दैन र शारीरिक रुपमा फूर्तिलो महशुस गराउँछ ।
तर अहिले दर खाने चलन फरक भइसकेको छ । चिल्लो, तारेको माछा मासु, पुरी, गरिस्था भोजन गर्ने गरिन्छ । यहाँसम्म कि कतिपय व्यक्तिहरु मदिरा पिउन सम्म पनि पछि हटेको पाइँदैन । महिना दिन अघिदेखि नै पैसाको होडबाजीमा गहना, लुगालगायत बिलासिलताका बस्तुहरु प्रयोगमा देखासिकी गरेको पाइन्छ ।
ब्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो हो । तर ब्रत बस्दा आफ्नो शारीरिक अस्वस्थताको पनि ख्याल गर्नुपर्छ । आफूलाई रोग भएनभएको ख्याल गरेर मात्र ब्रत बस्ने निर्णय गर्नुपर्छ ।
ब्रत बस्दाका फाइदा
ब्रत बस्दा शरीरमा चिनीको मात्रा सन्तुलनमा बस्छ र इन्सुलिनको कार्यमा सहयोग पुर्याउन मद्दत पुग्छ । तर आफ्नो शारीरिक अवस्था हेरेर पानी, झोल पदार्थ र फलफूलको सेवन गर्नुपर्छ ।
ब्रत बस्नाले शारीरिक कमजोरी हटाई, विभिन्न संक्रमण हुनबाट बचाउन मद्धत गर्छ । यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
मुटु तथा उच्च रक्तचाप सन्तुलनमा ल्याउँछ । खराब कोलेस्टेरोल, ट्राइग्लिसेराइड आदिको स्तर ठीक राख्छ ।
मस्तिष्क एवं न्युरो डिजेनेरेसन रोग तथा जवानीको उन्मादलाई सम्यमित बनाउँछ र दिमागका रक्तकोशिकाहरुको कार्यलाई सामान्य अवस्थामा राख्न मद्धत गर्छ ।
मोटोपना घटाउन र तौल नियन्त्रणमा मद्दत गर्छ । साथै हर्मोनको कार्य सामान्य अवस्थामा राख्न सहायक भूमिका खेल्छ । ब्रत बस्ने व्यक्तिको आयु लामो हुनुका साथै बुढेसकालमा अल्जाइमर्सलगायतका रोग हुनबाट जोगाउन मद्धत गर्छ ।
यसको बेफाइदाहरु
मधुमेह, पेट पोल्ने, मिर्गौलाको समस्या, अस्पताल भर्ना भएका बिरामी र बुढी आमाहरुले खाली पेट बस्न राम्रो हुँदैन । ब्लड प्रेसर लो भएका महिलाहरुलाई ब्रत बस्दा फलफूल, जुस्, दूध, दही, सर्बत, पानी, आदिको सेवन गर्न दिनुपर्छ । शारीरिक अवस्था राम्रो नभएका महिलाहरुले उपवास बसेको कुनै अर्थ हुँदैन । अन्य जोखिम सृजना हुन्छ । तीजको दिन बिहान आफ्नो नित्य पूजा सकेर केही खाने, अनि रमाइलोका लागि नाचगान गर्नुपर्छ । केही नखानेहरु ब्रत बसेको दिन ढलेका उदाहरण पनि देख्न पाइन्छ । त्यसैले यसप्रति ख्याल गर्नुपर्छ । फलफूलमा फ्रुक्टोज, सुक्रोज, ग्लुकोजलगायतका चिनी पाइन्छ । यिनीहरुले एकै किसिमका शक्ति प्रदान गर्दछन् । यस्ता चिनी शरीरभित्र प्रवेश गरेपछि इनर्जी उत्पादन भएर शक्ति प्राप्त हुन्छ । दिनभर भोकै बसेर आफ्नो शरीरलाई कष्ट दिनुहुँदैन । शरीर स्वस्थ नभएको अवस्थामा ब्रतको कुनै अर्थ रहँदैन । हामी बाँच्न भोजन गर्छौं तर भोजनका लागि पक्कै बाँच्दैनौं । ब्रतको दिन मिश्री काढाको सेबन गर्न सकिन्छ । यसले शरीरमा शक्ति प्रदान गर्दछ र तीर्खा, प्यास मेटाउन मद्दत गर्दछ ।
अघिल्लो दिन दर खाने दिनमा कहिल्यै पनि मासु जस्ता खानेकुरा नखानुहोला । पचाउन गारो हुनुका साथै धेरै तीर्खा लाग्दछ । यसले अन्य समस्याको जोखिम बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्