Logo
|
Wednesday 24th April 2024
Logo

epaper

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’ पुस्तक बजारमा, कतै हाँसेर हुरुक्क भइने त कतै भावुक

विचलित भएका मान्छेका मनलाई सही ट्रयाकमा ल्याउने क्रममा आफूले प्राप्त गरेका खुशी मात्र नभई असफलताहरुलाई पनि कत्ति नधकाइ प्रस्तुत



जनस्वास्थ्य सरोकार, भाद्र २८ गते, काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’ नामक एक मानसिक चिकित्सकको भोगाइहरुको सँगालो पुस्तक बजारमा आएको छ । पुतलीसडकस्थित मञ्जरी पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो पुस्तक डा. शर्माले चार दशक लामो आफ्नो सेवा कालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरुको सँगालो हो । यो पुस्तकमा डा. शर्माले विचलित भएका मान्छेका मनलाई सही ट्रयाकमा ल्याउने क्रममा आफूले प्राप्त गरेका खुशी मात्र नभई असफलताहरुलाई पनि कत्ति नधकाइ प्रस्तुत गर्नुभएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा डा. शर्माले मनोचिकित्सा पेशाको उत्तरार्धमा आफूले देखेका र अनुभव गरेका कुरालाई किताबको माध्यमबाट आम सर्वसाधारण समक्ष ल्याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीले मुटु उपचार गराउने करिब ५० प्रतिशत व्यक्तिमा मनोचिकित्सा समस्या हुने भएकाले यो पुस्तक त्यस्ता व्यक्तिका लागि लाभदायी हुने बताउनुभयो । सो अवसरमा वरिष्ठ जनस्वास्थ्यविद् डा. रबिन्द्र समिरले हरेक घरघरमा यो पुस्तक हुनुपर्ने बताउँदै नेपालको मानसिक स्वास्थ्यबारे यसले इन्साइक्लोपेडियाको काम गर्नसक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा डा. शर्माकी धर्मपत्ति वरिष्ठ पोषणविद् डा. अरुणा उप्रेतिले यो पुस्तक प्रकाशनमा ल्याउन डा. शर्मालाई निकै प्रेरणा र साथ दिएको भन्दै आज बजारमा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । यसैगरी वरिष्ठ स्वास्थ्य पत्रकार एवं ‘मान्छेको मन’ पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक सम्पादन गर्न २ वर्ष लागेको र डा. शर्माको करिब २५ प्रतिशत अनुभव मात्र सँगाल्न सफल भएको बताउनुभयो ।
सो अवसरमा मञ्जरी पब्लिकेसन प्रा.लि.का अध्यक्ष लक्ष्मण गाम्नांगेले भन्नुभयो— ‘यस पुस्तकमा उल्लेखित डा. शर्माका सहकर्मी चिकित्सकहरुका कतिपय सन्दर्भले तपाईंलाई चकित बनाउने छ । पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाई हाँसेर हुरुक्क हुनुहुनेछ, कतै भावुक बन्नुहुनेछ । भाषा रसिलो र खँदिलो छ ।’ ३५० पृष्ठको सो पुस्तकको बजार मूल्य ४ सय ८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्