Logo
|
Friday 19th April 2024
Logo

epaper

नर्भिक अस्पताललाई तौल कम गर्ने बेरियाट्रिक शल्यक्रियामा सफलता, के हो बेरियाट्रिक शल्यक्रिया ?



 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीले अस्वाभाविक मोटोपन कम गर्ने जटिल बेरियाट्रिक शल्यक्रिया सफलतापुर्वक गरेको छ ।

जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकहरुको टोलीले अस्वाभाविक मोटोपनका कारण उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप एप्निया रोगले पीडित ६५ बर्षिया अञ्जु बुढाथोकीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

इमाडोल निवासी बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित हुनुहुन्थ्यो । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई डिह्डुल गर्न गाह्रो हुने, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने, अलिकति हिड्दा पनि स्वाँ स्वाँ हुने, राति निन्द्रा नपर्ने र राति तारान्तार पिसाव फेर्न गइरहनुपर्ने समस्या थियो ।

बुढाथोकीले विभिन्न हस्पिटलहरुमा जाँच गराउँदा पनि समस्या कम नभएपछि केहि समय अघि नर्भिकको जनरल, जि.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आउनुभएको थियो ।
‘नर्भिक अस्पतालका वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँग परामर्श गर्दा उहाँले शल्यक्रिया गर्नुपर्ने प्रतिक्रिया दिनुभयो । मलाई शुरुमा निर्णय लिन निकै गाह्रो भएको थियो ।’ बुढाथोकीले भन्नुभयो । ‘तर पछि शल्यक्रियाका लागि तयार भएँ ।’

शल्यक्रिया पूर्व हस्पिटलमा भर्ना हुँदा उहाँको तौल ९० के.जी. थियो । अहिले तौल ८५ के.जी.मा झरिसकेको छ । साथै वि.एम.आई. ४१ मात्र रहेको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश चौधरीले बताउनुभयो । उहाँले स्वदेशमै सर्वसुभल तथा विश्वसनीय उपचार सेवा उपलब्ध हुने भएकाले यस्ता उपचारका अब विदेश जान नपर्ने बताउनुभयो ।

अस्पतालका वरिष्ठ जनरल, जी.आई.एण्ड ल्यापारोस्कोपिक सर्जन प्रा.डा. मुकुन्दराज जोशीको नेतृत्वमा डा. सञ्जय पौड्याल, डा. टंक प्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिष्ट डा. सुरेश लामिछाने सहितको टोलीको संलग्नता थियो ।

के हो बेरियाट्रिक शल्यक्रिया ?
बेरियाट्रिक शल्यक्रियालाई तौल कम गर्ने शल्यक्रिया वा मेटावोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ । ज्यादा मोटोपन भएका जसको बि.एम.आई. ४०/के.जी. वा ३५ के.जी. भन्दा बढी छ, मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप एप्निया, डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान जस्ता समस्या भएका बिरामीहरुलाइै बेरियाट्रिक शल्यक्रिया गरिन्छ ।

फाइदा
बेरियाट्रिक शल्यक्रियाले शारिरीक तौल कम गर्ने मात्र नभएर मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप एप्निया, डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान जस्ता समस्याको न्यूनीकरण गर्दछ ।

के हो त ल्याप्रोस्कोपिक स्लिभ ग्याष्ट्रेक्टोमी शल्यक्रिया?
स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्दछ । यस प्रक्रियामा आमाशयको करिव ७५ प्रतिशत भाग हटाइन्छ । आमाशयलाई खाना कम अटोस भनेर नलीआकारमा परिवर्तन गरिन्छ ।

नर्भिक अस्पतालको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्याप्रोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट/आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु नियमित रुपमा गर्दै आएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्