वीर अस्पतालको शल्यक्रिया कक्ष । २०२० सालको कुरा हुनुपर्छ एउटा शल्यक्रिया गर्ने टेबलमा १० बर्षीय बालक अचेत अवस्थामा सुतिरहेको थियो । उसको टाउकोको केश खौरिएर चिल्लो पारिएको थियो । एनेस्थेटिस्ट डाक्टर साहेबहरु त्यस बालकलाई अप्रेशनका लागि तयार पार्नमा व्यस्त थिए । त्यस बालकको दिमागमा ट्यूमर थियो । यस्तो सानो बालकको दिमागको ट्यूमर पहिलोपलट शल्यक्रिया हुन गइरहेको थियो ।
त्यहि शल्यक्रिया कक्षको अर्को टेबलमा एक व्यक्ति पल्टिरहेको थियो । उनको पाखुराको नसामा एक मोटो सियो घोपेको थियो । त्यो सियोमा एउटा ट्युव जोडिएको थियो । जुन भूइँमा रगत जम्मा गर्ने सिसीमा राखिएको थियो । त्यो सिसीमा रगत जम्मा हुँदै थियो । त्यस व्यक्तिको मुहारमा मलिन मुस्कान थियो, सायद कसैलाई मद्धत गर्न पाएकोमा होला । त्यस व्यक्ति दयाबीर कंसाकार हुनुहुन्थ्यो ।
दयावीर कंसाकारको नेतृत्वमा परोपकार संस्था स्थापना भएपछि रगतको व्यवस्था गर्न हामीलाई धेरै सजिलो भयो । यस संस्थाको अफिस महेन्द्र वहालमा थियो । त्यहाँ स्वयंसेवी रक्तदाताहरुको फोन नम्वर हुन्थ्यो । बिरामीलाई कुन समुहको रगत चाहियो हामी खबर गथ्र्यौं । परोपकारबाट सोही अनुसार व्यक्ति तुरुन्त पठाइदिन्थे । दिन होस् वा रात, उहाँहरु केही मिनेटमा अस्पताल आइपुग्नुहुन्थ्यो । हुन त त्यसबेला रगत चाहिएमा व्यवसायिक रक्तदाताहरु पनि भेटिन्थे, धेरैजसो भरियाहरु हुन्थे । सय रुपैँया लिएर रगत दिन्थे ।
त्यसबेला ब्लड बैँक त थिएन, तर दयाबीर कंसाकार र उहाँका साथीहरु खासगरी जेठा साहु, भाइ साहु, ध्रुवलाल जोशीहरु चल्ती फिर्ती ब्लड बैँक नै हुनुहुन्थ्यो ।
त्यो शल्यक्रिया सफल त भएन, त्यस बच्चालाई हामीले गुमाउनुप¥यो, तर दयाबीरजीले रगत दिइरहनुभएको तस्वीर मेरो मानसपटलमा सधँैका लागि रहिरह्यो । रगत दान साँच्चै जीवनदान नै हो, मानिसहरुले गरेका रक्तदानबाट धेरैले जीवनदान पाएका छन् । तर रगत दिँदा अलि तलमाथि परे, अलिकति पनि हेलचेक्र्याइँ गरे ज्यान पनि जान सक्छ ।मानिसहरुको चारवटा रक्त समूह हुन्छ, ए, बी, एबी र ओ । रगत दिँदा ग्रुप मिल्नुपर्छ अन्यथा प्रतिक्रिया भई ज्यान जोखिममा पर्नसक्छ । यस्तै एउटा घटना भएको पनि छ । एक ताका मन्त्रालयका सचिवको ससुराको शल्यक्रिया गर्नुपर्ने थियो । उहाँ त्यस्तै ६० वर्षको हुनुहुन्थ्यो । आमाशयमा घाउ भएर धेरै रगत बगिसकेको थियो । त्यसबेला पेटमा क्यामेरा राखेर हेर्ने साधन थिएन । हामीले बेरियम एक्स–रे गरेर रोग पहिचान गथ्र्यौँ । यसमा बेरियमको झोल खुवाइन्थ्यो, जुन एक्स–रे बाट देख्न सकिन्थ्यो । त्यो बेरियम पेटको अल्सरमा बसिदिन्थ्यो र एक्स–रेमा सानो खाल्टोजस्तो देखिन्थ्यो । त्यसरी रोग पत्ता लागेपछि हामीले उहाँलाई शल्यक्रियाका लागि तयार पा¥र्याँै । रगत धेरै बगिसकेकाले अपरेशन गर्नुअघि नै रगत दिन जरुरी थियो । हामीले व्यवसायिक रक्तदाताको व्यवस्था ग¥र्यौँ । ल्याबमा जहाँ रक्तदाताबाट रगत संकलन गरिन्थ्यो, त्यहाँ ठीक त्यहिबेला अर्को बिरामीको अपरेशनका लागि पनि रक्तदाता बोलाइएको रहेछ । संयोगवश दुवैको नाम रामबहादुर परेछ । यो कुरा कसैलाई भान नै भएन । रामबहादुरभित्र आउनुहोस् भनी बोलाए । रामबहादुर भित्र गए र रगत दिए । हामीलाई जुन रगत ल्यावबाट पठाइयो त्यही रगत बिरामीलाई चढायौँ । म राति वार्डमा जाँदा त बिरामीलाई रियाक्सन भइसकेको रहेछ । बचाउन धेरै प्रयास गरियो । तर अन्त्यमा उनको निधन भयो । बाँकी भएको रगत लिएर ल्याब गएर पुनः जाँच्न लगाएँ । बिरामी सँग रगतको ग्रुप नमिल्ने रहेछ । बुझ्दै जाँदा दुई रामबहादुरको किस्सा थाहा भयो र ल्याबमा काम गर्नेहरुलाई सचेत गरायौँ । एउटा सानो गल्तीले ठूलो संकट आइप¥यो । मान्छेको शरीरमा लागेको गोली निकाल्न सकिन्छ । तर रगत एकपटक दिएपछि निकाल्न सकिँदैन । त्यो घटना हाम्रा लागि पाठ भयो । तर त्यस बिरामी र परिवारका लागि त अप्रत्यासित अन्त्य भयो । त्यसपश्चात् हामीले रगत लिँदा दिँदा बढी होस् गर्ने ग¥र्याँै । एउटा संयोग पर्दा हामीले बिरामी गुमाउनुप¥र्यो भने त्यस्तै एउटा संयोगले बिरामी बाँचेको पनि छ । एकजना तिब्बती महिलाको प्रसंङ्ग । ती महिला शान्तभवन अस्पतालमा भर्ना भएर बसेकी रहिछन् । उनको दुवै गोडा नचल्ने भएको रहेछ । शान्त भवनबाट मलाई फोन आयो । एउटा बिरामीको अपरेशन गर्नुपर्ने । वीर अस्पताल पठाइ दिन आग्रह गरेँ मैले । बीरमा माइलोग्राम गरी हेर्दा उहाँको मेरुदण्डमा ट्यूमर देखियो । मैले अपरेशनको तयारी गरी शल्यक्रिया कक्षमा बिरामीको पहिलेको सबै रिपोर्ट नियाल्ने क्रममा मेरो ध्यान अनयासै रगतको ग्रुपको रिपोर्टले तान्यो । कहीँ कुनै अदृश्य शक्ति र अव्यक्त अन्तर प्रेरणाले हो, रक्त परीक्षणको रिपोर्टमा मलाई शंका लाग्यो । तुरुन्त ब्लड टेक्नोलोजिस्ट राधा देवीलाई बोलाई रगत जाँच गर्न लगाएँ । नभन्दै पहिलेको रिपोर्टमा रगतको ग्रुप नै गल्ती लेखिएको रहेछ । यदि पहिलेकै ग्रुपको रगत दिइएको भए मृत्यु निश्चित थियो । मेरो मनमा आकस्मिक रुपमा पलाएको शंकाले ज्यान बच्यो । अपरेसन पनि सफल भयो र उहाँ हिड्न सक्ने पनि हुनुभयो । आज पनि सोच्दा त्यो शंका मेरो मनमा किन पलायो ? यसको जवाफ म सँग छैन । सायद नियति भनेको यहि नै हो । यसरी हामी रक्तदातालाई अगाडि उभ्याई अपरेसन गथ्र्यौं । २०२३ सालमा नेपालमा पहिलो पटक ब्लड बैँक स्थापना भयो लक्ष्मी ब्लड बैँक । केशर शमशेर राणाको पहिलो श्रीमतीको निधनपश्चात् उहाँको छोरीले एउटा रेफ्रीजेरेटर र रु १०,०००।– नगद दान गरेर सुरु गरेकी थिइन् । यो बैँकले आजको ट्रमा सेन्टर भएको ठाउँमा एउटा सानो भवनमा जन्म लियो र हाम्रो जीवन धेरै सजिलो भयो । डा. धनन्जय रिमाल बेलायतबाट यसै सम्बन्धि तालिम प्राप्त गरी फर्कनुभएपछि यसमा अझ बढी उर्जा मिल्यो र यसमा राधादेवी श्रेष्ठ तथा वासुदेव पौडेलले प्राविधिकको तालिम लिएर फर्कनुभएपछि यस प्रक्रियामा धेरै सघाउनुभयो । पछि ब्लड बैँकको जिम्मा नेपाल रेडक्रसलाई सुम्पिइयो । (डा. गोँगल नेपालको पहिलो मस्तिष्क र मुटु खोल्ने सर्जन हुनुहुन्छ । हाल उहाँ बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ । यो लेख हामीले ‘एक सर्जनको गाथा’ पुस्तकबाट लिइएको हो । )
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ

