Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर परीक्षण तालिम



जनस्वास्थ्य सरोकार, बिराटनगर । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिनाको रुपमा मनाईदै आएको छ । यसै सन्दर्भमा बिराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले प्रदेश नम्बर १ का मोरङ्ग र सुनसरी जिल्लाका महिला स्वास्थ्य स्वम्यसेविकाहरुका लागि एकदिने निःशुल्क स्तन क्यान्सर परीक्षणका साथै उनीहरुको सीप अभिवृद्धिको लागि स्वयम् स्तन परीक्षण बिधि सम्बन्धि तालिमको आयोजना गरेको छ । यस तालिम कार्यक्रममा ३ सय जना महिला स्वास्थ्य स्वयमसेविका लगायत, चिकित्सक, नर्स, फ्याकल्टी, चिकित्सा बिद्यार्थी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका कम्युनिटी फिजिसियन असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुलीले स्तन क्यान्सरको अहिलेको अवस्था, सम्भावित कारणहरु, लक्षण तथा चिन्हहरु र हुनसक्ने जोखिमको बारेमा तालिममा सहजीकरण गर्नुभयो । यसैगरी वरिष्ठ प्याथोलोजिस्ट असोसिएट प्रोफेसर डा. सन्तोष उपाध्याय काफ्लेले स्तन क्यान्सरको जाँच गर्ने बिभिन्न बिधिहरुको बारेमा स्पष्ट पार्नुभयो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डा. सुलभ सापकोटाले क्यान्सरको उपचार बिधि, स्वयम् स्तन परीक्षण विधिको बारेमा प्रष्ट पार्नुभयो ।

स्तन क्यान्सर समयमै पहिचान गर्न सकेमा यसबाट हुनसक्ने मृत्युलाई न्यून गर्न सकिन्छ । उपचार पद्धतिमा भएको नविनतम उपलब्धि र उपचार उपलब्धता भए पनि महिलाहरु उपचार केन्द्र सम्म नआउनु स्तन क्यान्सर रोकथाम तथा उपचारमा एउटा चुनौति देखिएको छ । कैयौ स्तन क्यान्सर भएका महिलाहरु बिभिन्न कारणले अझै पनि समुदायमा रहेकाले स्तन क्यान्सर उपचारका लागि खुलेर बाहिर आउन डा. पराजुलीले आव्हान गर्नुभयो ।
विराट मेडिकल कलेज शिक्षण अस्पताले अब यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै यस क्षेत्रमा जनचेतना बढाउने काममा अझ शसक्त हुने जानकारी अस्पतालका प्रशासक पदम विनाडीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्