Logo
|
Friday 29th March 2024
Logo

epaper

जाडो महिनामा निमोनियाबाट कसरी बच्ने ?

सन्दर्भः विश्व निमोनिया दिवस



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो समय सुरु हुँदै छ । यो समयमा धेरै ब्यक्ति निमोनियाबाट पीडिट हुने गर्छन् । अझ बिरामी, बालबालिका र बृद्धबृद्धाहरुका लागि निमोनिया अभिषाप नै बन्ने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सन् २०१७ मा निमोनियाका कारण ८ लाख ८ हजार ६ सय ९४ जना बालबालिकाहरुले ज्यान गुमाएका थिए । निमोनियाका कारण पाँच वर्ष भन्दा कम उमेरका १५ प्रतिशत बालबालिकाहरुको ज्यान जाने गरेको छ । नेपालमा गत आव २०७५/७६ मा जन्मेदेखि पाँच बर्ष मुनिका करिब १ हजार २ सय बालबालिकाको मृत्युमध्ये श्वासप्रश्वास सम्वन्धी (एआरआई) रोगका कारण २ सय ३६ जनाको मृत्यु भएको थियो । यसबाट पनि ५ बर्ष मुनिका बालबालिकाहरुमा करीब २० प्रतिशत मृत्यु निमोनिया र श्वासप्रश्वाससम्वन्धी रोगबाट भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकोे तथ्यांकले देखाउँछ ।
यसै सन्दर्भमा ओम अस्पतालका वरिष्ठ कन्सल्टेन्ट पल्मोनोलोजिष्ट प्रा.डा. सुबोध सागर ढकालले निमोनिया बारे यसरी सचेत गराउँदै हुनुहुन्छ । उहाँको आफ्नै भाषामा ।
निमोनिया भनेको फोक्सोको संक्रमण हो । जाडो मौसम निमोनियाको संक्रमण झन बढी हुन्छ । नोभेम्बर र डिसेम्बर महिनालाई निमोनिया भाइरस बढ्ने उत्तम महिना  मानिन्छ । अब इन्फ्लुुएन्जा भाइरस र स्वाइन फ्लु देखिने समय सुरु भइसकेको छ । त्यसकारण रोगप्रतिरोधात्मक शक्ति कमजोर भएका ६५ वर्ष भन्दा माथिका बृद्धबृद्धाहरु, मधुमेह रोगी, दम रोगी, मिर्गौला रोगी र बालबालिकाहरुलाई निमोनिया संक्रमणको जोखिम बढी हुने गर्दछ । फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् । जसले गर्दा श्वासप्रश्वास समस्या हुन्छ । निमोनिया धेरैजसो सुक्ष्म किटाणूहरु जस्तै, विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउँदछ । स्ट्रेप्टोकोकस् र माइक्लोप्लाज्मा ब्याक्टेरियल ब्याक्टेरियल संक्रमण हो । हेमोफिलिया इन्फ्लुएन्जा र स्ट्रेप्टोकोकल निमोनिया बालबालिका, वयस्क र बृद्धबृद्धा सबैलाई लाग्न सक्छ ।
लक्षण
निमोनिया भएका धेरैलाई ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । कुनै अवस्थामा लक्षण फरक देखिन सक्छ । जस्तै, अटिपिकल निमोनिया हुँदा खोकी लाग्ने, पेट दुख्ने र झाडापखाला लाग्ने आदि हुन्छ । स्टेरोइड औषधि सेवन गरिरहेका मधुमेह र मिर्गौला रोगीको शरीरले ज्वरो निकाल्न सक्दैन् । त्यसकारण त्यस्ता बिरामीहरुलाई ज्वरो नआएपनि निमोनिया भएको हुन सक्छ । उनीहरुले ज्वरो आएको छैन भनेर बस्नुहुँदैन् ।

जटिल अवस्था
बिरामीले बेसुरको कुुरा गर्न थाल्नु, चाँडो सास फेर्नु, खान मन नगर्नु र रक्तचाप घट्नु आदि कडा निमोनियाका लक्षणहरु हुन् । यदि यस्ता लक्षण देखिएन् भने त्यस्ता निमोनियालाई सरल खालको निमोनिया मानिन्छ ।
उपचार
निमोनिया भएका बिरामी अस्पताल आइसकेपछि बिरामीको स्वास्थ्य स्थिति जाँच गर्न इस्कोरिङ जाँच गर्नुपर्छ । यसलाई कर्ब ६५ इस्कोरिङ भनिन्छ । यदी स्कोर ० आयो भने बिरामीलाई घरमै राखेर उपचार गर्न सकिन्छ । त्यस्तै स्कोर १ आयो भने वार्डमा राखेर उपचार गर्छौ । यदी स्कोर २ भन्दा माथि छ भने बिरामीलाई आइसियुमा राखिन्छ । कर्ब ६५ स्कोरिङ बढ्दै जाँदा बिरामीको मृत्युहुने सम्भावना पनि बढ्दै जान्छ । हरेक अस्पतालका डाक्टरले निमोनियाका बिरामीलाई कर्ब ६५ स्कोरिङ जाँच अनिवार्य गर्छन् ।
निमोनियाका बिरामीलाई एन्टिवायोटिक दिइन्छ । नवजात शिशुहरुलाई भने अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ । बालबालिकाले छिटो छिटो श्वास फेरेमा, कोखा हानेमा, झोल खाने कुरा खान नसकेमा, आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य झन झन बिग्रन सक्छ । त्यसैले तुरुन्त अस्पताल गएर उपचार सुरु गरिहल्नु पर्छ ।
कसरी बच्ने ?
निमोनियाबाट बच्नका लागि लागि भ्याक्सिन लगाउनुपर्छ । सि भ्याक्सिन, निमोककल भ्याक्सिन, निमोनिया भ्याक्सिन र इन्फ्लुएन्जा भ्याक्सिन आदि भ्याक्सिनहरु हुन्छन् । इन्फ्लुएन्जा भ्याक्सिन वर्षै पिच्छे लगाइन्छ । यस्ता भ्याक्सिनले रोग लाग्नबाट ३० प्रतिशत सम्म बचाउँछ । बिरामीले बाहिर निस्केर अरुको सम्पर्कमा आउनुहुँदैन । यसरी भेट्दा एकबाट अर्काेलाई रोग सजिलै सर्न सक्छ । शरीरलाई सधैँ न्यानो राख्नुपर्छ । बालबालिकाहरु निमोनियाको उच्च जोखिममा रहेका हुनाले उनीहरुलाई निमोनियाबाट जोगाउन बिशेष ध्यान दिनुपर्छ । नवजात शिशुहरुलाई आमाको दुध पर्यप्त मात्रामा खुवाउनुपर्छ । कुपोषणबाट जोगाउनु पर्छ । खोपहरु समयमा लगाउनुपर्छ । धुवाँ धुलो र प्रदुषणबाट जोगाउनु पर्छ । संक्रमित व्यक्तिहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुपर्छ । बालबालिकाहरुलाई रुघाखोकी र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परामर्ष तथा उपचारका लागि लैजानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा बालबालिकाहरुलाई खुवाउनु अघि राम्रोसँग हात धुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्