Logo
|
Thursday 18th April 2024
Logo

epaper

डा. ज्योतीन्द्रको पालामा

१ लाख ३० हजार पर्ने स्टेन्ट ६० हजारमा ! बाथ मुटुरोगीलाई निःशुल्क भल्भ प्रत्यारोपण, मासिक आम्दानी ७ करोडबाट बढेर १३ करोड रुपियाँ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटु सर्जन डा. ज्योतीन्द्र शर्मा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विगत १८ वर्षदेखि मुटु शल्य चिकित्सकको रुपमा कार्यरत हुनुहुन्छ । देशमा मुटु शल्य चिकित्साको विकास तथा विस्तारको लागि करिब ८ वर्ष शल्य चिकित्सा विभागको विभागीय प्रमुखको हैसियतमा ठूलो योगदान पुर्याउनुभएको छ । केन्द्रको शुरुको वर्षमा २ सय ३७ वटा शल्यक्रिया हुँदै आएकोमा अब वार्षिक १ हजार ८ सय शल्यक्रिया सम्पन्न हुन थालेका छन् ।
केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भएपछि डा. शर्माले ४ वर्षको अवधिमा केन्द्र तथा केन्द्रले प्रदान गर्ने सेवामा व्यापक सुधार तथा विस्तार गर्नुभएको छ । उहाँलाई २०७२ साल साउन २६ गते सरकारले केन्द्रको कार्यकारी निर्देशक नियुक्ति गरेको थियो बिरामीका लागि सेवा प्रवाह सस्तो तथा प्रभावकारी बनाउन उहाँले गरेका कार्यहरु निकै प्रसंशनीय छन् । उहाँले केन्द्रमा मुटुमा प्रत्यारोपण गरिने स्टेन्ट, पेशमेकर, डिभाइसलगायतका सामानको मूल्य घटाउन महत्वपूर्ण भूमिका निर्वाह गनुृभएको छ । एक लाख ३० हजार रुपियाँपर्ने मुटुमा प्रत्यारोपण गर्ने युएसए एफडिए प्रमाणित स्टेन्ट अब ६० हजारमा उपलब्ध हुन्छ । यसले बिरामीहरुलाई प्रत्यक्ष राहत मिलेको छ । बाथ मुटुरोगीहरुलाई भल्भ प्रत्यारोपण लगायतका सम्पूर्ण सेवा निःशुल्क शुरु गरिएको छ । गरीब असहाय बिरामीका लागि आकस्मिक सेवा निःशुल्क गर्न बजेट व्यवस्थापन गर्नुका साथै अत्याधुनिक इमर्जेन्सी तथा ओपिडी भवन निर्माण, नयाँ वार्डहरुको संचालन, भविष्यमा अस्पताललाई पेपरलेस बनाउन केन्द्रमा इन्टिग्रेटेड सफ्टवेयर सिस्टम जडान गरी कम्प्युटराइज्ड रिपोटिङ सिस्टम शुरु गरिएको छ । मुलुककै सबैभन्दा उच्च प्रविधिको एक मात्र अत्याधुनिक ६४० स्लाइसको सिटी स्क्यान जडान गरी सस्तो दरमा सेवा उपलब्ध गराइएको छ । राजधानीबाहिर जनकपुर अञ्चल अस्पताल हाताभित्र केन्द्रको शाखा विस्तार गरिएको छ भने नेपालगंजको भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब जडान गरी केन्द्रको प्राविधिक सहयोगमा सेवा सञ्चालनमा ल्याइएको छ । नयाँ क्याथ ल्याब मेसिन खरीदका साथै थुप्रै आन्तरिक सुधारका कामहरु भएका छन् । डा. शर्माको पालामा केन्द्रको मासिक आम्दानी ७ करोडबाट बढेर विगत ५ महिनादेखि १३ करोड रुपियाँ नाघेको छ ।
यसरी डा. शर्मा कार्यकारी निर्देशक हुँदा केन्द्रमा धेरै सुधार भएका छन् । केन्द्र सुधारका लागि उहाँले लिनुभएको सोच र भिजन लभगभ पूरा भएको छ । केन्द्रलाई प्रतिष्ठान बनाउन डा. शर्माले धेरै प्रयास गर्नुभएको थियो । तर कानुन परिवर्तन गर्नुपर्ने भएकाले यो सम्भव हुन सकेन ।
डा. शर्माले भन्नुभयो—‘मोटामोटी काम पूरा गरेपछि पद ओगटेर बस्न हुँदैन । नयाँ पुस्तामा जिम्मेवारी सुम्पिदै जानुपर्छ । नयाँ सोच र बिचार भएका व्यक्तिबाट केन्द्रलाई उचाइमा पुर्याउन अझ मद्धत पुग्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनःकार्यकारी निर्देशक सम्हाल्न गरेको आग्रह स्वीकारिनँ ।’ पदमा रहने व्यक्ति निःस्वार्थी हुनुपर्छ र संस्थाको हित सर्वोपरी ठान्नुपर्छ । सेवा सुविधा प्रभावकारी बनाउन मुख्य भूमिका निर्वाह गर्नुपर्छ । संस्थाका सबै कर्मचारीहरुसँग हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्