Logo
|
Thursday 28th March 2024
Logo

epaper

आँखा स्वास्थ्यमा जनशक्तिको विकास



जनस्वास्थ्य सरोकार,काठमाडौँ । नेपालमा आँखा उपचारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । हाल मुलुकमा ३०८ जना नेत्र विशेषज्ञ, ४७७ जना अप्टोमेट्रिक, ९५० नेत्र सहायक रहेका छन् । उहाँहरु विभिन्न निकायहरुबाट उत्पादन भएका जनशक्ति हुन् । यसबाट आँखाका बिरामीहरुले पाउने सेवा र सुविधा पनि उल्लेख्य मात्रामा बृद्धि भइरहेको छ । बिरामीहरुले रेटिना (आँखाको पर्दा), ग्लकोमा (जलबिन्दु), कर्निया ट्रान्सप्लान्ट (आँखाको नानी प्रत्यारोपण), आँखाको इन्फ्लामेसन, न्युरो अप्थाल्मोलोजी, आँखाको डेढोपन, अर्बिट एण्ड अकुलोप्लाष्टी, आँखाका ट्युमर, चोटपटकलगायतका आकस्मिक शल्यक्रिया एवं कुनै पनि विशेषज्ञ सेवाका लागि विदेश जानुपर्दैन ।
बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रमा मात्र बर्षेनी करिब १ लाख २५ हजारले आँखाको उपचार सेवा लिने गर्छन् । त्यसमध्ये करिब ६ हजारको शल्यक्रिया हुन्छ । आँखाका दक्ष जनशक्ति स्वदेशमा उत्पादन गर्ने, आँखा उपचारमा आत्मनिर्भर बनाउने र स्वास्थ्यको पहुँच दुर्गम क्षेत्रसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले केन्द्रले सन् १९८७ देखि अप्थाल्मोलोजीमा एमडी कोर्ष शुरु गर्यो । हालसम्म केन्द्रबाट १४२ जनाले अप्थाल्मोलोजीमा एमडी गरिसकेका छन् । भारत, श्रीलंका, बंगलादेश, भुटान, कम्बोडियाबाट अध्ययन गर्न आएका बिद्यार्थीहरुले आ—आफ्नो देशमा आँखा उपचारको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्रि.बि.शिक्षण अस्पतालमा सन् १९९८ मा शुरु गरिएको अप्टोमेट्रीको स्नातक तहको अध्ययन ९५ विद्यार्थीले पूरा गरिसकेका छन् । शुरुमा त्रि.बि.शिक्षण अस्पतालमा मात्र भएको अप्टोमेट्रीको स्नातक तहको अध्ययन अन्य ठाउँमा पनि हुने गर्छ । सिटिभिटीअन्तर्गत अप्थाल्मिक असिस्टेन्टको अध्ययन पनि भइरहेको छ । आगामी ४ वर्षपछि आँखासम्बन्धि विभिन्न तहका जनशक्तिहरुको उल्लेख्य रुपमा बृद्धि भई आँखाको उपचारात्मक र प्रवद्र्धनात्मक सेवामा अझ सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्