Logo
|
Thursday 18th April 2024
Logo

epaper

आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवाको कदर



प्रविधिको विकास सँगै आँखा बिरामीले पाउने सुविधाका बारे बताइदिनुस् न ?
विगतमा मोतियाबिन्दु निकालेर ठूलो चश्मा लगाउनुपर्थ्यो । धेरैले इन्ट्रा अकुलर लेन्स खरीद गर्न सक्दैनथे । त्यो बेला यसको मुल्य करिब एक सय ५० देखि २ सय डलर जति पर्दथ्यो । यति धेरै मुल्य पर्ने लेन्सको मुल्यप्रतिस्थापन गर्दै तिलगंगामा आँखा प्रतिष्ठानले लेन्स उत्पादन गरेर ३ डलरमा उपलब्ध गराउन सफल भयौं । यो धेरैको पहुँचभित्र पुग्यो । बाक्लो चश्मा लगाउँदा ३० प्रतिशत ठूलो देखिन्छ । हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा उकालो ओरालो हिँड्न पनि उनीहरुलाई कठिनाइ पर्दथ्यो । फेरि यो चश्मा फुटेमा व्यक्ति पहिलाको जस्तै दृष्टिविहीन हुनुपर्दथ्यो । यस प्रकारको समस्या न्युनिकरण गर्न सफल भयौं ।
संसारको कुनै पनि विकासशील मुलुकमा अन्धोपन गराउने मुख्य कारणमा मोतियाविन्दु नै पहिलो नम्बरमा आउँछ । यो हटाउन सकिने अन्धोपना हो । यसलाई कम गर्न नेपालमा इन्ट्रा अकुलर लेन्सको उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउनु बाहेक अर्को विकल्प थिएन ।
मुनाफारहीत सामाजिक संंस्थाले लेन्स उत्पादन गरेर बेच्न कतिको सहज हुन्छ ?
अहिले हामीले उत्पादन लागत भन्दा पनि कम मूल्यमा इन्ट्रा अकुलर लेन्स उपलब्ध गराइरहेका छौं । यो मूल्य परिपूर्तिका लागि विदेशमा लेन्सहरु बेच्ने गरिएको छ । परोपकारी संस्थाबाट काम गर्दा प्रतिस्पर्धामा उत्रिन गारो हुने भएकाले यसलाई वृहत रुपमा व्यवसायिकीकरण गर्ने सोचमा छौं । ठूलो लगानी लाग्ने भएकाले धेरै जनासँग समन्वयका लागि छलफल भइरहेको छ । सबै कुरा सहज भएपछि हेटौंडामा रहेको आँखा अस्पताल नजिकै रहेको जग्गामा इन्ट्रा अकुलर लेन्सको फ्याक्ट्री राख्ने सोच छ ।
डब्ल्युएचओको कोल्याबरेटिङ सेन्टरको मान्यता बारेमा बताइदिनुस् न?
विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्ल्युएचओ) को कोल्याबरेटिङ सेन्टर मान्यता पाउने तिलगंगा नेपालको पहिलो आँखा अस्पताल हो । आँखा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेवापत तिलगंगालाई आफ्नो कोल्याबरेटिङ सेन्टरका रूपमा मान्यता संगठनले दिएको छ । संगठनले प्रतिष्ठानको तीन मुख्य विधा आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धानमा सहकार्य गर्न मान्यता दिएको हो ।तिलगंगामा आँखा प्रतिष्ठानले आँखा स्वास्थ्यको विशिष्ट सेवाहरू जस्तैः आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बालआँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर साथै सामुदायिक आँखा सेवामा विशिष्ट तालिम प्राप्त नेत्र विशेषज्ञद्धारा सेवा प्रदान गरिरहेको छ । त्यस्तै अध्ययन तथा तालिम विभाग अन्तर्गत आँखा सेवाका लागि चाहिने सबै प्रकारको जनशक्ति (नेत्र रोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट, नेत्र सहायक, आँखा स्वास्थ्यकार्यकर्ता) उत्पादन गरिरहेको छ । त्यस्तै नेत्ररोग विशेषज्ञ, अप्ट्रोमेट्रिष्ट, नेत्र सहायक, मेडिकल विद्यार्थी, नर्स, स्वयंसेविका, सामुदायिक स्वास्थ्यकार्यकर्ता, सामुदायिक आँखा हेरचाह व्यवस्थापक आदिलाई छोटो तथा लामो अवधिको विभिन्न तालिम दिइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लएचओ) कोल्याबरेटिङ सेन्टर जेनेभास्थित हेटक्वाटरको डाइरेक्टर जनरल (डिजी) बाट हुने डेजिग्नेसन हो । यसले एकेडेमिक, रिसर्च इन्स्टिच्युसन र ठूला अस्पतालहरुलाई मान्यता दिन्छ । डब्लुएचओ कोल्याबरेटिङ सेन्टर हुँदा सम्बन्धित संस्था र डब्ल्युएचओ दुवैलाई फाइदा हुन्छ । हामीले गत १० जुन २०१९ मा डब्लुएचओ कोल्याबरेटिङ सेन्टरको मान्यता पाएका थियौं । हामीले डब्लुएचओसँग गर्ने क्रियाकलापले सम्बन्धित क्षेत्रका चिकित्सक, अस्पताल सञ्चालक र नीति निर्माण तहका सबैलाई फाइदा पुग्छ । हामीले देशभरका सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग कन्सल्टेटिभ मिटिङ, रिसर्च मेथोडोलोजी लगायत विविध विधामा क्षमता अभिवृद्धि सम्बन्धि तालिम उपलब्ध गराउँदछौं । यसबाट उनीहरुको क्षमता अभिवृद्धिमा ठूलो मद्धत गर्छ । विश्वभर डब्लुएचओ कोल्याबरेटिङ सेन्टर ८ सय वटा छ । आँखाको १० वटा छन् । त्यसमध्ये तिलगंगाआँखा प्रतिष्ठान पनि एक हो ।
(हाल डा. गुरुङ तिलगंगाआँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्