Logo
|
Thursday 28th March 2024
Logo

epaper

आँखा सेवा विस्तारमा नेत्रज्योति संघको भूमिका



विगतमा नेपालमा आँखा स्वास्थ्यको स्थिति निकै दयनीय थियो । नेपालीहरुले आँखा उपचारको आधारभूत सुविधा नपाएर अन्धो हुनुपरेको थियो । यद्यपी आँखा स्वास्थ्यमा सरकारी प्रयासबाट मात्र सम्भव थिएन । यसैलाई दृष्टिगत गरेर नेपाल नेत्रज्योति संघले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न थाल्यो ।
शुरुमा नेपालमा अन्धोपनको समस्या धेरै भएको चर्चा भएपनि कति धेरै भन्ने कुरा थाहा थिएन । सन् १९८१ मा गरिएको अन्धोपनसम्बन्धि राष्ट्रिय सर्वेक्षणले नेपालमा आँखा रोगको अवस्था थाहा भयो । नेपालमा सबैभन्दा धेरै अन्धोपनको कारण पहिलो मोतियाबिन्दु र दोस्रो ट्रकोमा देखियो । सर्वेक्षणबाट क्षेत्रगत रुपमा अन्धोपनको अवस्था पनि पहिचान भयो । त्यसपछि नेपाल नेत्रज्योति संघले सेवा उपलब्ध गराउनुपर्ने ठाउँहरुमा सरकार एवं विभिन्न दातृ राष्ट्रहरुको सहयोग लिएर आँखा अस्पताल एवं आँखा उपचार केन्द्रहरु स्थापना गर्दै लग्यो ।
विभिन्न ठाउँमा स्थापना गरिएका अस्पताल एवं आँखा उपचार केन्द्रहरुमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि संघले कार्यक्रम अघि बढायो । हाल देशभर १८ वटा आँखा अस्पताल र ८४ वटा आँखा उपचार केन्द्र रहेका छन् । अहिले अन्धोपनको समस्या पनि घटेको छ । विगतमा १९८१ ताका अन्धोपन ०.८४ प्रतिशत भएकोमा अहिले ०.३५ प्रतिशतमा झरेको संघले सन् २०१० मा गरेको र्याप सर्भेले देखाएको छ । ट्रकोमा मुलुकबाट निवारण भइसकेको छ । यसबाहेक एमडी, व्याच्लर, वे लेभलका कार्यक्रमहरु सञ्चालित छन् । अब मध्यमस्तरीय जनशक्ति नेपालका लागि पर्याप्त छ । आगामी २ वर्षपछि आवश्यक पर्ने नेत्र विशेषज्ञहरु तयार भएर आउँछन् । संघ अन्तर्गतको ३ वटा अस्पतालमा एमडी तहको अध्ययन हुने गरेको छ । बी अप्ट्रोमेट्रिक ४ ठाउँमा सञ्चालित छ र नेत्र सहायक कार्यक्रमहरु करिब ८ ठाउँमा सञ्चालित छन् ।
एमडी तहका नेत्र विशेषज्ञको अध्ययन बिराटनगर, भरतपुर,लुम्बिनीमा भइरहेको छ । यो एमबीबीएसपछि ३ वर्षको कोर्ष हुन्छ । यसबाहेक बिराटनगर, भरतपुर, लुम्बिनी र भैरहवा गरी ४ ठाउँमा दृष्टि विशेषज्ञ (अप्टोमेट्रिक) को अध्ययन अध्यापन हुन्छ । यसैगरी नेत्र सहायकहरुको अध्ययन लहान, भरतपुर, पोखरा, लृुम्बिनी, नेपालगञ्ज र दाङमा हुने गर्छ । नेपाल नेत्रज्योति संघले नेत्र सहायकको तालिम शुरु गरेको हो । यो नेपालमा मात्र छ । नेत्रज्योति संघअन्तर्गत प्रतिवर्ष नेत्र विशेष १२ जना, १६ जना अफ्टोमेट्रिक, २०० नेत्र सहायकहरु उत्पादन हुने गरेका छन् । संघले अनुसन्धानको पाटोलाई पनि अघि बढाएको छ । पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाउँदा रतन्धो कम हुने कुरा जोन हप्किन्स विश्वविद्यालयसँग मिलेर नेपालमा शुरु गरिएको थियो । अहिले त्यसैको नतिजाको आधारमा सरकारले वर्षको २ पटक भिटामिन ए खुवाउँदै आएको छ । अहिले आँखामा आउने नविनतम रोगहरुका विषयमा पनि अनुसन्धान भइरहेको छ । सेवा, जनशक्ति उत्पादन र जनचेतनाका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
शहरमा चिकित्सकहरु हुने गर्छन् भने गाउँघरतिर अहिले पनि धामी झाँक्रीप्रति विश्वास गर्ने अन्धविश्वास रहेको छ । उनीहरुले पनि तालिम प्राप्त गरेको अवस्थामा अन्धोपन न्युनिकरणमा टेवा पुग्छ । समयमा नै बिद्यार्थीको आँखा जाँच भएको अवस्थामा भविष्यमा हुने खतरा न्युनिकरण गर्न सकिन्छ । विद्यार्थी भर्ना गर्नुअघि भिजन सर्टिफिकेट लिन जरुरी छ । मुलुकमा बिरामी भएपछि निको पार्ने उपाय भएपनि बिरामी हुन नदिने तर्फ कसैको ध्यान पुगेको छैन । त्यसैले रोकथामतर्फ ध्यान केन्द्रित हुन जरुरी छ । अन्धोपना भएका व्यक्तिहरुलाई पुनस्र्थापनाको जरुरी हुन्छ । दृष्टिबिहीनहरु पनि समाजका सम्पत्ति हुनसक्छन् । उनीहरुलाई विभिन्न तालिम दिएर आत्मनिर्भरता तर्फ उन्मुख गराउनुपर्छ । बाहिरी आँखा नभएपनि भित्री आँखा खुलाइदिनुपर्छ ।
अहिले नयाँ नयाँ रोगहरु आइरहेका छन् । मधुमेहले आँखालाई पार्ने समस्या विकराल रुपमा आइरहेको छ । अस्वस्थ्यकर खानपानले आँखालाई असर पुर्याइरहेको छ भने मोवाइल, ल्यापटप आदिको लतले पनि आँखालाई समस्या पारिरहेको छ । अहिले पनि दुर दराजका महिलाहरुलाई सेवा पुर्याउन सकिएको छैन । पुरुषको तुलनामा धेरै महिलाहरु आँखाका रोगी रहेको तथ्यांकले देखाएको छ । यसरी दृष्टिबिहीनको संख्या कम भएपनि जनसंख्या बढिरहेको छ । यसले गर्दा जिम्मेवारी पनि बढिरहेको छ । बढ्दो उमेरसँगै अन्धोपनको समस्या पनि बढ्दो छ । त्यसैले हामी सबै मिलेर आँखा उपचार र रोकथाममा अघि बढ्नुपर्ने जरुरी देखिन्छ । (प्रा.डा. मिश्र नेपाल नेत्रज्योति संघका वर्तमान अध्यक्ष हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्