Logo
|
Thursday 28th March 2024
Logo

epaper

हरेक घण्टा आँखाको दृष्टि कम हुँदै जाने समस्या ‘सापु’

डा.अनु मानन्धर



सापु रोग एउटा मात्र आँखा रातो भएर देखिने समस्या हो । यो रोग दायाँ र बायाँमध्ये जुनसुकै आँखामा पनि हुनसक्छ । यो समस्यामा हरेक घण्टा आँखाको दृष्टि कम हुँदै जान्छ । आँखा बन्द भइसक्दा पनि कसैलाई कम दुख्छ भने कसैलाई धेरै दुख्न सक्छ । उज्यालोमा आँखा खोल्न गारो हुन्छ । यो रोग ७० देखि ७५ प्रतिशत बालबालिकाहरुमा हुने गरेको पाइएको छ । बच्चालाई दृष्टी कम हुँदै गएको कुरा अभिभावकहरुलाई थाहा हुन सक्दैन । त्यसैले बालबालिकाको एउटा मात्र आँखा रातो हुने, चिप्रा पटक्कै नलाग्ने, बच्चा आँखा चिम्लिएर बस्ने, डिल सुन्निने समस्या देखिएमा रोगको शंका गर्नुपर्छ । सापु भएका कतिपयलाई हल्का ज्वरो आउने र वान्ता पनि गर्न सक्छन् । कतिपयलार्य लक्षण नै नदेखिन पनि सक्छ । यस प्रकारको समस्या भदौको अन्तिम, असोज र कात्तिकमा बढी देखिन्छ । यो समस्या एक वर्ष बिराएर धेरै हुने गर्छ । फाट्ट फुट्ट वर्षेभरी देखिनसक्छ । सापु समस्यामा आँखाभित्र पिप जम्छ । लेन्स पछाडिको खण्ड भिक्टस क्याविटीमा धमिलो पानी आउँछ । सुरुमा अगाडीको खण्डमा पिपले जाली ढाकेपछि नानी नै देखिदैन । केहि घण्टादेखि एकदुइ दिनमा त आँखामा सबै असर गरिसक्छ ।
सापुबारे अनुसन्धानहरु भइरहेका छन् । एउटा अनुसन्धानले रातको समयमा आउने सेतो पुतली जस्तै मथलाई जोखिम कारक तत्व मानेको छ । हरेक सेतो पुतली देखि डराउन जरुरी छैन । नेपालका पुतली विशेषज्ञ भैया खनालले दिएको जानकारी अनुसार, पखेँटा नफिँजाउने, धारबारीमा हुने, बेलुका सेतो बत्तिमा आउने र नडराउने भजलिना क्राइसोलोफा नामक पुतलीजस्तै मथले सापु रोग गराउँछ । त्यसमध्ये पनि सेतो रङ्गको कालो धर्सा भएको मथ खतरनाक मानिन्छि । पोथी मथ विषालु हुन्छ । विगतको तुलनामा यस प्रकारको समस्या बढिरहेको छ ।
सापु समस्या लिएर उपचारमा आएका १० प्रतिशत बिरामीमा आँखामा झुस फेला परेको छ । आँखाभित्रको पिप तानेर हेर्दा आँखालाई ध्वस्त पार्ने खालको संक्रामक व्याक्टेरिया फेला परेको छ । धेरैजसोमा स्टेप्टोकोकस निमोनी व्याक्टेरिया पनि भेटिएको छ । कतिलाई एनेलो भाइरसजस्ता नौलो भाइरस पनि भेटियो । तर यो भाइरसले गर्दा आँखामा रोग हुने कुरा अहिलेसम्म प्रमाणित भएको छैन । आँखाभित्र देखिएपनि यो एक प्रकारको इन्फ्लामेट्री मिडिएटर हो ।
सापु रोगका लक्षण
-आँखा एक्कासी रातो हुने
– उज्यालोमा हेर्न गाह्रो हुने
– आँखाको कालो भागको बीचमा सेता दाग देखिने
– पिप जमे पनि चिप्रा नलाग्ने र आँखा नदुख्ने
– दृष्टि कम हुँदै जाने
उपचार
सापुको उपचार टिमवर्कमा गरिन्छ । बिरामी चाँडै अस्पताल आइपुगेमा ५० प्रतिशतको आँखाको दृष्टि फिर्ता ल्याउन सकिन्छ । कतिको आँखालाई रोगबाट बचाउन सकिने र नर्मल भिजनमा पनि ल्याउन सकिन्छ भने कतिको भिजन नदेखिएपनि आँखा सुक्नबाट बचाउन सकिन्छ । (डा. मानन्धर आँखा रोग विशेषज्ञ, युविआइटिस् स्पेसलिस्ट एवं तिलगंगा आँखा प्रतिष्ठानमा एसोसियट प्रोफेसर हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्